BIZMANDU
www.bizmandu.com

क्लबलाई व्यावसायीकरणको योजनासहित ‘ए’ डिभिजन लिगको तयारी, के-के छन् योजना?

२०८२ भदौ १९

क्लबलाई व्यावसायीकरणको योजनासहित ‘ए’ डिभिजन लिगको तयारी, के-के छन् योजना?
क्लबलाई व्यावसायीकरणको योजनासहित ‘ए’ डिभिजन लिगको तयारी, के-के छन् योजना?

लिग साइकलमा समस्या हुँदा समयमा शहीद स्मारक ‘ए’ डिभिजन लिग हुन सकेन। अब, पुस महिनाबाट फरक ढाँचामा लिग गराउने सोचिरहेका छौं। लिग गराउनका लागि ढिला भयो त्यो अलग कुरा भयो तर अहिले हामी फरक तरिकाले सोचिरहेका छौं।

Tata
GBIME
Nepal Life

नेपाली डिभिजन फुटबलमा ‘टप टायर’मा यही हिजोकै तरिकाले सेन्ट्रल भेन्यु गरेर यसो खेलेर टुंग्याएर, सकेर नेपाली फुटबलको विकास हुँदैन। अझ, क्लबहरू कमर्सियलाइज हुँदैन। उनीहरू व्यावसायिक पनि हुँदैनन्।

क्लबहरूलाई जबसम्म व्यावसायिक बनाइँदैन तबसम्म फुटबलको स्तर माथि आउँदैन। क्लबहरू व्यावसायिक नभइन्जेल खेलाडीलाई पैसा दिन सक्दैनन्। पेमेन्ट राम्ररी गर्न सक्दैनन्। क्लबहरूले रेभेन्यु जेनेरेट गरेर नाफामा नगइकन फुटबलको विकास हुन सक्दैन।

ए डिभिजन लिगको अघिल्लो च्याम्पियन चर्च ब्वाइज क्लब।

संसारभरी हेर्दा फुटबलको विकासको आधार त्यो देशका क्लबको फाइनान्सियल स्ट्रेन्थसँग जोडिएर आउँछ। यसैको आधारमा फुटबलको स्तर मापन हुन्छ।

अहिले हामीले ‘होम एण्ड अवे’मा शहीद स्मारक ‘ए’ डिभिजन लिग गराउने सोचिरहेका हौँ। यसो गर्‍यो भनेमात्र धेरैभन्दा क्लबहरू व्यवसायिक हुने अवसर बन्न सक्छ। त्यसैले अहिले हामीले होम एण्ड अवेको योजना बनाइरहेका छौँ। त्यसमा वर्कआउट गरिरहेका छौँ।

हामीले आइतबार क्लबहरूसँग एउटा मिटिङ गर्‍यौँ। त्यो मिटिङमा हामीले हाम्रो कन्सेप्ट सेयर गर्‍यौँ। क्लबहरूले यस विषयमा हामीलाई छलफलको समय चाहिन्छ भन्नु भएको छ। र, छलफलको समय दिएका छौँ। अब ३१ गते अर्को वर्कसप गर्दैछौँ।

एन्फा महासचिव किरण राई। तस्बिर: शुशिल श्रेष्ठ/बिजमाण्डू

हामी अहिले सबै कुरामा ओपन छौं। होम एण्ड अवे गर्ने हो। काठमाडौं बाहिरको भेन्युहरू प्रयोग गर्ने हो। देशभर हामीले हेर्‍यौँ भने ए डिभिजन लिग हुनसक्ने १५/१६ वटा स्टेडियम रहेछन्। त्यो स्टेडियमको विषयमा जिल्ला फुटबल संघसँग पनि समन्वय गर्दैछौँ।

क्लबले म एक्लै गर्छु भन्यो भने भइगयो। नत्र जिल्लासँग टाइअप गराइदिने प्रयास गर्नेछौँ। किनभने क्लबले गएर एकैपटक मार्केटिङ या गतिबिधि गर्न कठिन हुन्छ। त्यसमा कुनै व्यापारिक घराना कुनै जोडिन सक्छ। ‘ट्राइपार्टी’ पनि हुन सक्छ।

अहिलेको योजनामा १४ वटा क्लबलाई १४ वटा भेन्युमा पठाउने छ। यसो गर्दा हरेक भेन्युमा १३ वटा खेल हुन्छ। यसो गर्दा देशको १४ वटा स्थानमा ए डिभिजन फुटबलको माहोल हुन्छ। र, ६ महिनाको लिग गराउने योजना हो।

यसो गर्दा गाउँ-गाउँमा भएको फुटबल फ्यानले शीर्ष डिभिजन लिगको म्याच हेर्न पाउँछन्। शीर्ष क्लब १४ वटै ठाउँमा पुग्छन्। खेलाडीलाई नजिकबाट फ्यानहरूले हेर्ने मौका पनि हुन्छ।

यसले हामीलाई मार्केटिङ, कमर्सियलाइजेसन वा प्रायोजनमा ठूलो सहयोग हुन्छ र यो सबै सहयोगचाहिँ क्लबहरूका लागि हो। यसबाट एन्फाले फाइदा खोजेको छैन।

अहिले तयारी खर्च भन्ने छ। क्लब र एन्फाबीच १/२ लाखको विषयमा विवाद गरिरहनुपर्ने, बार्गेनिङ गरिरहनु पर्ने जुन अवस्था छ, त्यसको सट्टा एन्फाले पुरस्कार लगायत अन्य विषयमा खर्च गर्छ। प्रोमोसनमा खर्च गर्छ। त्यो प्रोमोसनबाट हुने रेभेन्यु जेनेरेट चाहिँ क्लबहरूले लिन्छन्।

‘ए’ डिभिजन लिगको ट्रफी। फाइल फोटो।

अहिले ३२ लाखभन्दा पनि मेहेनतमा भर पर्नेभयो। १ करोड नै बनाउन सक्ने भयो। टिकेटिङको पैसाहरू त्यहाँ सेयर हुन्छ। प्रायोजनको कुराहरू त्यहाँ हुन्छ। क्लबहरूलाई यो वर्ष अलि गाह्रो होला तर अर्को वर्षदेखि क्लबहरू एकदमै राम्रो गरी सस्टेन हुन्छ र आर्थिक रुपमा बलियो हुन्छ भन्ने हाम्रो बुझाइ हो।

१४ ठाउँ जान खोजेकै ब्राण्ड भित्र्याउन हो। अहिलेसम्म दर्शक नै नहुने। दिनमा एउटै रंगशालामा २/३ वटा म्याच भइदिने। यो इन्ट्रेस्टिङ भएन। यसले गर्दा हप्ताको २ वटा भन्दा धेरै म्याच खेल्न पर्दैन। हरेक म्याच इन्ट्रेस्टिङ हुने भयो। फुटबलमा अनप्रेडिक्टेबल हुन पर्‍यो। जब फ्यान फलोइङ र दर्शक त्यहाँ जाँदैन, त्यसले प्रायोजन पनि खुम्चिन्छ।

हामी १४ ठाउँ गयौँ भने दर्शक फ्यान फलोइङ सबै बढ्छ। त्यो बढेपछि प्रायोजन आफैँ बढ्छ। व्यवसायीकरण भन्न खोजेको कारण के हो भने त्यो ठाउँमा गएपछि हामीले सही प्रोजेक्ट लन्च गरेपछि प्रायोजक नआउने भन्ने कुरै हुँदैन। ‘ए’ डिभिजन लिग १४ ठाउँमा हुँदैछ भनेपछि आँफै माहोल तयार हुँदैछ। ती ठाउँमा ट्रफी रिभिल गर्न जाँदैछौँ। त्यसका लागि नयाँ ट्रफी बनाउँदैछौँ।

क्लबहरूको विषयमा मार्केटिङ एजेन्सी खोज्छौँ। आफै क्लबले खोज्छ भने ठीकै छ हैन भने एन्फा सहयोग गर्छ। एजेन्सीमार्फत सहयोग गर्न सक्छौँ।

एन्फाले यो लिगमार्फत क्लबलाई सस्टेन गराउन र व्यवसायिक बनाउन खोजेको हो। किन यसो गरियो भन्दा क्लबहरूको आर्थिक अवस्था राम्रो नभइकन नेपाली फुटबल या कुनै पनि देशको फुटबलको विकास हुन सक्दैन। सम्भवै छैन। सिनियर टोली राम्रो हुन सिनियर क्लब पनि राम्रो हुनुपर्छ।

झारा टार्ने किसिमले सेन्ट्रल भेन्युमा लिग गर्नु कुनै ठूलो कुरा होइन। यो अहिल्यै पनि हामी गर्न सक्छौँ। हामीलाई गाह्रो पनि हुँदैन।

हामीले अहिले बहस गर्न खोजेको कुरा के हो भने हामी होम एण्ड अवे गर्न किन नसक्ने? एकै पटक कर्णाली र झापा कुद्न गाह्रो हुन्छ भने होम-होम खेलेर पछि अवे-अवे पनि खेल्न सकिएला। त्यसलाई टाइसिटमा मिलाएर लैजान सकिएला।

अहिले हामी दिनमा २/३ वटा भन्दा म्याच गर्न सक्ने अवस्था देख्दिन। त्यो ब्रोडकास्टिङको कारणले। हाम्रो फ्यानहरू त युट्युवमा पनि छन्। उनीहरूले डिजिटल प्लेटफर्ममा पनि लिग हेर्छन्। यसो गर्दा ब्रोडकास्टिङ पनि १४ ठाउँमा हुने भयो। यसो गर्दा ठूलो जनशक्ती परिचालन हुन्छ। यसमा सबै फ्यानदेखि सबै स्टेकहोल्डर इन्गेज हुने अवस्था हुन्छ। यति भएपछि प्रायोजकको ध्यान त आइहाल्छ।

ए डिभिजन लिग क्लबहरूको छलफलमा ब्रिफिङ गर्दै राई। तस्बिर: एन्फा

धेरै क्लबहरू त सकारात्मक देख्छु म। केही क्लबहरू अलिकति सरप्राइज्ड भएको पनि महसुस भएको छ। गाह्रो हुन्छ कि पनि भन्नु भएको छ। हामीले उहाँहरूलाई तपाईँहरूको ‘गाह्रो’ लिएर आउनू, एन्फाले त्यहाँ सहयोग गर्छ भनिरहेका छौँ। तर, यो जायज पनि हुनु पर्‍यो। लिग नै नखेल्ने गरी, कार्यक्रममै सहभागी नहुने गरीको ‘गाह्रो’ त स्वीकार्य भएन तर लिग खेल्न ‘यो-यो’ समस्या भयो भन्दा हामीले एजेन्सी खोज्नेदेखि लिएर भेन्यु खोज्नेसम्म सबै गर्छौँ भनेका छौँ। हैन, हामी भेन्यु आफैँ रोज्छौँ भन्नु हुन्छ भने पनि रोज्नुहोस्। यसमा पनि हामी यहीँ खेल्नुपर्छ भनेर हामी भन्दैनौँ।

यसमा बजेट कम लाग्ने देख्छु। बजेट त धेरै लाग्छ तर एन्फाको कम लाग्छ। किनभने त्यहाँ स्थानीय प्रायोजन नै धेरै आउँछ। क्लबहरू त्यहाँ सस्टेन हुने बित्तिकै र तयारी खर्च दिनु नपरेसँगै फरक परिहाल्छ। यसको मतलब हामी क्लबलाई पनि लोड पर्न भने दिँदैनौँ। हामी पनि भाग्दैनौ नि। कहाँ लोड पर्छ हामी सपोर्ट गर्छौं।

ल कुनै भेन्युमा मार्केटिङ भएन भने कसरी गर्ने भन्ने हामी गर्छौ नि त। तर, अहिल्यै जान्न भन्न त पाइएन नि। जान पर्‍यो। सबैले ट्राइ गर्न पर्‍यो। गर्दाखेरी समस्या पर्‍यो भने कस्तो सहयोग चाहिन्छ? त्यो हामी गर्न तयार छौँ। तर, कुरा जायज हुनुपर्‍यो।

एन्फा महासचिव किरण राई। तस्बिर: शुशिल श्रेष्ठ/बिजमाण्डू

यो कन्सेप्टमा जाने भनेपछि प्रदेश र स्थानीय तहमा पनि समन्वय गर्छौं। तर, अहिले एन्फा, क्लब र जिल्ला संघबीच यसरी जाने भन्ने एकमत हुन पर्छ। यसपछि हामी प्रदेश सरकार, स्थानीय सरकारदेखि व्यापारिक घरानासम्म जानेछौँ।

(बिजमाण्डू संवाददाता मुकुन्द घिमिरेसँगको कुराकानीमा आधारित)