काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी गरिरहँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फेरि बहसमा आएको छ।
सञ्चालनमा आएको तीन वर्ष नाघिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान अभावमा भैरहवा क्षेत्रका होटल व्यवसायमा गरेको लगानी नै डुब्ने अवस्था निम्तिंदा ओलीले भदौ अन्तिममा भारतको बोधगयामा गर्न लागेको भ्रमणलाई लिएर गौतमबुद्ध विमानस्थललाई फेरि बहसमा ल्याइएको हो।
वायुसेवा प्रदायक कम्पनीहरुले यात्रु अभावमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न नमानिरहेका बेला कतिपय व्यवसायीले विमानस्थल चलाउनका लागि बोधगया एउटा विकल्प हुन सक्ने बताएका छन्। व्यवसायीलाई भैरहवाका स्थानीय जनप्रतिनिधिले पनि साथ दिएका छन्।
उनीहरुले भैरहवा-बोधगया उडानलाई आफ्नो एजेण्डामा राख्न ओलीको ध्यानाकर्षण समेत गराइसकेका छन्। यसका लागि ओलीले त्रिभुवन विमानस्थलको साटो भैरहवा विमानस्थल प्रयोग गर्दा सकारात्मक सन्देश जाने बताएका छन्।
बोधगया जाँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न आग्रह गर्दै भैरहवाका व्यवसायी र जनप्रतिनिधिले ओलीलाई पत्र नै पठाएका छन्। सिद्धार्थनगरका मेयर इश्तियाक अहमद खाँको संयोजकत्वमा गठित गौतम बुद्ध विमानस्थल नियमित सञ्चालन संघर्ष समितिले ओलीलाई इमेल गरेको हो।
‘सम्माननीय प्रधानमन्त्रीज्यू बोधगया जाँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न विशेष आग्रह छ। विमानस्थल सञ्चालनका लागि कुटनीतिक पहल गर्न समेत आग्रह छ,’ ओलीलाई इमेलमा भनिएको छ।
बोधगया र लुम्बिनी बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल भएकाले भैरहवाबाट गयामा सीधा उडान गर्दा पर्यटन प्रवर्धनमा सहयोग पुग्ने व्यवसायीहरुको भनाइ छ। क्षेत्रीय सिद्धार्थ होटल संघका अध्यक्ष सीपी श्रेष्ठले भैरहवा-गया उडानले लुम्बिनीमा पर्यटकको संख्या बढ्ने बताए।

‘भैरहवामा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भयो भनेर व्यवसायीले होटलमा लगानी खन्याए। तर, विमानस्थल सञ्चालनमा आएको तीन वर्ष वितिसक्दा पनि नियमित उडान हुन सकेको छैन। जसले गर्दा व्यवसाय चौपट भएको छ। ऋणको किस्ता तिर्न सक्ने अवस्था छैन। सरकारले अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक वातावरण नै तयार पारेन,’ श्रेष्ठले भने, ‘भैरहवालाई चलायमान बनाउने एउटा आधार गयामा सीधा उडान पनि हो। गयाबाट भारतीयका साथै अरु देशका पर्यटक पनि ल्याउन सकिन्छ।’
गयामा थाइल्याण्ड, भुटान, म्यानमार लगायत देशका बौद्धमार्गीहरु आउने गरेका छन्।
लुम्बिनीमा जन्मिएका गौतम बुद्धले भारतको बोधगयामा ज्ञान प्राप्त गरेका थिए। बौद्ध धर्मावलम्बीहरुले लुम्बिनी र बोधगयाका अलावा सारनाथ र कुशीनगरलाई पनि उत्तिकै महत्व दिने गरेका छन्। सारनाथ र कुशीनगर पनि भारतमै पर्छन्।
नेपाल एसोसियसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनीका अध्यक्ष चन्द्रबहादुर थापाले बोधगयामा भैरहवाबाट उडान गर्न सके लुम्बिनीमा पर्यटकका संख्या बढाउन सकिने बताए।
‘गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा धेरैजसो बौद्धमार्गी पर्यटक भारत जाने गरेका छन्। बोधगयालाई हवाई उडानले जोड्ने हो भने उनीहरुलाई नेपाल ल्याउन सकिन्छ,’ थापाले भने, ‘बौद्धमार्गीले सुरुमा आउन चाहने भनेको गौतम बुद्धको जन्मस्थल नै हो। तर, हामीसँग भैरहवामा अन्तर्राष्ट्रिय उडान नै भएन। त्यसैले जसरी पनि अन्तर्राष्ट्रिय उडान नियमित हुनुपर्छ।’
लुम्बिनीबाट बोधगया ६०० किलोमिटरको दूरीमा छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले पनि बोधगयालाई हवाइ उडानले जोडेर लुम्बिनीमा पर्यटनको संख्या बढाउन सकिने बताए।
‘विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा हामीलाई पनि राम्रो लागेको छैन। पहल गर्ने काम सरकारको हो,’ उनले भने, ‘प्रधानमन्त्रीले गौतम बुद्ध एयरपोर्टबाट बोधगया जाँदा उडानको बाटो खुल्ने छ। दुई देशका बौद्ध धर्मावलम्बीलाई भैरहवा-गया उडानले जोड्न सकिन्छ। त्यसो भए हाम्रो विमानस्थल पनि केही हदसम्म चल्छ। भैरहवाका होटलले पनि काम पाउँथे।’
प्रधानमन्त्री ओली बोधगयामा भैरहवाबाट जाँदा उडानका लागि बाटो खुल्ने भैरहवा-गया सीधा उडानले होटल व्यवसायमा ठूलो राहत पुग्ने व्यवसायीहरुको भनाइ छ।

भैरहवामा अहिले नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसाय अभावमा ऋण तिर्न नसकेपछि कतिपय होटल लिलामीमा गएका छन्। व्यवसायीहरुका अनुसार ८ वटा होटल बैंकले आफ्नो नाममा लिइसकेका छन्।
अन्तर्राष्ट्रिय उडान नभएर भैरहवा क्षेत्रको होटल व्यवसाय चौपट भएको विषयमा सरकारलाई पनि जानकारी छ। तर, विमानस्थल चलाउनका लागि भने सरकारको पटक्कै ध्यान देखिंदैन। सरकारका मन्त्रीहरु कार्ययोजनाका नाममा छलफल गर्नमै सीमित छन्। सरकारले एक वर्षअघि आफैं बनाएको कार्ययोजना कार्यान्वयन गरेको छैन।
व्यवसायी र स्थानीय जनप्रतिनिधिले बोधगया जाँदा प्रधानमन्त्रीले भैरहवाबाट उडान गर्नुपर्ने आवाज उठाइरहँदा यस विषयमा सरकारका तर्फबाट अहिलेसम्म कुनै तयारी छैन।
नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का प्रवक्ता ज्ञानेन्द्र भुलले प्रधानमन्त्रीले गौतम बद्ध विमानस्थल प्रयोग गर्ने बारेमा आफूहरुलाई कुनै जानकारी नरहेको बताए।
भैरहवाबाट गयामा उडान गर्न सम्भव छ। तर यी दुई गन्तव्यलाई जोड्ने विषयमा छलफल भएको छैन। प्रधानमन्त्रीले भारत जाँदा भैरहवा विमानस्थल प्रयोग गर्ने तयारी भए जस्तो लाग्दैन। यसबारेमा अहिलेसम्म हामीलाई जानकारी छैन,’ उनले भने
प्रधानमन्त्री ओली बोधगयामा भैरहवा हुँदै गए हवाई रुट पाउन सहज हुने क्यानको बुझाइ छ। क्यानले हवाई रुटका लागि भारतसँग कुरा गर्न आग्रह गरे पनि राजनीतिक नेतृत्वले सुनेको नसुने झैं गर्दै आएको छ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि हवाई रुटको विषयमा कुरा उठाउने बताएका छन्। ‘यो विषयलाई प्रधानमन्त्रीज्यूको आसन्न भ्रमणमा महत्वसाथ उठाइने छ। भैरहवाबाट भारतका विभिन्न गन्तव्यमा उडानको सम्भाव्यताको विषयमा पनि कुरा गर्नेछौं,’ उनले भने।
प्रधानमन्त्री ओली भदौ ३१ गते दुई दिनका लागि भारत जाने तयारी छ। भारतीय विदेशसचिव विक्रम मिश्रीले भदौ १ गते काठमाडौं आएर ओलीलाई भ्रमणको निम्तो दिएका छन्। अहिलेसम्म भ्रमण तालिका भने सार्वजनिक गरिएको छैन।