लन्डन। जब पप ग्रुप र रक ब्यान्डहरूले अभ्यास वा प्रस्तुति गर्छन्, उनीहरू गिटार, कीबोर्ड र ड्रमस्टिकमा भर पर्छन्। आफैं बजाउँछन्, गाउँछन् र रेकर्ड गर्छन्। तर ‘इमोलिभर’ भन्ने नाममा काम गर्ने बेलायती एआई संगीत सर्जक ओलिभर म्याक्क्यान आफ्ना गीत बनाउन च्याटबोट प्रयोग गर्छन्।
म्याक्क्यानका गीतहरू इन्डी-पपदेखि इलेक्ट्रो-सोल र कन्ट्री र्यापसम्म फैलिएका छन्। तर उनकै भनाइमा यहाँ पुराना विधि पछ्याइरहेका संगीत सर्जक र उनमा एउटा ठूलो फरक छ। ‘मसँग कुनै संगीत प्रतिभा छैन,’ उनले भने, ‘म गाउन सक्दिनँ, वाद्य यन्त्र बजाउन सक्दिनँ, र सांगीतिक क्षेत्रमा मेरो कुनै पनि छैन।’
३७ वर्षीय म्याक्क्यानको पृष्ठभूमि भिजुअल डिजाइनमा छ। एआईले आफ्नो सिर्जनशीलतालाई बढाउन र आफ्ना गीतहरूलाई जीवन्त बनाउन सक्छ कि भनेर उनले प्रयोग गर्न थाले। गत महिना जब उनको एउटा गीतले ३० लाख स्ट्रिम्स पायो, उनले स्वतन्त्र रेकर्ड लेबल हलवुड मिडियासँग सम्झौता गरे। यसलाई एआई संगीत सिर्जनाकर्तासँग गरिएको पहिलो रेकर्ड सम्झौता मानिएको छ।
म्याक्क्यान जस्तै च्याटजीपीटी शैलीका एआई गीत निर्माण उपकरणहरू, जस्तै सुनो र उडियोले कृत्रिम संगीतको ठूलो लहर ल्याएका छन्। यो प्रवृत्तिलाई काल्पनिक ब्यान्ड भेल्भेट सनडाउनले अझ चर्चित बनायो, जसका सबै गीत, बोल र एल्बम आर्ट एआईद्वारा सिर्जित थिए।
यसले एआईको संगीत भूमिकामा बहस मात्रै बढाएन, ‘एआई स्लप’ कम गुणस्तरीय, अत्यधिक उत्पादन भएको सामग्रीको डर पनि बढायो। साथै यसले संगीत बनाउने प्रक्रियालाई लोकतान्त्रिक बनाउन खोज्ने तर उद्योगलाई अव्यवस्थित पार्ने एआई गीत निर्माण प्रविधिलाई पनि केन्द्रमा ल्यायो।

विशेषज्ञहरूको भनाइमा जेनेरेटिभ एआईले संगीत संसारलाई रूपान्तरण गर्नेछ। तर २९.६ अर्ब डलरको विश्वव्यापी रेकर्डेड संगीत बजार (जसको लगभग २० अर्ब स्ट्रिमिङबाट आउँछ) मा यसको असरबारे अझै स्पष्ट तथ्यांक छैन।
सर्वाधिक भरपर्दो तथ्यांक डीजरबाट आएको छ, जसका अनुसार हरेक दिन अपलोड हुने गीतमध्ये १८ प्रतिशत पूर्ण रूपमा एआईद्वारा सिर्जित छन्। तर ती गीतहरू कुल स्ट्रिम्समा नगण्य छन्, जसले देखाउँछ कि धेरै मानिसहरूले एआई गीत अझै सुन्दै छैनन्।
स्पोटिफाइ जस्ता ठूला प्लेटफर्महरूले भने कुनै तथ्याङ्क सार्वजनिक गरेका छैनन्। ‘उडियो’ले प्रयोगकर्ताको संख्या र सिर्जित गीतबारे टिप्पणी गर्न अस्वीकार गर्यो। ‘सुनो’ले पनि जवाफ दिएन। यी दुवै सेवामा निःशुल्क संस्करण र प्रिमियम संस्करण छन्, जसमा उन्नत मोडेलहरू प्रयोग गर्न पाइन्छ।
‘यो पूर्ण रूपमा विस्फोट हो। यो सुनामी हो,’ ओहायो विश्वविद्यालयको मीडिया आर्ट्स एन्ड स्टडिज स्कूलका निर्देशक जोश एन्तोनुसियोले भने, ‘एआईद्वारा सृजित संगीत विस्फोटक रुपमा बढ्नेछ।’
तर एआईको यस क्षमताले संगीत जगतलाई दुई भागमा विभाजन गरेको छ। धेरै संगीतकार र उद्योग समूहहरूले आफ्नो रेकर्डेड कार्य एआई मोडेललाई प्रशिक्षण दिन प्रयोग भएको भन्दै आपत्ति जनाएका छन्।
ठूला रेकर्ड कम्पनीहरू सोनी म्युजिक, युनिभर्सल म्युजिक ग्रुप र वार्नर रेकर्डसले गत वर्ष सुनो र उडियोविरुद्ध प्रतिलिपि अधिकार उल्लंघनको मुद्दा हाले। जुनमा कलाकारहरूलाई कसरी भुक्तानी दिने भन्नेबारे नियम बनाउन छलफल सुरु भएको खबर छ।
जर्मनीको जेमा नामक रोयल्टी कलेक्शन सोसाइटीले पनि सुनोविरुद्ध मुद्दा हालेको छ, जसमा ‘माम्बो नम्बर फाइभ’ र ‘फरएभर यङ’ जस्ता गीतसँग मिल्दोजुल्दो संगीत बनाएको आरोप छ।
एक हजारभन्दा बढी संगीतकार, जस्तै केट बुश, एनी लेनोक्स र डेमन अल्बार्नले मौन एल्बम रिलिज गरेर यूकेमा एआईसम्बन्धी कानुनी परिवर्तनको विरोध गरे। तर अन्य कलाकारहरू, जस्तै वील आइएम, टिम्बाल्यान्ड र इमोजेन हिप भने यस प्रविधिलाई अपनाउँदैछन्।
केही प्रयोगकर्ताले भने यसलाई अटो-ट्युन, ड्रम मेसिन र सिन्थेसाइजरजस्ता प्रविधि आउँदा उठेका पुराना बहससँग तुलना गरेका छन्।
पोर्टल्यान्ड, ओरेगनका स्कट स्मिथले भने, ‘मलाई यो अन्य उपकरण जस्तै लाग्छ। तपाइँलाई थाहा छैन, तर प्रोड्युसरहरूका हातमा पहिल्यै धेरै प्रविधि छन्।’
म्याक्क्यान र स्मिथ दुवैको खास वाद्य सीप छैन। तर उनीहरूले गीतलाई राम्रो बनाउन धेरै समय खर्च गर्छन्। स्मिथका अनुसार बोल लेख्न १० मिनेट लाग्छ तर गीतलाई आफ्नो दृष्टि अनुरूप बनाउन ८–९ घण्टा लाग्छ।
म्याक्क्यानले पनि एउटा गीत बनाउन १०० भन्दा बढी संस्करणहरू बनाउँछन्।
अनुभवी प्रयोगकर्ताले भने बोल आफैं लेख्न रुचाउँछन्, किनकि एआईद्वारा बनाइएका बोलहरू सामान्यतया धेरै सामान्य र अप्ठ्यारा लाग्छन्।
फिलाडेल्फियाका लुकास राम्सले भने, एआईका बोलहरू ‘अत्यधिक क्लिच र दोहोरिने’ हुन्छन्। तर उनले एआईलाई गीत लेख्ने सुरुवात गर्न उपयोगी भनेका छन्।
राम्सले स्लिपिङ वीथ वोल्भस् नामक एआई ब्यान्डका लागि तीनवटा एल्बम बनाएका छन्। उनी अब युट्युब र अन्य प्लेटफर्ममा गीतहरू राख्ने योजनामा छन्।
विशेषज्ञहरू भन्छन्, एआईले गीत बनाउन सजिलो बनाएको छ, जसले हिट गीत बनाउनुपर्ने पुरानो लागत र समयलाई समाप्त गर्दैछ। तर कानुनी अनिश्चितताका कारण अहिले यो क्षेत्र ‘वाइल्ड वेस्ट’ जस्तै छ।
म्याक्क्यान भन्छन्, ‘अब कोही पनि, जहाँ पनि अर्को ठूलो हिट बनाउन सक्छ। एआईलाई संगीत कला रूपमा स्वीकार गर्न थाल्दा चार्टमा एआई संगीत देख्न सकिन्छ।’ (एपी)