BIZMANDU
www.bizmandu.com

अटो व्यवसायीलाई लाग्यो दसैं, ग्राहक तान्ने अफर ल्याएर बजारलाई बनाउँदैछन् गुलजार

२०८२ भदौ १९

अटो व्यवसायीलाई लाग्यो दसैं, ग्राहक तान्ने अफर ल्याएर बजारलाई बनाउँदैछन् गुलजार
अटो व्यवसायीलाई लाग्यो दसैं, ग्राहक तान्ने अफर ल्याएर बजारलाई बनाउँदैछन् गुलजार

काठमाडौं। आउँदै गरेको दसैंमा अटो बजारलाई गुलजार बनाउने रणनीतिसहित व्यवसायीहरू अगाडि बढेका छन्।

Tata
GBIME
Nepal Life

दसैं नजिकिएसँगै गाडी विक्रेताहरूबीच ग्राहकलाई आकर्षित गर्न अफर ल्याउने होड चलेको छ। अटो व्यवसायीले दसैं तिहारलाई लक्षित गरी १५ लाख रुपैयाँसम्म छुट र अन्य आकर्षक अफर ल्याएका छन्।

नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा करिब ८ हजार सवारीसाधन बुकिङ गराएको दुई साता नहुँदै व्यवसायीहरू दसैं-तिहार अफर ल्याएर ग्राहक तान्ने होडमा लागेका हुन्।

गाडी विक्रेताहरूका लागि दसैं मुख्य सिजन हो। ग्राहकहरूमाझ खासगरी दसैंका बेला गाडी किन्ने चलन छ। वर्षभरिमा हुने सवारीसाधन बिक्रीको ४० प्रतिशत कारोबार दसैं-तिहारमा हुने व्यवसायीहरूको भनाइ छ। त्यही कारण व्यवसायीहरू अहिले आकर्षक अफरसहित ग्राहकलाई लोभ्याउनतिर लागेका हुन्।

नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा बुकिङ भएका सवारीसाधन डेलिभरी गर्ने पनि दसैंकै समयमा हो। नाइमा र नाडा अटो शोमा बुकिङ भएका कतिपय नयाँ गाडी रसुवा र तातोपानी नाकामा अवरोधका कारण ल्याउन समस्या परेको छ।

व्यवसायीहरूले भने आफूहरूसँग पुरानो मोडलका गाडी स्टकमा रहेको र भारतको बाटो हुँदै नयाँ मोडलका गाडी पनि भित्रिरहेकाले ग्राहकको माग अनुसार डेलिभरी गर्न सक्ने बताएका छन्।

साउन तेस्रो साता भएको नाइमा मोबिलिटी एक्स्पो र भदौ पहिलो साता भएको नाडा एक्स्पोमा व्यवसायीहरूबीच गाडीको मूल्य घटाउने होड चलेको थियो।

चारपाङ्ग्रेमा यस्ता छन् अफर

चारपाङ्ग्रे सवारीसाधन विक्रेताले नगद छुटसहित देश विदेश घुम्न जानेसम्मका अफर ल्याएका छन्।

एमजी गाडीको विक्रेता पारामाउन्ट मोटर्सले दसैं तिहारलाई लक्षित गरी ‘पाथ्स अफ स्माइल’ योजना ल्याएको छ। यो अफरअन्तर्गत नयाँ गाडी खरिदमा ४ लाखसम्म छुट पाइनेछ।

एमजी-४, एमजी कोमेट, एमजी जेडएस, एमजी एस-५, एमजी विन्डसर र एमजी आईएम-६ इभी खरिदमा छुट पाइने कम्पनीले जनाएको छ।

गाडी किन्दा नगद छुटका साथै ग्राहकलाई कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स र ३ किलोवाट वा ७ किलोवाटको चार्जर निःशुल्क हुनेछ। देशभरका शोरुमबाट ग्राहकले कात्तिक १० गतेसम्म यो अफरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ।

हुन्डाईका गाडी खरिद गर्ने ग्राहकलाई ८ लाखसम्म नगद छुट दिने योजना ल्याइएको छ। हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई दसैं तिहार, १० गुणा उपहार’ योजना ल्याएको छ।

यो योजना अन्तर्गत नगद छुटका अलावा स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्म जित्न सकिनेछ। यस्तै, लोयल्टी बोनस २० हजार रुपैयाँसहित एक वर्षको सडक कर र बीमा पनि नि:शुल्क रहेको कम्पनीले जनाएको छ।

होन्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले ४ लाखसम्म नगद छुट दिने अफर ल्याएको छ। होन्डाले दसैंलाई लक्षित गर्दै ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ योजना ल्याएको हो।

यो योजना छुटका साथै ५ वर्षसम्म सर्भिस निःशुल्क दिने कम्पनीले जनाएको छ। यस्तै, होन्डा गाडी किन्नेले १ वर्षको बीमा र १ वर्षको सडक कर निःशुल्क पाउनेछन्। एक्सचेन्ज बोनसमा २५ हजार रुपैयाँ दिने कम्पनीले जनाएको छ।

सुजुकी गाडी बिक्री गर्ने सीजी मोटोकर्पले ‘यसपालिको दसैं तिहार, सुजुकीसँग सुनौलो उपहारको बहार’ योजना ल्याएको छ। यो योजना अन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्म नगद छुट तथा २ लाखसम्म एक्सचेन्ज बोनस पाउनेछन्। साथै, एसेसरिज र एक वर्षको बीमा नि:शुल्क हुने तथा स्पेयर पार्ट्समा सहुलियत रहेको कम्पनीले जनाएको छ।

यस्तै, अल्टो र सेलेरियो शून्य प्रतिशत ब्याजदरमा लिन सकिनेछ। ई स्क्र्याचमार्फत १ लाख अतिरिक्त छुट र लक्की ड्र विजेता १० जनाले १ तोला सुन पाउनेछन्।

किया गाडी खरिदमा पनि दसैंतिहार अफर छ। कियाको आधिकारिक विक्रेता इन्टरकन्टिनेन्टल ट्रेडिङले किया फेस्टिभ ड्राइभ एक्सचेन्ज अफर ल्याएको जसमा नगद छुट, विशेष फेस्टिभ डिस्काउन्ट र १ वर्षको बीमा नि:शुल्क हुनेछ।

नामीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले मूल्य घटाएर अफर ल्याएको छ। कम्पनीले गाडीको मूल्य ८० हजार घटाएर दसैं अफर ल्याएको हो।

ओमोडा एण्ड जेको गाडीमा नाइमामा ल्याइएको अफरलाई फेस्टिभ अफरका रुपमा निरन्तरता दिइएको छ। ओमोडा एण्ड जेकोको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले ४ लाख रुपैयाँ छुटका साथै एक्सचेन्ज बोनस, ७ किलोवाटको होम चार्जर र १ वर्षको बीमा निःशुल्क गरिएको जनाएको छ। कम्पनीले अफर अन्तर्गत स्पेयर टायर पनि दिनेछ।

जिकरले १५ लाख रुपैयाँ छुट दिने योजना ल्याएको छ। जिकर फेस्टिभ थ्रिल योजनाअन्तर्गत ग्राहकलाई १५ लाख रुपैयाँ छुटका साथै एक वर्षको अटो प्लस बीमा र सडक कर निःशुल्क हुनेछ। ग्राहकले ७ किलोवाट क्षमताको भित्ते चार्जर पनि पाउनेछन्।

लिपमोटरका गाडीमा दसैं-तिहारमा पनि नाइमा मोबिलिटी एक्स्पोमा दिइएको अफरमा पाइने भएको छ। एमआरपीभन्दा निकै कम मूल्यमा सीमित समयका लागि गाडी खरिद गर्न पाइने व्यवस्था आधिकारिक विक्रेता सांग्रिला मोटर्सले मिलाएको छ।

लिपमोटर किन्ने ग्राहकलाई ७ किलोवाट र २.२ किलोवाट क्षमताको चार्जर तथा एक वर्षको सडक कर निःशुल्क हुनेछ।

निसान गाडीमा नगद छुटसहित १ वर्षको बीमा, सडक कर र ३ वर्षको सर्भिसिङ निःशुल्कको अफर छ। यो गाडीमा ३ वर्षको वारेन्टी दिइएको छ।

बाइक जित्नेदेखि विदेश घुम्ने अफर

दुई पाङ्ग्रे सवारीसाधनले पनि दसैं तिहारलाई लक्षित गरी विभिन्न अफर ल्याएका छन्।

टीभीएसले आफ्ना बाइक तथा स्कुटरमा ‘बाँड्दै हर्ष, बढाउँदै सम्बन्ध’ नाम दिएर दसैं अफर ल्याएको छ। अफरअन्तर्गत १ हजार ग्राहकले भाटभटेनी सुपरमार्केटमा किनमेलका लागि ८ हजार रुपैयाँ बराबरको सपिङ भौचर पाउनेछन्। फाइनान्स सुविधा फटाफट हुनेछ भने एक्चेन्जमा १० हजार बोनस छ।

होन्डाका बाइक तथा स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि ‘यो दसैं घर-घरमा लाखौंको उपहार’ योजना ल्याइएको छ। आधिकारिक विक्रेता स्याकर ट्रेडिङले ल्याएको यो योजनाअन्तर्गत ग्राहकले स्क्र्याच कार्डमार्फत १ लाखसम्म नगद जित्न सक्नेछन्।

यसबाहेक स्क्र्याचमा १० हजार, ५ वर्षको वार्षिक मर्मतमा लाग्ने खर्चमा १२ हजार ५०० रुपैयाँसम्म छुट, ६ वटा फ्री सर्भिसमा इन्जिन आयल निःशुल्क हुनेछ। १ प्रतिशत ब्याजदरमा सजिलो फाइनान्स सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

भेस्पा एप्रिलियाको आधिकारिक विक्रेता डेल्टा अटोकर्पले चाडपर्वलाई लक्षित गर्दै ‘डबल या तेब्बर बबाल’ अफर ल्याएको छ। अफर अन्तर्गत हरेक ग्राहकले स्कुटर खरिदमा एउटा स्क्र्याच कुपन पाउनेछन्। कुपनको क्यूआर कोड स्क्यान गरी स्क्र्याचमा पाएको रकमको तेब्बरसम्म ग्राहकले पाउने कम्पनीले जनाएको छ।

साथै, हरेक हप्ता लक्की ड्रमार्फत थाइल्याण्ड घुम्न पाउने ग्राहक छनोट हुनेछन्। बम्पर उपहारमा एक जना ग्राहकले १० लाख नगद रुपैयाँ पाउनेछन्। एक्सचेन्ज बोनसमा ४० हजार रुपैयाँसम्म भ्यालु एड हुनेछ।

यामाहा बाइक तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले ‘यामाहा राइड द ब्लु विथ रोडिज’ योजना ल्याएको छ। यसमा १० लाखसम्म क्यास ब्याक उपलब्ध छ। साथै बिगिन योर ब्लु जर्नीमा ग्राहकले १ लाखसम्म नगद जित्न सक्नेछन्।

यस्तै अनलक द विक्ली फनमा ग्राहकले यामाहा बाइक नै जित्न सक्ने कम्पनीले जनाएको छ। यसबाहेक ग्राहकले हेलमेट निःशुल्क, ४ वटा अतिरिक्त सर्भिस कुपन र स्पेयर पार्ट्समा ५ प्रतिशत छुट पाउनेछन्। स्पट एक्सचेन्ज, सजिलो फाइनान्सिङ, केही मोडलमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा रहेको कम्पनीले जनाएको छ।

सीएफमोटोका मोटरसाकलमा ३५ हजार छुटदेखि विदेश घुम्ने अवसरको अफर ल्याइएको छ। सीएफमोटोको आधिकारिक विक्रेता रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले बाइक एक्सेन्जमा ४५ हजारसम्म बोनस उपलब्ध गराउने योजना ल्याएको छ। सीएफमोटो किन्नेले हेलमेट निःशुल्क पाउनुका साथै लक्की ड्रमार्फत बाली घुम्ने अवसर पनि पाउनेछन्।

हिरोको आधिकारिक विक्रेता सीजी मोटर्सले हाम्रो परम्परा अफर ल्याएको छ। यसमा ग्राहकले ८ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद जित्ने सक्नेछन्। यस्तै, एक्सचेन्ज भ्यालु १० हजारदेखि १ लाखसम्म प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। हिरोका दुई पाङ्ग्रेमा ५ वर्षको वारेन्टी दिइएको छ।