BIZMANDU
www.bizmandu.com

विभागबाट नखेल्ने घोषणासहित जेन्जीलाई समर्थन गर्दै खेलकर्मी, ‘हामी शहीद भइसकेका छौं’

२०८२ भदौ २४

विभागबाट नखेल्ने घोषणासहित जेन्जीलाई समर्थन गर्दै खेलकर्मी, ‘हामी शहीद भइसकेका छौं’
विभागबाट नखेल्ने घोषणासहित जेन्जीलाई समर्थन गर्दै खेलकर्मी, ‘हामी शहीद भइसकेका छौं’

काठमाडौं। जेन्जी आन्दोलनमा सरकारको दमनलाई लिएर चौतर्फी आलोचना भइरहँदा खेलाडीहरुले पनि आवाज उठाइरहेका छन्। राष्ट्रिय क्रिकेट टोलीदेखि फुटबल र अन्य खेलका खेलाडीले सरकारी दमनको विरोधमा आवाज उठाएका हुन्। उनीहरुले सामाजिक सञ्जालमा लेख्दै घटनाले सरकारको लोकतान्त्रिक चरित्रमा नमेटिने दाग लागेको उल्लेख गरेका छन्।

Tata
GBIME
Nepal Life

टेबल टेनिसकी राष्ट्रिय खेलाडी सिक्का सुवालले प्रहरीले चरम दमन गरेका कारण तीनवटै विभाग (एपीएफ, नेपाल पुलिस र नेपाल आर्मी) बाट खेलमा संलग्न नहुने जनाएकी छन्।

‘म यी तीन विभागबाट खेल्ने या प्रशिक्षक वा व्यवस्थापकका रुपमा प्रतिनिधत्व गर्ने छैन। मैले यसअघि एपीएफ र आर्मी प्रतिनिधित्व गरिसकेकी छु,’ उनले लेखेकी छन्, ‘ सबै खेलाडीलाई यसमा अगाडि आउन आग्रह गर्दछु।’

उनले विभाग छाडेर आफ्नो नगरपालिका, जिल्ला या प्रदेशको प्रतिनिधित्व गर्न खेलाडीलाई आग्रह गरेकी छन्।

उनको पोस्टमा कमेन्ट गर्दै नेपाली महिला बास्केटबल टोलीकी कप्तानसमेत रहिसकेकी सदिना श्रेष्ठले खेलाडी सबै उठ्नुपर्ने धारणा राखेकी छन्।

सिक्काले खेलाडीले मेहेनत गर्ने तर केही नपाउने र खेलकुदका राजनीति गर्नहरु ‘ट्रिप’ जाने उल्लेख गर्दै युवा पुस्ताका खेलाडीका लागि बोल्ने बताएकी छन्। ‘मलाई अहिले कोहीसँग डर छैन। म बोल्छु’ उनले भनेकी छन्।

‘अत्ति भयो, यसरी कहिलेसम्म बस्ने। जहाँ पनि राजनीति र भ्रष्टाचार। खेलकुदमा पनि सबै नेतागिरी धेरै छ,’ उनले भनेकी छन्, ‘यिनीहरु सबैलाई निकाल्नु पर्छ र खेलाडीहरु नै अघि बढेर खेलकुदमा आउनु पर्छ।’

यस्तै, नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले प्रश्न गरेका छन् : …किन?

‘आशा बोकेर हिँडेका उनीहरु आज सहिद बने। अधुरा आकांक्षा र सपना, हाम्रो मातृभूमिका सन्तान, हाम्रा युवा… निःशब्द।’

त्यस्तै नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न नसक्दा हाम्रो देश नाममात्रको देश हुन पुगेको उल्लेख गरेका छन्।

‘सायद मर्नु सहिद हुनु हो भने हामी सबै धेरै अघि नै सहिद भइसकेका छौं।’ उनले लेखेका छन्।

त्यस्तै, ललित राजवंशीले प्रश्न गरेका छन् : ‘हामी कहिल्यै हाँसेर, खुशी भएर बस्न नपाउने। आफ्नैको रगत बगाएर देश कहिले बनाउने?

राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले सोधेका छन् : हाम्रो आशा अझै जिउँदै छ। कहिलेसम्म चुप रहिरहने? चुप कस्नु अबको विकल्प होइन।

यस्तै सरकारको दमको विरुद्धमा अन्य क्रिकेटर सन्दीप लामिछाने, अभिनास बोहरा, रिजन ढकाल, विनोद दास, आरिफ शेख, विपिन शर्मा, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरीलगायतले पनि आवाज उठाएका छन्।

भ्रष्टाचारविरोधी आन्दोलनमा फुटबलरहरु पनि पछि छैनन्। पूर्व राष्ट्रिय खेलाडी तथा फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले सरकारको यो कदमलाई समयले मूल्यांकन गर्ने चेतावनी दिएका छन्।

‘यी अवोधहरुलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्ने तपाइ मसिहाहरुलाई हार्दिक बधाइ। अनि यी अवोधहरुको जीवनको मूल्य गोलीमा मूल्याङ्कन गर्ने तपाइ सरकारहलाई समयले पक्कै देखाउला।’ उनले भनेका छन्।

त्यस्तै फुटबलर जगजित श्रेष्ठले फुटबलमा पनि पुस्तान्तरण चाहिएको भन्दै जेन्जी खेलाडीलाई अघि बढ्न आग्रह गरेका छन्।

‘हामी सिनियर र पूर्व खेलाडी सबै झोले भइसक्यौँ। हामीबाट केही आशा नगर्दा हुन्छ। जेन्जी खेलाडी तिमीहरु पनि बोल। नत्र तिमीहरुको जिन्दगी पनि वर्बाद हुन्छ।’ उनले लेखेका छन्।

त्यस्तै गोलकिपर विशाल श्रेष्ठले पनि आवाज उठाउँदै लेखेका छन् : ‘नाति पुस्तालाई गोली हान्न आदेश दिने सबैप्रति धिक्कार छ। लाज पनि लजायो होला।’ राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले पोस्ट शेयर गर्दै लेखेका छन्: जनता मार्न पाइँदैन।

नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले आफू ‘झोला त्यागेर’ आजबाट सडकमा उत्रिएको जनाएका छन्। ‘तिमीहरुको छोराछोरीलाई यसरी गोली हानिएको थियो भने के गर्थेउ? तिमीहरुले भाग्ने समय र ठाउँ पाउँदैनौँ।’ उनले लेखेका छन्।