BIZMANDU
www.bizmandu.com

जेनजीको आन्दोलनपछि अर्थशास्त्री : क्षति पुगे पनि ठूलो समस्या हुँदैन, अर्थतन्त्रमा कोर्स करेक्सनको अवसर

२०८२ भदौ २७

जेनजीको आन्दोलनपछि अर्थशास्त्री : क्षति पुगे पनि ठूलो समस्या हुँदैन, अर्थतन्त्रमा कोर्स करेक्सनको अवसर
जेनजीको आन्दोलनपछि अर्थशास्त्री : क्षति पुगे पनि ठूलो समस्या हुँदैन, अर्थतन्त्रमा कोर्स करेक्सनको अवसर

काठमाडौं। अर्थतन्त्रका जानकारहरुले जेनजीको आन्दोलनका क्रममा मुलुकले भौतिकरुपमा ठूलो क्षति ब्यहोरे पनि अर्थतन्त्रको विकासमा ‘कोर्स करेक्सन’को अवसर प्रदान गरेको बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयकमा शुक्रबार गरेको भर्चुअल अन्तरक्रियामा सहभागीहरुले जेनजीको प्रदर्शन भ्रष्टाचारविरुद्ध भएकाले यो समयलाई कोर्स करेक्सनको रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए।

पूर्वअर्थसचिव रामेश्वर खनालले भ्रष्टाचारविरुद्ध मुलुकभरका युवा एकसाथ जागेर सत्ता उलटफेर हुन लाग्नुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए।

‘नयाँ पुस्ताको नेतृत्वमा भ्रष्टाचारविरुद्ध मानिसहरु एकसाथ जाग्नु हाम्रा लागि उपलब्धि हो,’ उनले भने, ‘अब यो अवसरलाई सदुपयोग गर्दै सरकारले पुनर्निर्माण, नयाँ लगानीको अवसर सृजना र लगानीकर्ताको आत्मविश्वास बढाउनुपर्ने विषयलाई प्राथमिकता दिनुपर्छ।’

उनले आन्दोलनका क्रममा ठूलो भौतिक क्षति भए पनि अर्थतन्त्रलाई लयमा फर्काउन ठूलो समस्या नहुने बताए।

‘यसप्रकारको अवस्था २०३६ साल र माओवादीको द्वन्द्वको समयमा पनि देखिएको थियो, तत्कालीन समयमा भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो, सडक, पुलमा ठूलो क्षति हुनुका साथै सञ्चार सेवा नै अवरुद्ध भएको अवस्था थियो,’ उनले भने, ‘तर अहिले त्यो अवस्था छैन, त्यसैले हामीलाई फेरि उठ्नका लागि ठूलो समस्या हुन्छ भन्ने लाग्दैन।’

पूर्वसचिव खनालले अन्य मुलुकको तुलनामा नेपाल छिटो ‘रिकभर’ गर्ने मुलुक भएकाले प्रदर्शनको तेस्रो दिनमै स्थिरतातर्फ उन्मुख हुनु सकारात्मक पक्ष भएको बताए।

अर्थतन्त्रमा ठूलो योगदान दिएका रेमिटेन्स, कृषि र पर्यटनमा आन्दोलनले ठूलो समस्या नपारेकाले रिकभर हुन धेरै समय नलाग्ने उनको दाबी छ।

‘जेनजीले जुन विषय उठाएर प्रदर्शन गरे र त्यसले जुन रुप लियो, यसबाट हामीलाई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन र आसेपासे पुँजीवादको जालो भत्काउन सहयोग गर्नेछ,’ खनालले भने, ‘हिल्टन होटल प्रकरण दोहोरिन दिनुहुन्न। राजनीतिक प्रतिशोधका कारण भाटभटेनीमा ठूलो आक्रमण भएको छ। बलियो अर्थतन्त्र निर्माणमा सञ्चारमाध्यमको पनि भूमिका हुन्छ।’

अर्थशास्त्री डा. समिर खतिवडाले जेनजी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको बताए। ‘जेनजी प्रदर्शनले क्रोनी क्यापिटालिजमलाई भत्काउने प्रयास गरेको छ, नयाँ पुस्ताले सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ,’ उनले भने, ‘यो फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टबाट नेपाललाई निकाल्नका लागि प्राप्त भएको अवसर पनि हो।’

खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि आत्तिनु पर्ने अवस्था नरहेको भन्दै अर्थतन्त्रको विकासका लागि खुला र पारदर्शी नीति अपनाउनुपर्नेमा जोड दिए।

उनले जेनजीको प्रदर्शनले प्रत्यक्ष वैदेशिक लगानीमा ठूलो असर नपर्ने बताए। ‘हामीले ल्याइरहेको वैदेशिक लगानी कुल गार्हस्थ्य उत्पादनको ०.३ प्रतिशत मात्रै हो। त्यो आफैंमा सानो आकार भएकाले ठूलो चिन्ता लिनुपर्ने अवस्था छैन। बरु अब यसलाई बढाएर कसरी तीन प्रतिशत बनाउन सकिन्छ भन्ने विषयमा काम गर्न सकिन्छ,’ उनले भने।