BIZMANDU
www.bizmandu.com

संक्रमणको सकस घटाउन छिटो सरकार गठन, राजनीतिक नेतृत्वको भ्रष्टाचार खोज्न आयोग

२०८२ भदौ २६

संक्रमणको सकस घटाउन छिटो सरकार गठन, राजनीतिक नेतृत्वको भ्रष्टाचार खोज्न आयोग
संक्रमणको सकस घटाउन छिटो सरकार गठन, राजनीतिक नेतृत्वको भ्रष्टाचार खोज्न आयोग


हामी विशेष र फरकखाले परिस्थितिमा आइपुगेका छौं। राज्यविहीनताको अहिलेको अवस्था लामो समय मुलुकले थेग्न सक्दैन। त्यसमाथि संक्रमण जति धेरै लम्बिन्छ त्यति धेरै शक्ति समूहले चलखेलको मौका पाउँछन्। भ्रष्टाचारविरूद्ध जेनजीले थालेको अभियान र त्यसपछि उत्पन्न भएका परिवेशले मुलुक एकदमै संवेदनशील अवस्थामा पुगेको छ। शून्यताको परिवेशले जतिखेर पनि जोखिमलाई निम्तो दिइरहेको हुन्छ। सम्हालिनु र फेरि उठ्नु हाम्रो दायित्व हो।

Tata
GBIME

यसको विकल्प हामीसँग केही पनि छैन। हामी आफैँ बन्ने हो कसैले हामीलाई बनाइदिन आउँदैन। त्यसैले जनतामात्र नभइ सुरक्षा निकायहरू र प्रशासन संयन्त्रलाई पनि बलियो आड भरोसासहित काममा फर्काउनुपर्ने स्थितिमा अहिलेको संक्रमणलाई जतिसक्दो छिटो पार लगाउन सबै पक्ष एक हुन आवश्यक छ। अन्यथा जेनजीले हासिल गरेको उपलब्धी गुम्ने जोखिम रहन्छ।

नेपाली सेनाले बहुआयामिक संवादमार्फत् नयाँ गोरेटोका लागि प्रयास गरिरहेको छ। एक हिसाबले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा देखिएको सहमतिलाई जतिसक्यो छिटो अगाडि बढाउनु श्रेयस्कर हुन्छ। हिजो रातिसम्म जुन तहमा सहमति पुगेको छ, आजको बिहान त्यहीँबाट अगाडि बढ्नुपर्छ। अन्यथा परिवर्तनका हरेक क्षणमा आफ्नो स्वार्थका रोटी सेक्नेहरूको उछलकुदले परिस्थिति थप प्रतिकूल बन्नसक्छ। सेना मुख्यालयमा जेनजीका नाममा समूह भेट र देखिएको विवाद यतिखेरको परिवेशमा अपेक्षा गरिएको विषय होइन। शोक र सन्त्रासको परिवेशमा हास्यव्यङ्ग्य चल्नु दुर्भाग्य हो।

अहिलेको परिस्थिति असामान्य भएकाले स्थापित विधिको रटानमा रहने अवस्था हामीले गुमाइसकेका छौं। हिजो पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेर ‘राष्ट्रवादी कार्ड’ खेल्ने प्रयास गरे तर आफ्नो गल्ती स्वीकार्ने अथवा जनतासँग माफी माग्न हिच्किचाएर दम्भी चरित्र प्रदर्शन गरिरहे। सत्ताको पुरानै खेल दोहोरिइने अपेक्षा अब ओली, शेरबहादुर देउवा वा प्रचण्ड लगायतले नगरेको राम्रो। राजनीति उनीहरूको अधिकार हो, त्यसलाई कसैले रोक्न सक्दैन। तर आफूलाई मत दिने जनतालाई दाश ठान्ने मनोवृत्ति उनीहरूले त्याग्नै पर्छ।

त्यसैले तत्कालका लागि सत्ताको सन्दर्भ संसदमा रहेका दलहरूले नसोच्दा हुन्छ। अर्कातिर नेपाली कांग्रेसका महामन्त्रीहरूले सकेसम्म वैधानिक बाटोलाई जोगाउन गरेको आग्रह र कमजोरी स्वीकारले आन्दोलनलाई पूर्णत स्वीकार गरेको छ। भ्रष्टाचार विरोधी अभियान र त्यसबाट मुलुकलाई मुक्त बनाउनका लागि जेनजीको सक्रियता रहनुपर्ने उनीहरूको अभिव्यक्ति मननीय छन्। नयाँ परिवेशमा कांग्रेस, एमाले,  माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल सरकार निर्माणको प्रक्रियाबाट पर बस्नुपर्छ। बन्दै गरेको सरकारलाई सहयोग गर्ने र त्यसपछि आफ्नै पार्टीको नेतृत्व परिवर्तन, सुधारमा लागे हुन्छ यी दलहरू।  

संक्रमणको यही परिवेशमा जटिलताहरूको शृंखला हामी सामुन्ने उत्पन्न भइसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जस्तैगरी १४ हजार कैदीबन्दी जेलबाट भागेका छन्। यसले समग्र शान्ति सुरक्षा र जनधनको चिन्ता बढाएको छ। भिडको राजनीतिबाट भोग्नुपर्ने हविगत हामीले भोगिसकेका छौं। यतिखेर टोलटोलमा सामुहिक सुरक्षा टोली बनाएर जोगिनुपर्ने अवस्था छ। त्यसैले सबै कोणबाट मुलुकलाई ट्रयाकमा ल्याउनुको विकल्प छैन। परिस्थिति यति धेरै तरल छ कि कुनै पनि बेला जेसुकैपनि हुनसक्छ जहाँकहीँ। अवसरवादीहरू यही परिवेशको प्रतीक्षामा छन्। हिजो जसरी सत्तामा रहेका एमाले-कांग्रेस नेतृत्व बिचौलियाको गोटीका रुपमा सत्ता सञ्चालनमा सक्रिय थिए त्यसरी नै अहिले अवसरवादीको झुन्ड तयार अवस्थामा छ। त्यसबाहेक पुराना बिचौलिया नै नयाँ परिवेशमा सक्रिय हुनसक्ने सम्भावना पनि उत्तिकै छ। यसलाई नयाँ सरकारले गम्भीर रुपमा लिनुपर्नेछ।

अहिले विधि स्थापित गर्न हामी भएको विधि भत्काउनुपर्ने अवस्थामा छौं। तर, यसो गरिरहँदा कसरी कम क्षति हुन्छ भन्ने सोच्न आवश्यक छ। विदेशी शक्तिले रोक्न खोज्दा पनि हामीले २०७२ सालमा संविधान जारी गरेर घुँडा नटेकेको हो। त्यतिखेरको परिस्थितिलाई बिर्सिनु हुँदैन तर त्यसैका आडमा राजनीतिको रोटी पनि सेकाइरहन मिल्दैन। दोहर्‍याउँ, जेनजीको मुल मुद्दा भ्रष्टाचार समाप्ति र सुशासन हो। व्यवस्था परिवर्तन त हामीले पटकपटक गरेकै हो। अब त्यतातिर फेरि लाग्ने हो भने अहिलेको परिस्थिति आउन १० वर्ष कुर्न पर्दैन। एउटा व्यवस्था फेर्ने र अर्को ल्याउने। त्यो फेर्ने र अर्को ल्याउने। अनि फेरि त्यसैको विरुद्ध अर्को। कतिसम्म र कहिलेसम्म?

हामी परिवर्तनका शृंखलाले जर्जर अवस्थामा छौं। अहिले परम्परागत सबै राजनीतिक दलले बिर्सिनुहुन्न – २०६२/६३ को संसदमा विना निर्वाचन माओवादीलाई प्रवेश गराएको। त्यो लामो विद्रोह थियो, जेनजीको छोटो। यो तथ्यलाई जति सहज रुपमा स्वकीर्न सक्छौं त्यति सहज अवतरण हुनसक्छ।

तत्काल सरकार गठन, शान्ति सुरक्षाको व्यवस्था, राजनीतिक भ्रष्टाचारको छानबिन र दोषी देखिएकालाई कारवाहीको कार्यान्वयनमै जाने प्रक्रियासहित आयोग गठन हुन आवश्यक छ। शासनलाई चुस्त र पारदर्शी बनाउने हो भने जेनजीको मुद्दा स्थापित हुन्छ। होइन, सत्ता परिवर्तन वा त्यसपछि सत्ताकै लागि लुछाचुँडी हुने र लोकतान्त्रिक परिपाटी समाप्तिको बाटो लियो भने जेनजीमात्र होइन उनीहरूभन्दा अघिल्लो पुस्ता र जेन अल्फासमेत विद्रोही बनिरहनेछ।

अहिलेलाई सेनाले लिएको कदमलाई सहजीकरण गरौं। बन्ने सरकारलाई आफ्नो तहबाट सकेको सहयोग गरौं। परिस्थिति सम्हाले जिम्मा हामी सबैको हो।