म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा ५८.८ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजनाको निर्माण पुरा भएको छ। १११ मेगावाट क्षमताको थप तीनवटा आयोजना निर्माणको अन्तिम चरणमा छन्।
तुँदीपावर कम्पनीले निर्माण गरेको ३७.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मंगले र संयुक्त ऊर्जा लिमिटेडको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन थालेका हुन्। रघुगंगा-३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डबाट अस्थायी रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ।
डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजना निर्माण पूरा नभएकाले उत्पादित विद्युत् खेर जान नदिन अस्थायी संरचनामार्फत राष्ट्रिय प्रणालीमा जोडिएको तुँदी पावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताए। बन्दीदेखि चिमखोलास्थित चिमखोला–राहुघाट–मंगलेको विद्युतगृहसम्म ८ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन ठूलोखोला र २२.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले साझेदारी गरेर बनाएका छन्।
चिमखोलादेखि तिल्केनीसम्म २२० केभी क्षमताको प्रसारण लाइन ठूलोखोला, माथिल्लो ठूलोखोला, चिमखोला–राहुघाट–मंगले र अपर राहुघाट जलविद्युत् आयोजनाले बनाएका हुन्। रघुगंगा-८ कुइनेमंगलेमा निर्माण भएको ठूलोखोला जलविद्युत् आयोजनाको प्रवर्धक संयुक्त ऊर्जाका प्लान्ट म्यानेजर विनोद पौडेलले चालु महिनादेखि केन्द्रीय प्रसारण लाइनमा जोडिएको जानकारी दिँदै आयोजना पूर्ण क्षमतामा सञ्चालन भएको बताए।
३ अर्ब ६० करोड लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले लगानी गरेका छन्। कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको ठूलोखोलाको ३ हजार ३ सय ८२ मिटर सुरुङ र ६ सय ३४ मिटर पेनस्टक पाइप हुँदै ल्याइएको पानीलाई छरीमा निर्माण भएको विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरेको हो।
रघुगंगा-८ बन्दीमा बाँध रहेको चिमखोला–मंगले–राहुघाट जलविद्युत् आयोजनाको ५ किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगंगा-७ चिमखोलाको बगरस्थित विद्युतगृहमा खसाल्न ९५० मिटर पेनस्टक पाइपलाइन बनाएको छ।
चिमखोला–मंगले–राहुघाटसहित तुँदी पावर नै प्रवर्धक रहेको ४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजनाको लागत १४ अर्ब रुपैयाँ रहेको छ।
यसैबीच, अपर राहुघाटले परीक्षण उत्पादनको तयारी गरेको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो प्रवर्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट र २२.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा छन्। रासस