काठमाडौं। ब्याजदर निरन्तर घटेपछि बैंक तथा वित्तीय संस्थामा निक्षेपको ढाचा फेरिन थालेको छ। तरलता बढेका कारण बैंक तथा वित्तीय संस्थाले लागत कम गर्न ब्याजदर घटाएपछि यस्तो भएको हो। निक्षेपकर्ताले छोटोभन्दा लामो अवधिको मुद्दतीतर्फ ध्यान दिन थालेका छन्।
यसले बैंक तथा वित्तीय संस्थाहरुमा रहेको ‘सर्ट टर्म’ फण्ड ‘लङ टर्म’का लागि सिफ्ट हुन थालेको छ। निक्षेप बढेर ब्याजदर घट्दा पनि कर्जा लगानीमा सुधार हुन नसकेका कारण निक्षेपको ब्याजदर थप घट्ने देखिएपछि अल्पकालीन निक्षेप दीर्घकालीनमा सिफ्ट हुन थालेको हो।
पछिल्लो एक महिनामा मात्रै ३ देखि ६ महिना अवधिको १ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप सिफ्ट भएको छ। गत जेठ मसान्तमा ३ देखि ६ महिना अवधिको मुद्दती निक्षेप ७ खर्ब ३४ अर्ब रहेकामा असार मसान्तमा आइपुग्दा ५ खर्ब ५७ अर्बमा झरेको छ।
सोही अवधिमा १ वर्षभन्दा बढी अवधिको मुद्दतीमा १ खर्ब ७ अर्ब रुपैयाँ थपिएको छ। जेठसम्म परिपक्व भएको मुद्दतीको रकम अल्पकालीनमा जाने गरेको स्थिति थियो।
तर, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएसँगै छोटो अवधिको मुद्दती परिपक्व भएपछि दीर्घकालीनमा सिफ्ट हुन थालेको छ। अधिक तरलता कारण निक्षेपको ब्याजदर बढिहाल्ने नदेखिएपछि निक्षेपकर्ताले अल्पकालीन प्रकृतिको निक्षेप परिपक्व भएपछि दीर्घकालीन प्रकृतिको निक्षेपमा सिफ्ट गर्न थालेको बैंकरहरु बताउँछन्।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देवेन्द्ररमण खनाल अधिक तरलताका कारण ब्याजदर बढिहाल्ने नदेखिएपछि ‘सर्ट टर्म’ फण्ड ‘लङ टर्म’मा सिफ्ट भइरहेको बताउँछन्।
‘घट्दो ब्याजदरका कारण निक्षेपकर्ताले दीर्घकालको मुद्दती परिपक्व भएपछि ब्याजदर बढिहाल्छ भन्ने लागेर अल्पकालीन अवधिका लागि पैसा राखिरहेका थिए,’ उनले भने, ‘तर निरन्तर निक्षेप बढिहे पनि कर्जा लगानी सुस्त हुँदा ब्याजदर थप घट्ने देखिएपछि उनीहरु अहिले सर्ट टर्मबाट सिफ्ट हुन थालेका छन्।’
अल्पकालीन मुद्दतीको ब्याजदर २.७५ प्रतिशतमा झरेपछि निक्षेपकर्ताहरु निरुत्साहित भएका छन्।
‘पछिल्लो दुइ वर्षयता बैंकिङ प्रणालीमा तरलता निरन्तर थपिंदै गइरहेको छ। कर्जा लगानी सुस्त छ,’ खनालले भने, ‘तरलता थुप्रिनु भनेको लागत बढ्नु हो। लागत कम गर्न ब्याजदर घटाउनै पर्यो। यसले गर्दा निक्षेपकर्ताहरु बढी प्रतिफलका लागि दीर्घकालीन मुद्दतीमा सिफ्ट भए।’
न्यून मुद्रास्फीति र घट्दो ब्याजदरले पनि कर्जा लगानी बढ्न नसकेपछि राष्ट्र बैंकले उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्न भन्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुमा ७ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। अघिल्लो असारमा ५६ खर्ब ३५ अर्ब रहेको कूल निक्षेप गत असार मसान्तमा आइपुग्दा १३.४८ प्रतिशतले बढेर ६५ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ।
वाणिज्य बैंकहरुको कर्जा लगानी भने ८.८३ प्रतिशतले बढेर ४९ खर्ब ७५ अर्ब पुगेको छ। कर्जाको तुलनामा निक्षेप संकलन वृद्धिदर धेरै हुँदा बैंकिङ प्रणालीमा तरलता थपिंदै गएको छ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेल अल्पकालीन निक्षेप दीर्घकालीन अवधिमा सिफ्ट हुनुलाई सकारात्मक मान्छन्।
‘हिजो ११ प्रतिशतमा फिक्स्ड डिपोजिट गरिरहेका थिए। त्यो अहिले परिपक्व भयो। नवीकरण गर्न ब्याजदर निकै तल झरेको छ,’ उनले भने, ‘हिजोसम्म ब्याजदर बढिहाल्छ कि भन्ने सोचेर थोरै ब्याज भए पनि छोटो अवधिको मुद्दतीमा पैसा राखिरहेका थिए। राष्ट्र बैंकले नीतिगत दर घटाए ब्याजदर घटाउने नीति लिएपछि निक्षेपकर्ता थोरै बढी ब्याज पाउने लामो अवधिको मुद्दतीमा सिफ्ट हुन थालेका हुन्।’
कम ब्याजदरमा लामो अवधिको फण्ड जम्मा हुँदा त्यसले कर्जाको ब्याजदर पनि बढ्न नदिने उनको भनाइ छ।
‘बैंकहरुले ५/६ प्रतिशतमा लामो अवधिको निक्षेप लिन सके भने त्यसमा केही प्रिमियम जोडेर कर्जा दिन्छन्। त्यसले बैंकहरुसँग दीर्घकालीन फण्ड हुनुका साथै लागत कम हुँदा कर्जा ब्याजदर समेत सस्तो हुन्छ,’ पौडेलले भने।
ब्याजदर न्यून भएका बेलामा बैंकहरु भने दीर्घकालीन निक्षेपको खोजीमा हुन्छन्। सस्तो ब्याजदरमा लामो अवधिको निक्षेप उठाउने बैंकहरुको रणनीति नै हो।
अहिले ‘सर्ट टर्म’ मुद्दतीको ब्याजदर २.७५ प्रतिशतमा झरेको छ भने दुई वर्ष माथिको औसत ब्याजदर ५.६० प्रतिशत छ।