काठमाडौं। संघीय निजामती विधेयकमा प्रतिनिधि सभाले गरेको व्यवस्था राष्ट्रिय सभाले उल्ट्याएको छ। प्रतिनिधि सभाले सहसचिवको पदपूर्ति सम्बन्धी व्यवस्था उल्ट्याएको हो।
प्रतिनिधि सभाले सहसचिवमा खुला प्रतिस्पर्धा गर्न रोक लगाएकामा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले रिक्त पदको १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी विधेयक संशोधन गर्ने सहमति जुटाएको छ।
समितिले बुधबार विधेयकमाथि दफाबार छलफलका क्रममा सहसचिवको पदपूर्ति गर्न अन्तर तह प्रतियोगिताका लागि १५ बाट १० र बढुवाका लागि ८५ बाट ८० प्रतिशतमा झार्ने सहमति गरेको छ। सरकारले पनि सहसचिवको पदपूर्तिमा खुला प्रतिस्पर्धाका लागि १० प्रतिशत छुट्याउन प्रस्ताव गरेको थियो।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले कर्मचारीहरु कामै नगरी लोकसेवाको तयारीमा लाग्न थालेको भन्दै सहसचिवमा खुला प्रतिस्पर्धा हटाउने निर्णय गरेको थियो।
नायब सुब्बामा खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने/नराख्ने विषयमा समितिमा विवाद छ। प्रतिनिधि सभाले सरकारको प्रस्ताव अनुसार बढुवाबाट मात्र नायब सुब्बाको पदपूर्ति गर्ने प्रस्ताव स्वीकार गरेको थियो।