काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका विषयमा अन्य दुई विभागीयमन्त्री लगायतसँग छलफल गरेका छन्।
उनले मंगलबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योगमन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी लगायतलाई बोलाएर दुई विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि चाल्नुपर्ने उपायका विषयमा छलफल गरेका हुन्।
सरकारले ती दुई विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि एक वर्षअघि नै कार्ययोजना बनाएको थियो। तर सरकारले आफैं बनाएको कार्ययोजना कार्यान्वयन गरेको छैन। विमानस्थलमा यात्रु नपाएका कारण वायुसेवा प्रदायक कम्पनीहरुले उडान गर्न मानेका छैनन्।