BIZMANDU
www.bizmandu.com

प्रहरीले पक्राउ गरेका विनोद अर्बपति व्यवसायी, बाजेकै पालादेखि सुन धितो लिएर लगानी

२०८२ भदौ १८

प्रहरीले पक्राउ गरेका विनोद अर्बपति व्यवसायी, बाजेकै पालादेखि सुन धितो लिएर लगानी
प्रहरीले पक्राउ गरेका विनोद अर्बपति व्यवसायी, बाजेकै पालादेखि सुन धितो लिएर लगानी

काठमाडौं। काठमाडौं महानगरपालिका २६ सामाखुसीस्थित एक घरमा छापा मारेर सवा चार करोड रुपैयाँ नगद र करिब १० किलो सुनसहित पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठ पुराना कपडा व्यापारी भएको खुलेको छ।

Tata
GBIME
Nepal Life

श्रेष्ठ गोरखा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत भएको खुलेको छ। उनले २०५० देखि ५२ सम्म संघमा अध्यक्षको रुपमा काम गरेका थिए।

गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवान बाबु मास्केका अनुसार विनोद पहिलेदेखि नै सम्पन्न व्यक्ति हुन्। विनोदले पुस्तैनी व्यवसायलाई अहिलेसम्म निरन्तरता दिंदै आएका हुन्। उनका बाजेले पनि सुन धितो लिएर पैसा लगानी गर्ने गरेका थिए।

‘बाजेका पालादेखि नै उहाँको परिवारले वाणासँग सुन धितोमा लिएर पैसा दिने गरेको थियो। बाजेको पालाको व्यवसायलाई उहाँले पनि निरन्तरता दिनुभयो। उहाँ पहिलेदेखि नै सम्पन्न व्यवसायी हो,’ मास्केले भने, ‘छोराहरुले त यसरी मिटरब्याजमा पैसा दिने काम बन्द गर्नु भनेर सुझाव दिएको सुनेका हौं। तर, उहाँले पुर्ख्यौली काम भनेर छोड्न मान्नुभएन।’

गोरखाका विनोदलाई मिटरब्याजको कारोबारमा उनका जेठा छोरा राजकुमारले भने साथ दिंदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

विनोदको घरमा छापा मारेकै राति प्रहरीले नयाँ बजारस्थित अर्को घरमा पनि रेड हानेको थियो। राजकुमारले नयाँ बजारको घरमा फ्ल्याट भाडामा लिइ मिटरब्याज कारोबारका लागि प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

राजकुमारले लकर नै बनाएर सुनका गहना राखेको भेटिएको छ। प्रहरीले केही गहना बरामद गरेको छ। ‘सूचना चुहिंदा केही सामान लागेको हो कि भन्ने छ। छोरा अहिले फरार छन्,’ एक प्रहरी अधिकृतले सुनाए।

राजकुमारको फ्ल्याटबाट प्रहरीले ९० हजार ५०० रुपैयाँ नगद र सुनका केही गहना बरामद गरेको थियो।

प्रहरीले सामाखुशीस्थित विनोदको घरबाट ४ करोड २६ लाख रुपैयाँ नगद तथा ९ किलो ८०० ग्राम सुनका गहना बरामद गरेको थियो। प्रहरीले विनोदको घरबाट बरामद गरेको सुन बुधबारको बजार भाउ अनुसार करिब साढे १७ करोड रुपैयाँ बराबरको हो।

४ वटा बोरामा पोका पारेर राखेको अवस्थामा पैसा र सुनका गहना बरामद गरिएको थियो। प्रहरीले नगद र सुन राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा विनोदले सुन धरौटी राखेर लामो समयदेखि मिटरब्याजमा रकम दिने गरेको देखिएको छ। गोरखामा हुँदा समेत यसरी नै धितो राखेर रकम दिने गरेको विनोदले प्रहरीसँगको सामान्य सोधपुछमा बताएका छन्।

‘अहिलेसम्म सुन धरौटी राखेर रकम लगानी गर्ने गरेको देखिन्छ। थप अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले भने।

विनोदले धितोमा लिएको सुन अरुलाई दिने गरेको जानकारी समेत प्रहरीले प्राप्त गरेको छ। जसमा केही सुन पसले छन्। यसबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

‘सुन करिब १० किलो फेला पर्नुले उनले लामो समयदेखि मिटरब्याजमा सुन व्यवसायीसँग पनि कारोबार गर्दै आएको देखिन्छ,’ एक अनुसन्धान अधिकृले सुनाए।

स्रोतका अनुसार विनोद पक्राउ परेपछि सुन व्यवसायीमा समेत खैलाबैला मच्चिएको छ। उनीसँग कारोबार गर्दै आएका कतिपय सुन व्यवसायीले बुधबार पसल खोलेनन्।

‘उनी खराब खालका व्यवसायी होइनन्। बाबु बाजेले गर्दै आएको कामलाई निरन्तरता दिए। उनीसँग सुन व्यवसायीले कारोबार गर्दै आएका थिए। उनी पक्राउ परेपछि कतिपय सुन व्यवसायी भयभीत भएका छन्,’ उनलाई नजिकबाट चिन्ने एक व्यवसायीले भने,’ ‘उनीसँग अर्बको सम्पत्ति होला। उनलाई स्रोत देखाउन त गाह्रो नपर्ला। तर, मिटरब्याजमा सुन पसले लगायतलाई लगानी गर्दा अहिले वृद्ध उमेरमा आफैं फसे।’

प्रहरीले विनोदका अन्य कारोबारबारे समेत अनुसन्धान गरिरहेको छ। उनले बैंकिङ कारोबार गरेका छन्/छैनन् भन्ने बुझ्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।

गोरखाका ‘कहलिएका’ व्यवसायी

गोरखाको गोरखा नगरपालिका-६ घर भएका ७६ वर्षीय विनोद २०६५ देखि काठमाडौं बस्दै आएका हुन्। गोरखामा उनको कपडाको पसल थियो। विनोद कुनै समय गोरखाका चलेका कपडा व्यवसायी भएको उनी नजिकका व्यक्तिले बताए।

‘उनी गाडीदेखि कपडासम्मको व्यापार गर्ने कुनै समयका कहलिएका व्यवसायी हुन्। कपडा व्यवसाय राम्रो हुँदै गर्दा छोराहरु काठमाडौं गएपछि उनी पनि उतै गएका हुन्,’ गोरखाका ती व्यक्तिले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने। काठमाडौं-गोरखा चल्ने बसमा समेत विनोदको लगानी छ।

प्रहरीले घरमा छापा मार्दा विनोदकी पत्नी भने गोरखामा थिइन्।

७७ वर्षीय विनोदले पछिल्लो समय गोरखा जान कम गरेका थिए। ‘उहाँलाई वृद्ध भत्ताका लागि बोलाएका थियौं। घुँडाका कारण आउन सक्दिन भनेर आउनु भएन,’ वडा कार्यालयका एक कर्मचारीले भने।

गोरखामा पनि विनोदको घर छ। गोरखा नगरपालिका-६ तीनधारेमा अहिले पनि विनोदको पुर्खोली घर छ। गोरखा बसपार्कमा ५/६ तले घर छ।

‘उहाँले गोरखामा पाँच तले घर छ, रकम दिएर २४ प्रतिशतले ब्याज लिने गरेको छु, घर भाडा र कमाइको पैसा हो भन्नु भएको थियो,’ काठमाडौं महानगरपालिका-२६ का वडा सदस्य बाबुकाजी महर्जनले भने। वडा सदस्य महर्जन मंगलबार प्रहरीले छापा मार्दा जनप्रतिनिधिका तर्फबाट उपस्थित थिए।

विनोद श्रेष्ठको घर

विनोदका तीन छोरा र एक छोरी छन्। एक जनाको काठमाडौंमा नै सवारीसाधनको रिकन्डिसन ग्यारेज रहेको प्रहरीले जानकारी दिएको छ। दुई छोराले भने छुट्टिएर आ-आफ्नो व्यवहार गर्दै आएका छन्।