काठमाडौं । विभिन्न राजनीतिक दलका युवा सांसदहरुले वैधानिक तवरले सहज निकासको लागि पहल गर्नुपर्ने बताएका छन्।
जेनजी प्रदर्शनपछि सरकार भ्याकुममा हुँदा आज छलफलमा पछि नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बैठकले सरकार निर्माणको प्रक्रिया संविधान अनुसार भए त्यो नै हितकर हुने मत अघि सारेको बताएका हुन्।
बैठकमा सापकोटासँगै शिशिर खनाल, गगन थावा योगेश भट्टराई लगायतको सहभागिता थियो।
‘विगतका कमीकमजोरीप्रति गम्भीर आत्मआलोचनासहित सच्चिएर अघि बढ्नु समयको माग हो। हामी यही बिन्दुमा टेकेर पहलकदमी लिइरहेका छौं। संसद सदस्यहरूको सहजीकरणमा विगतका गल्तीहरूलाई स्वीकार गरी वैधानिक तवरले सहज निकासको मोडल उपयुक्त हुन सक्छ भन्ने हाम्रो अवधारणा हो,’ उनीहरुले भनेका छन्।
विकसित पछिल्लो राजनीतिक घटनाक्रममा जेन जीले उठाएका मागको स्पष्ट सम्बोधनमा भएको ढिलाइप्रति उनीहरुले चिन्ता व्यक्त गर्दै प्रतिनिधि सभामा युवा पुस्तालाई प्रतिनिधित्व गर्ने सदस्यहरू विभिन्न संयन्त्रमार्फत नियमित सम्वादमा रहेको उल्लेख गरेका छन्।
जेन जीका मागहरूको स्पष्ट सम्बोधन सुनिश्चित गर्दै ठूलो संघर्षबाट निर्मित संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा एवं सुदृढीकरणका लागि पनि पुराना सीमाबन्दीभन्दा माथि उठेर अघि बढ्नु आजको अनिवार्य आवश्यकता भएको उनीहरुले उल्लेख गरेका छन्।
जेन वाई (मिलेनियल्स)को नाताले जेन जीका माग र मुद्दाहरूमा उनीहरुले ऐक्यबद्धता जनाएका छन्। यस्तै, पश्चगमनका विरुद्ध एकजुट हुन सम्पूर्ण संसद सदस्यहरूलाई समेत विशेष अपिल समेत गरिएको छ।