BIZMANDU
www.bizmandu.com

रंगमञ्चबाट ठूलो पर्दाको फड्को, फिल्ममा जमेका कलाकारलाई नाटकको रहर लाग्छ?

२०८२ भदौ २१

रंगमञ्चबाट ठूलो पर्दाको फड्को, फिल्ममा जमेका कलाकारलाई नाटकको रहर लाग्छ?
Artis, affiliated with an aesthetic dance studio, perform Traditional Dance Drama “Kathakansha 3” Bringing Akanksha, based on the Story of Lord Buddha's life on the occasion of the Buddha Jayanti festival at National Cultural Cooperation in Kathmandu, Nepal on Sunday 23 May Thursday 2024.


काठमाडौं। रंगमञ्चमार्फत चलचित्रमा उदाएका अधिकांश कलाकार हाल रजतपटमा अग्रपङ्क्तिमा छन्। अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धि तामाङलगायत रंगकर्म हुँदै चलचित्रमा स्थापित भएका कलाकार हुन्। उनीहरूलाई रंगमञ्चमा नदेखिएको वर्षौं भइसकेको छ।

Tata
GBIME
Nepal Life

नयाँ पुस्ताले उनीहरूलाई रंगकर्मी नभई चलचित्रकर्मीका रूपमा चिन्न थालिसकेका छन्। चलचित्रमा स्थापित भएका रंगकर्मी नाटकका मञ्चमा फर्किन किन कठिन भइरहेको हो? यो प्रश्नले स्वयम् रङ्गकर्मीलाई असजिलो लागेको छ। रंगकर्मलाई पनि निरन्तरता दिन अभिनेता दयाहाङ राईले केही रंगकर्मीसँगको सहकार्यमा मण्डला नाटकघर नै स्थापना गरे।

नाटकघरको स्तरोन्नतिका लागि उनले लगानी गरेका छन् तर उनी आफैं भने फिल्म खेल्न व्यस्त छन्। लामो समययता नाटकमा उनलाई पुनः देखिएको छैन। समय नमिलेर नाटक नखेलेको उनको स्पष्टोक्ति छ। चलचित्रको छायांकन सकेर हरेक साँझ नाटक गर्न आइपुग्दा एक दिन उनी बिरामी नै परे। ‘मैले सोफाको सहारामा नाटक सकेँ। मञ्चको लाइट निभ्नेबित्तिकै मलाई साथीभाइले मण्डला नाटकघरको माथिल्लो तल्लामा लगेर उपचार गराउनुभयो। त्यसैले अहिले म झैँ धेरै साथीहरू मञ्च अगाडिभन्दा पनि निर्देशन, निर्माणलगायत काममा हुनहुन्छ जस्तो लाग्छ,’ अभिनेता राईले भने।

लेखिएको भूमिकालाई न्याय गर्ने कलाकारको खोजी हुँदा प्रायः लेखक र निर्देशक रंगमञ्चमा धाउने गरेका छन्। अहिले सानो भूमिकादेखि शीर्ष भूमिकासम्म उनीहरूको उपस्थिति छ। चलचित्रको व्यस्तताले उनीहरूलाई नाटकमा फर्किन दिएको छैन। कतिपय अवस्थामा कलामाथि व्यापार पनि हाबी भएको रंगकर्मीहरुको भनाइ छ।

आर्थिक पक्षलाई सबल बनाउन भए पनि रंगकर्मी चलचित्रमा काम गर्ने क्रम बढेको छ। रंगमञ्चमार्फत कलाकारिता सुरु गरेका अनुहार चलचित्रमा मात्र देखिनु ठिक हो? रंगकर्मी कुनै न कुनै भूमिकामा रंगमञ्चसँग जोडिइरहनुपर्ने धारणा रंगकर्मी आशान्त शर्माको छ। उनी चलचित्रमा काम गरे पनि प्राथमिकतामा रंगमञ्च नै राख्न उचित मान्छन्।

नाटक लेख्ने र निर्देशन गर्ने अनुभवी रंगकर्मीको अभाव हुँदै गएकाले पनि स्थापित अनुहार कम देखिएको हुन् सक्ने विश्लेषण उनले गरे। ‘स्थापित अनुहारले विश्वास गर्न सक्ने निर्देशक र लेखिएका नाटकमा पनि कमी आएको जस्तो मलाई लागेको छ। म आफैँ पनि सीमित नामभन्दा अन्यसँग काम गर्न तयार हुन् धेरै समय लिन्छु,’ उनी भन्छन्, ‘आफूले काम नगरिसकेका निर्देशकले के कस्ता काम गर्लान्? भन्ने डर मनमा हुन्छ नै। तर, स्थापित रंगकर्मीले नाटक लेखेर, निर्माण गरेर भए पनि रंगमञ्चसँग जोडिनु पर्छ।’

गत वर्ष प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ सर्वकालीन सफल चलचित्र बनिसकेको छ। यसमा शीर्ष भूमिकामा रहेका अभिनेता विजय बराल पनि कुशल रंगकर्मीका रूपमा अपरिचित छन्। उनी वर्षमा केही समय नाटकलाई नै छुट्याएर काम गर्ने सोचमा छन्। ‘मेरो चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शन भइरहँदा नै मैले ‘हरि हजुरबा’ नाटक गरेँ। रंगमञ्चले हाम्रो अभिनयलाई भड्किन दिँदैन भने हाम्रो सफलतालाई पनि ‘ह्यान्डल’ गर्न सिकाउँछ,’ उनले भने, ‘यसकारण मैले रंगमञ्चलाई समय नै छुट्याएर चलचित्रमा काम गर्ने योजना बनाएको छु।’

दर्शकको बुझाइमा रंगमञ्चले नै पहिचान स्थापित गरेका कलाकार नाटकमा फर्किन नसक्नु दुःखद नै हो। कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रंगमञ्चको विशेषता हो। नेपाली रंगमञ्च अहिले पनि अभिनय सिक्ने ठाउँ बनेको छ, जहाँबाट ठूलो पर्दामा पाइला अघि सारेका कलाकार प्रभाशाली भूमिकामा देखिएका छन्। रासस