BIZMANDU
www.bizmandu.com

जेनजी पुस्ताको अभूतपूर्व प्रदर्शन, ओलीलाई सन्देश- भ्रष्टाचार र कुशासन अब सहँदैनौं

२०८२ भदौ २३

जेनजी पुस्ताको अभूतपूर्व प्रदर्शन, ओलीलाई सन्देश- भ्रष्टाचार र कुशासन अब सहँदैनौं
जेनजी पुस्ताको अभूतपूर्व प्रदर्शन, ओलीलाई सन्देश- भ्रष्टाचार र कुशासन अब सहँदैनौं

काठमाडौं। भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएको छ।

Tata
GBIME
Nepal Life

जेनजी पुस्ता नेताहरुले गरेको भ्रष्टाचार अति भो, अब कुनै हालतमा नसहने भन्दै सडकमा ओर्लिएको हो। टिकटकमार्फत आफैं आह्वान गरेर जेनजी पुस्ता स्वतस्फूर्तरुपमा सडकमा निस्किएको हो।

काठमाडौं, पोखरा, विराटनगर, लगायत शहरका मुख्य सडक जेनजी पुस्ताले कब्जा गरेको छ। जेनजी पुस्ता स्कुल र कलेजको ड्रेसमै प्रदर्शनमा सहभागी भएको छ। उनीहरुले काठमाडौंमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन्।

प्रहरीले प्रदर्शनकारी कम हुने आँकेर सुरुमा मुख्य सडकमा गाडी चलाउन दिएकामा युवाहरुको संख्या एकाएक बढेपछि हतार हतार सडक खाली गराउनु परेको थियो। प्रदर्शनका कारण माइतीघर-बानेश्वर सडक पूर्णरुपमा ठप्प भएको छ।

सडकमा उनीहरुले सरकार विरोधी नारा लगाएका छन्। उनीहरुको मुख्य निशानामा प्रधानमन्त्री केपी शर्मा परेका छन्। जेनजी पुस्ताले ओलीविरुद्ध चर्का नारा लगाएका छन्। ओलीलाई लक्षित गरी उनीहरुले ‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’ लगायत नारा लगाएका छन्।

प्रदर्शनमा सहभागी युवाले सडक किनारका पोलमा राखिएका ओलीका पोस्टर समेत निकालेका छन्।

उनीहरुको मुख्य आक्रोश सामाजिक सञ्जाल बन्दसँगै दिनहुँ बढ्दो भ्रष्टाचारप्रति देखिएको छ। त्यसैले त प्रदर्शनमा नारा घन्कियो- दु:खी जनता कमाउने, भ्रस्ट नेता रमाउने। जनताले तिरेको कर विकास निर्माणमा खर्च नगरेर दुरुपयोग गरी नेताले आफ्नो गोजीमा हालेको आरोप जेनजी पुस्ताले लगाएको छ।

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले प्रदर्शनको आह्वान गरेपछि प्रधानमन्त्री ओलीले आइतबार एमालेको विधान महाधिवेशन समापनका क्रममा आफू अझै नसच्चिने आशय प्रकट गरेका कारण पनि उनी निशानामा परेका हुन्।

ओलीले आफ्नो ‘नालायकी’विरुद्ध बोली बन्द गराउन खोजेपछि अध्ययनदेखि आयआर्जनको थलोमा निर्वाध पहुँचको माग गर्दै जेनजी पुस्ता सरकारमाथि नै खनिएको छ। यसअघि सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश पोख्दै आएको जेनजी पुस्ताले सरकारले त्यो थलो उत्तर कोरिया पथ अपनाउँदै भदौ १९ बन्द गरिदिएपछि सडकमा ओर्लिएर आजाव सुनाएको हो।

‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’, ‘भ्रस्ट नेता होसियार’जस्ता नारा लगाएर जेनजी पुस्ताले नेताहरुको कुशासनबाट आफूहरु वाक्क भएको र अब शासनसत्तामा उनीहरुलाई दोहोरिन नदिने सन्देश दिएका छन्।

कुशासन र नेताहरुप्रति चर्को आक्रोश व्यक्त गरिरहँदा प्रदर्शनमा सहभागी जेनजी पुस्ता सडकमा संयमित पनि देखिएको छ। उनीहरुले सडक किनारमा रहेका बिरुवा जोगाउन अपिल समेत गरेका छन्।

उनीहरुलाई सडक किनारमा बसेर वयस्कहरुले साथ दिएका छन्। वयस्कहरुले नेताहरुको भ्रष्टाचारविरुद्ध बोल्ने हिम्मत गरेको भन्दै जेनजी पुस्ताको प्रदर्शनलाई ताली बजाएर स्वागत गरेका छन्।

जेनजीलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले साथ दिएका छन्। उनले प्रदर्शनकारीका लागि घुम्ती शौचालयको व्यवस्था गरिदिएका छन्।

कुनै संगठित संस्थाको साथ विनै कुशासनविरुद्ध जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा आउनुलाई शासन सत्तामा वयोवृद्ध नेताबाट उनीहरु वाक्दिक्क भएको रुपमा लिइएको छ। उनीहरुले नेताहरुको कुशासनका कारण आफ्ना अभिभावकले कष्ट झेले पनि आफूहरु सहने पक्षमा नरहेको सन्देश प्रदर्शनमार्फत दिएका छन्।