काठमाडौं । रेड सीको तल बिछ्याइएको चारवटा केबल काटिएपछि एसिया र खाडी क्षेत्रमा इन्टरनेट सेवामा ठूलो समस्या आएको छ। यस घटनाले विशेषगरी भारत र पाकिस्तानजस्ता एसियाली देशहरूको इन्टरनेट सेवा प्रभावित भएको छ।
रायटर्सका अनुसार केबल काटिनुको कारण अझै स्पष्ट हुन सकेको छैन। यमनमा रहेको हुथी विद्रोही समूहले यस घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। यो घटना इजरायलको गाजापट्टीमा गरेको आक्रमणसँग जोडिएको हुन सक्ने अनुमान पनि छ।
टेक्नोलोजी कम्पनी ‘सेकम’ले दिएको जानकारीअनुसार, काटिएका चारवटा केबलहरूमध्ये ‘एशिया-अफ्रिका-युरोप १’, ‘युरोप-इन्डिया गेटवे’, ‘सीकम–फाइभ’ र ‘टीजीएन–जिएन’ रहेका छन्। यी केबलहरूले विश्वको कुल इन्टरनेट ट्राफिकको २५ प्रतिशतभन्दा बढी हिस्सा ओगट्छन्।
इन्टरनेट सेवा प्रदायकहरूले अहिले काटिएका केबलको सट्टा अन्य मार्ग प्रयोग गरिरहेका छन्। जसले गर्दा तत्काल ठूलो अवरोध हुनबाट रोकिएको छ। यद्यपि, इन्टरनेटको गतिमा भने ढिलाइ भइरहेको छ।
केबल मर्मत गर्न कम्तीमा आठ हप्ता लाग्न सक्ने अनुमान गरिएको छ। किनकि ती केबलहरू समुद्री सतहबाट धेरै गहिराइमा रहेका छन् र मर्मत कार्य कठिन हुनेछ। यस घटनाले भविष्यमा यस क्षेत्रमा हुने डिजिटल कनेक्टिभिटीको सुरक्षालाई लिएर चिन्ता बढाएको छ।