BIZMANDU
www.bizmandu.com

आगजनी र तोडफोडमा परेका गाडीमा भएको क्षति मूल्यांकन गर्न बीमा कम्पनीले खटाए सर्भेयर

२०८२ भदौ २७

आगजनी र तोडफोडमा परेका गाडीमा भएको क्षति मूल्यांकन गर्न बीमा कम्पनीले खटाए सर्भेयर
आगजनी र तोडफोडमा परेका गाडीमा भएको क्षति मूल्यांकन गर्न बीमा कम्पनीले खटाए सर्भेयर


काठमाडौं। जेनजीको आन्दोलनका क्रममा सवारीसाधनमा भएको क्षतिको मूल्यांकन गर्न बीमा कम्पनीहरुले सर्भेयर खटाएका छन्।

Vigo
GBIME
Tata

बीमा कम्पनीहरुले सरकारी तथा निजी सवारीसाधनमा भएको क्षतिको मूल्यांकन गर्न सर्भेयर खटाएका हुन्। नेपाल बीमा प्राधिकरणले क्षति मूल्यांकन गरी दाबी चाँडै भुक्तानी गर्न बिहीबार निर्देशन दिएपछि बीमा कम्पनीहरुले क्षतिको मूल्यांकन सुर गरेका हुन्।  

‘सवारीसाधनमा के कति क्षति भएको छ भनेर मूल्यांकनका लागि हामीले सर्भेयर पठाउन सुरु गरिसकेका छौं,’ एक बीमा कम्पनीका सीइओले भने,’एक/दुई दिनमा क्षतिको विवरण आउँछ। विवरण कम्पाइल गरिसकेपछि दाबी भुक्तानी गर्छौं।’

जेनजी आन्दोलनका क्रममा अराजक समूहले भदौ २४ गते व्यवसायीका गाडीको शोरुममा नै तोडफोड र आगजनी गरेको थियो। सरकारी कार्यालयका सवारीसाधन पनि जलाइएको थियो।

प्राधिकरणका निर्देशक निर्मल अधिकारी सर्भेयरले क्षतिको मूल्यांकन गरेपछि दाबी भुक्तानी गर्न लगाउने बताए।

‘जेनजीको प्रदर्शनका क्रममा भएको क्षतिको माग दाबी फर्स्योट गर्न हामीले सर्कुलर गरेपछि कम्पनीहरुले सर्भेयर परिचालन गरेको जानकारी आएको छ। क्षतिको विवरण यकिन भएपछि दाबी भुक्तानीको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने।