काठमाडौं। जेनजीको आन्दोलन चर्किँदै जाँदा अरु राजनीतिक दलहरूले सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता गराउन दबाब दिइरहँदा सत्तारुढ दल नेकपा (एमाले) भने मौन देखिएको छ।
एमालेका अध्यक्ष केपी शर्मा ओली नै अहिले प्रधानमन्त्री छन् भने एमालेकै शीर्ष नेताहरू सरकारको महत्त्वपूर्ण जिम्मेवारीमा छन्।
उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री छन् भने उप-महासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री छन्। आफू नेतृत्वको सरकारको दमनका कारण १५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको भए पनि एमाले मौन देखिएको हो। आन्दोलनले देशव्यापी रुप लिँदा पनि दोस्रो ठूलो दल एमाले मौन देखिएको हो।
ओलीले आइतबार जेनजीलाई चिढाउने खालको अभिव्यक्ति दिएका थिए। अर्को सत्तारुढ दल नेपाली कांग्रेसले ओलीलाई सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता गर्न र जेनजीसँग वार्ता गर्न सरकारलाई दबाब दिने रणनीतिमा छ। त्यसका लागि सभापति शेरबहादुर देउवाले ओलीलाई भेटेरै निर्णय फिर्ताका लागि दबाब दिँदै छन्।
तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि ओलीलाई निर्णय फिर्ताका लागि दबाब दिएका छन्। उनले सोमबार आफू गोरखामा रहेकै बेला उपलब्ध पदाधिकारीको आकस्मिक बैठक राखेका थिए। उनले मंगलबार पदाधिकारीको पूर्ण बैठक बोलाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सचिवालयको आकस्मिक बैठक बोलाएको छ। प्रदर्शन हिंसात्मक र आन्दोलन चर्कदै गए पनि एमालेले हालसम्म कुनै छलफल तथा बैठक बोलाएको छैन।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिलेसम्म पार्टीको बैठक बोलाउने तथा जेनजीको आन्दोलनबारे छलफल गर्ने कुनै तयारी नभएको बताए। ‘यो त सबै सरकारले गर्ने काम हो। जे गर्छ सरकारले गर्छ, यसबारेमा पार्टीले केही पनि गर्दैन। अहिलेसम्म कुनै बैठक बोलाइएको छैन,’ उनले भने।