काठमाडौं। आर्थिक शिथिलता र त्यसले कर्जा असुली प्रभावित हुँदा वाणिज्य बैंकहरुको रिटर्न अन इक्विटी अर्थात पुँजीमा प्रतिफल (आरओई)मा निरन्तर गिरावट आएकामा यसपालि सुधार देखिएको छ। पछिल्ला तीन वर्ष निरन्तर घटेको आरओईमा गत वर्ष केही सुधार देखिएको हो।
आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुको औसत आरओई १४.०८ प्रतिशत रहेकामा आर्थिक वर्ष २०८०/८१ मा ७.७७ प्रतिशतमा झरेको थियो। गत आर्थिक वर्ष २०८१/८२ मा यस्तो रेसियो १.७१ प्रतिशत विन्दुले सुधार भइ ९.९७ प्रतिशत पुगेको छ।
नियामकीय सहुलियतसँगै बैंकहरुको खर्च घट्दा प्रतिफलमा सुधार आएको बैंकरहरु बताउँछन्।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाका लागि गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था १.३३ प्रतिशतलाई १ प्रतिशतमा झारेको छ।
साथै, घटाउँदै आएको निक्षेपको ब्याजदरले ब्याज खर्च घट्दा त्यसले आरओईमा सुधार भएको बैंकरहरुको भनाइ छ।
गत वर्ष बैंकहरुको कर्जा नोक्सानी ३० अर्ब ९३ करोड रुपैयाँ तथा ब्याज खर्च ९० अर्ब ११ करोडले घटेको छ।
प्रभु बैंकका डेपुटी सीइओ मणिराम पोखरेल कर्जा नोक्सानीमा सुधारका साथै ब्याज खर्च घट्दा आरओई बढेको बताउँछन्।
‘अघिल्ला वर्षहरुमा खराब कर्जा बढेर कर्जा नोक्सानी थपिंदै गइरहेको थियो। आम्दानीको तुलनामा खर्च धेरै हुँदा त्यसले प्रतिफल खुम्चिरहेको थियो,’ उनले भने, ‘राष्ट्र बैंकले दिएको सुविधासँगै असुलीमा केही सुधार भएको छ। जसले गर्दा पुँजीको प्रतिफल केही बढेको छ।’
आर्थिक वर्ष २०७८/७९ मा प्रभु बैंकको आरओई १३.८० प्रतिशत रहेकामा त्यसपछि निरन्तर खुम्चिएर २०८०/८१ मा १.५९ प्रतिशतमा झरेको थियो। गत वर्ष कर्जा नोक्सानी राइट ब्याक भएर नाफा उच्च दरले बढेसँगै आरओइ १४.९५ प्रतिशत पुगेको छ।
गत वर्ष ११ वटा वाणिज्य बैंकको आरओई बढेको छ।
प्रभु बैंकपछि नेपाल बैंकको आरओई १०.१४ प्रतिशत विन्दुले सुधार भएको छ। यस्तै कुमारी बैंकको ५.६७, माछापुच्छ्रेको ४.६३, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.२७, एनएमबिको २.२६ र राष्ट्रिय वाणिज्य बैंकको २.२५ प्रतिशत विन्दुले आरओई बढेको छ।
२०७७/७८ मा वाणिज्य बैंकहरुको औसत आरओई २० प्रतिशत नजिक थियो। अहिले नियामकीय सहुलियतसँगै व्यवसायमा सुधारका कारण आरओई बढेको अर्का एक बैंकरले बताए।
‘अघिल्लो वर्षको तुलनामा बैंकहरु व्यवसाय बढाउन सफल भएका छन। निक्षेपको ब्याजदर घटाउँदा लागत कम भएको छ,’ ती बैंकरले भने, ‘कर्जाको ब्याजदर घटेर ऋणीको लागत घटेर ऋण तिर्ने क्षमता बढेको छ। त्यसकारण अहिले आरओई केही सुधार भएको छ।’
गत वर्ष बैंकहरुको कर्जा लगानी ८.८३ प्रतिशतले बढाएका छन्। अघिल्लो वर्ष यस्तो वृद्धि ६ प्रतिशतमा सीमित थियो।
९ वटा वाणिज्य बैंकको आरओई भने खुम्चिएको छ। स्टान्डर्ड चाटर्ड बैंकको ४.८१, नेपाल एसबिआइको २.४५, एनआइसी एसियाको १.८८, सानिमा बैंकको १.२१ र ग्लोबल आइएमई बैंकको १.४९ प्रतिशतले आरओई खुम्चिएको हो।
सेयरधनीले बैंकमा गरेको कुल लगानीको प्रतिफललाई आरओई भनिन्छ। आरओई घट्नु भनेको सेयरधनीले पाउने प्रतिफल खुम्चिनु हो। सञ्चालनमा रहेका सबै वाणिज्य बैंकको चुक्ता पुँजी १० अर्ब रुपैयाँभन्दा माथि छ।
पूर्वबैंकर रत्नराज बज्राचार्य बैंकहरुको लागत घटेर आम्दानी बढेका कारण आरओईमा थोरै सुधार देखिएको बताउँछन्।
‘बैंकहरुको कस्टअफ फण्ड घटेको छ। व्यवसाय केही सुधार हुँदा फी आम्दानी बढेको छ। नियामकीय सुविधाले कर्जा नोक्सानी घटाएका छन्,’ उनले भने, ‘लागत घटेर नाफा बढ्दा त्यसको प्रभाव आरओईमा देखिएको हो। तर, पुँजीको तुलनामा आइओई धेरै नै कम छ।’
वाणिज्य बैंकहरुको आरओईको अवस्था
| वाणिज्य बैंक | २०८१/८२ | २०८०/८१ | २०७९/८० | २०७८/७९ |
| कृषि विकास | ११.८८% | ८.७२% | ९.९६% | ८.६६% |
| सिटिजन्स | ५.८१% | ६.५२% | ११.५९% | १२.२४% |
| एभरेष्ट | १६.४४% | १५.३७% | १३.३१% | १२.६४% |
| ग्लोबल आइएमई | ९.६१% | ११.१०% | १४.१०% | १३.८०% |
| हिमालयन | ४.०६% | ३.५०% | १०.०२% | १२.८३% |
| कुमारी | ५.६८% | ०.०१% | ५.६१% | १४.७३% |
| लक्ष्मी सनराइज | ९.५८% | ७.७७% | ६.४०% | १२.५७% |
| माछापुच्छ्रे | ११.१३% | ६.५०% | १२.७९% | १६.९१% |
| नबिल | ११.६४% | ११.८१% | १४.८९% | १०.४४% |
| नेपाल | १०.२२% | ०.०८% | १०.२९% | १०.०४% |
| नेपाल इन्भेष्टमेन्ट मेगा | १०.६०% | ७.३३% | ७.९७% | १३.८०% |
| नेपाल एसबिआइ | ९.०१% | ११.४६% | १३.७६% | १०.५९% |
| एनआईसी एसिया | ०.५५% | २.४३% | १८.६१% | २१.९४% |
| एनएमबि | १०.६६% | ८.४०% | १३.५३% | १५.७५% |
| प्रभु | १४.९५% | १.५९% | ९.१४% | १३.८०% |
| प्राइम कमर्सियल | १२.५१% | १२.९२% | ८.६५% | १५.४२% |
| राष्ट्रिय वाणिज्य | ७.६०% | ५.३५% | १०.०१% | १८.४५% |
| सानिमा | ११.७३% | १२.९४% | १५.६३% | १५.४८% |
| सिद्धार्थ | ११.५२% | १२.३३% | १४.३२% | १७.२२% |
| स्टान्डर्ड चाटर्ड | १४.१८% | १८.९९% | २१.१७% | १४.३३% |
| औसत | ९.९७% | ७.७७% | १२.०९% | १४.०८% |