BIZMANDU
www.bizmandu.com

घरमा बन्ने परिकारलाई व्यावसायीकरण, जात र संस्कृतिलाई रेष्टुरेन्टको ब्रान्डिङ

२०८२ भदौ २१

घरमा बन्ने परिकारलाई व्यावसायीकरण, जात र संस्कृतिलाई रेष्टुरेन्टको ब्रान्डिङ
घरमा बन्ने परिकारलाई व्यावसायीकरण, जात र संस्कृतिलाई रेष्टुरेन्टको ब्रान्डिङ


काठमाडौं। नेवारका भान्सामा के-के पाक्छन्, राई-लिम्बुका परिकार केके हुन्, अनि मधेशका जातजातिसँगै मिथिलाञ्चलका भान्सामा पाक्ने परिकारका सूची हेर्नुभएको छ? जातिगत सांस्कृतिक परिकार पस्किँने चलन होटल-रेस्टटुरेन्टतर्फ आकर्षित भइरहेको छ। होटल तथा रेष्टुरेन्टसँग जोड्दा व्यवसाय राम्रो भएको प्रयोगले लगानीकर्तामा हौसला बढेको हो।

Tata
GBIME
Nepal Life

मुलुकका विभिन्न भूभागको परिकारलाई व्यावसायिक रुपमा बजारमा ल्याउनेहरु बढ्न थालेका हुन्। पहिला पहिला घरमा र सीमित रेष्टुरेन्टमा मात्र पाइने परिकारहरुलाई अहिले जतासुकै पाइने भएको हो। व्यवसायीले संस्कृतिक परिकार प्रवर्धनसँगै व्यापार बढाएका छन्।

सधैं घरको परिकार खाइरहनेहरुको लागि नयाँ परिकार खानको लागि उपयुक्त गन्तव्य संस्कृतिक रेष्टुरेन्टहरुले पुर्‍याइरहेका छन्। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खुलेका नेवारी परिकारका रेस्टुरेन्टहरुले साँस्कृतिक स्वाद चखाइरहेका छन्। तिनैको सिको गर्दै अन्य जाति-समुदायका परिकार पस्किने रेस्टुरेन्ट पनि बढ्दै छन्।

जनकपुरको मिथिला संस्कृतिको प्रतिनिधित्व गर्दै घरमा पाक्ने मौलिक परिकारलाई ‘मिथिला थाली’ रेस्टुरेन्ट सञ्चालन गरी सेफ सन्तोष साहले मिथिला संस्कृतिलाई व्यावसायीकरण गरेका छन्। 

आफ्नो संस्कार र परिकारलाई देश र विदेशमा चिनाउन मिथिला थाली खोलेको सञ्चालक तथा सेफ डीके साहले बताए। 

‘बिडिया, कढी-बरी वा तिलौरी जस्ता घरमा बन्ने परिकार कसले किनेर खाला र भन्ने सोच थियो,’ साहले भने, ‘अहिले हामीले जसको घरमा मिथिला परिकार बन्दैनन्। उहाँहरूलाई मिथिला स्वाद चखाइरहेका छौं।’

यो रेस्टुरेन्ट कुनै प्रतिस्पर्धाका लागि नभई आफ्नै समुदायको प्रतिनिधित्व गर्न र घरको खानालाई बाहिर चिनाउन खोलिएको उनले बताए। सबैले आफ्नो संस्कार र परिकारलाई व्यावसायिक रुपमा अगाडि बढाउँदै लैजानु पर्छ। सबैले नयाँ परिकार चाख्न पाउँछन् भने आफ्नो संस्कार विश्वसामु फैलन मद्दत पुर्‍याउने उनले सुनाए। 

मिथिला थालीमा चोखा, भात, घिउ रोटी, तरुवा, तिलौरी, कढी–बरी, आलु चोखा र रहरीको दालसहित १७ परिकारको स्वाद लिन पाइन्छ। थालीको मूल्य जनकपुरमा ३५०,  गौशालामा ४०० र अन्य रेष्टुरेन्टमा ५०० रुपैयाँ छ। ठाउँ, परिवेश र भाडाको हिसाबले मूल्य ५० देखि १५० को फरकमा राखेको उनको साहको भनाइ छ।

रेस्टुरेन्टले खाना मात्र नभई डिजाइनले पनि मिथिला संस्कृतिलाई झल्काउँछ। स्वागतमा खादाको सट्टा गम्सा र  प्रिय पदार्थमा कोकको सट्टा मोहीको प्रयोग गर्ने गरिन्छ।

पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीलाई लक्षित गरी गौशालामा शुद्ध शाकाहारी रेस्टुरेन्ट सुरु गरेको उनले बताए।

साहले ‘एक सहर, एक मिथिला थाली र एक फिस हाउस’ अवधारणा सहित नेपालका हरेक पर्यटकीय सहरमा रेष्टुरेन्ट खोल्ने योजना रहेको सुनाए। त्यसपछि केही समयमा दुबई, दोहा र अयोध्या जस्ता अन्तर्राष्ट्रिय सहरहरुमा मिथिला थालीको शाखा विस्तार गर्ने योजना उनको छ। 

मिथिला थालीको सुरुवात जनकपुरबाट भएको हो। त्यसपछि शाखा विस्तार गर्ने क्रममा ललितपुरको झम्सिखेल, काठमाडौंको गौशाला र गैरिधारामा मिथिला थाली खोलिएको हो। 

यस्तै, नेवारी संस्कृतिलाई अंगालेर खुलेको रेष्टुरेन्ट हो नेवाः घासा। काठमाडौंमा यसका थुप्रै शाखा छन्। यो सञ्चालनमा आएको ६ वर्षभन्दा बढी भइसकेको छ। नेवाः घासामा नेवारी परिकारसँगै नेवारी संस्कृति र परम्पराको परिचित गराइन्छ। यहाँ नेवारी खाजाका प्रायः सबै परिकार पाइन्छ।

नेवा: घासा पाटन, सोह्रखुट्टे, महाराजगञ्ज र वसन्तपुरमा सञ्चालनमा आइरहेको छ भने थप नयाँ शाखा विस्तार गर्ने योजना रहेको मार्केटिङ म्यानेजर आशिषराज खड्गीले बताए।

‘नयाँ नयाँ सांस्कृतिक रेष्टुरेन्टहरु सञ्चालनमा आए नयाँ स्वाद चाख्न पाइन्छ। हरेक जात जातिले आफ्नो कल्चर र परिकारलाई व्यावसायिकरण गर्नुपर्छ,’ उनले भने। 

नेवाः घासामा चिउरा, बदाम, भटमास, छोइला, कचिला, बुला, आलु तामा, मसरुम छोइला, सुकुटी लगायत १४ वटा परिकार समावेश भएको घासा सेटको १ हजार ९०० रुपैयाँ पर्छ। यो एक सेटले चार जनालाई पुग्छ भने भेजको ७ सय र चिकेनको २२ सय रुपैयाँ छ।

नेवा: लाछी, नेवा: फल्चा, नेवा: लहना, नेवा: सुली र सस: त्वा: रेष्टुरेन्ट जस्त थुप्रै नेवारी संस्कृतिसँग जोडिएका रेष्टुरेन्टहरु सञ्चालनमा आएका छन्।

साथै, विभिन्न पर्यटकीय गन्तव्यमा रहेका होटल तथा रेष्टुरेन्टले आफ्नै गाउँठाउँ र संस्कृति झल्किने परिकार र संस्कारलाई व्यावसायिकरण गरिरहेका छन्। जसले गर्दा पर्यटकलाई नेपालमा रहेका विभिन्न जातजातिका परिकार र संस्कार बुझ्न सहज भएको छ।