BIZMANDU
www.bizmandu.com

एक्मी इन्जिनियरिङ कलेजको ‘डिल’एक अर्बमा, जग्गा ८८ करोडमा बिक्यो, सम्बन्धन ८ करोड रुपैयाँमा

२०८२ भदौ १९

एक्मी इन्जिनियरिङ कलेजको ‘डिल’एक अर्बमा, जग्गा ८८ करोडमा बिक्यो, सम्बन्धन ८ करोड रुपैयाँमा
एक्मी इन्जिनियरिङ कलेजको ‘डिल’एक अर्बमा, जग्गा ८८ करोडमा बिक्यो, सम्बन्धन ८ करोड रुपैयाँमा

काठमाडौं। कर्मचारी तथा शिक्षकलाई तलब दिनसमेत नसक्ने अवस्थामा पुगेको एक्मी इन्जिनियरिङ कलेज बिक्री भएको छ। कलेजको सम्बन्धन र जग्गा गरेर कुल ९६ करोड रुपैयाँमा ‘डिल’ भएको हो।

Tata
GBIME
Nepal Life

कलेजको सम्बन्धन र जग्गा दुई फरक-फरक समूहलाई बिक्री गरिएको हो। काठमाडौंको सीतापाइलामा रहेको कलेज सम्बन्धन किनेको समूहले अब अर्को ठाउँमा सार्ने छ। त्यहाँको जग्गामा अर्को इन्जिनियरिङ कलेज सञ्चालन हुनेछ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक्मी इन्जिनियरिङमा सोपान मल्टिपल इन्भेष्टमेन्ट कम्पनीको लगानी थियो। उसले कलेजको ब्राण्ड त्यहींका शिक्षकहरुको समूहलाई बिक्री गरेको छ। जग्गा अर्को इन्जिनियरिङ कलेजले किनेको छ।

तीन वटै समूहबीच खरिद-बिक्री सम्झौता भइसकेको छ। भदौको अन्तिमसम्ममा सेयर आदानप्रदान हुनेछ। अहिले एक्मी इन्जिनियरिङ चलाइरहेको सोपान मल्टिपल इन्भेष्टमेन्टमा पूर्वमन्त्री एवं जसपाका सांसद डा. वीरेन्द्रकुमार महतोलगायतको लगानी छ।

उनी गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोका भाई हुन्। टेलिकम, बैंक तथा वित्तीय संस्था, उत्पादनमूलक उद्योग, हस्पिटलमा लगानी रहेको उपेन्द्र भने आर्थिक रुपमा समस्यामा छन्। त्यही भएर उनीहरुले भएका व्यवसाय बेचेर भएपनि आर्थिक संकटबाट वाहिरिन खोजिरहेका छन्।

सोमान मल्टिपलले कलेजको सम्बन्धन त्यहीँका शिक्षक प्रदीप पौडेललगायतको समूहलाई बिक्री गरेको छ। कलेजको सम्बन्धन ८ करोड रुपैयाँमा बिक्री गरिएको हो।

जग्गा भने कसमस इन्जिनियरिङ कलेजलाई बिक्री गरिएको छ। कुल १० रोपनी जग्गामध्ये ६ रोपनी सोपानको हो भने ४ रोपनी सोपान अन्तर्गतको कलश प्रोपर्टीको हो।

जग्गा ८८ करोड रुपैयाँमा बिक्री गरिएको हो। सोपानले यो पैसा जलविद्युत परियोजनामा लगानी गर्ने योजना बनाएको छ।

एक्मी इन्जिनियरिङ कलेजलाई पूर्वाञ्चल विश्वविद्यालयले ४२० हाराहारीमा विद्यार्थी भर्नाको कोटा निर्धारण गरेको थियो। कलेजमा कर्मचारी ५० जना हाराहारी मात्र थिए। सञ्चालन खर्च नै नउठेर नोक्सानीमा गएपछि कलेजले कर्मचारी र शिक्षकलाई लामो समयदेखि तलब सुविधा नै दिएको थिएन।

आर्थिक संकटका कारण कलेजमापठनपाठन समेत प्रभावित बन्न पुगेको थियो। अहिलेको व्यवस्थापनबाट कलेज नचल्ने देखिएपछि जग्गा र कलेजको सम्बन्धन बिक्री गर्न बाध्य भएको स्रोतले बतायो।