काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कर्मचारीको सरुवामा विभागीय सचिव र मन्त्रीका अलावा बालुवाटार र बुढानीलकण्ठले नै अस्वाभाविक चासो दिएका छन्।
प्राधिकरणका विभिन्न वितरण केन्द्र र आयोजना प्रमुखको सरुवामा बालुवाटार र बुढानीलकण्ठले रुची देखाएपछि कर्मचारीहरु पनि काम छोडेर शक्ति केन्द्रमा धाउन थालेका छन्।
विभिन्न वितरण केन्द्रका हाकिमहरु घरपायक सरुवाका लागि काठमाडौं आएर शक्ति केन्द्रमा धाउन थालेका हुन्। प्राधिकरण स्रोतका अनुसार बालुवाटार र बुढानीलकण्ठले कर्मचारी सरुवाको मोडालिटी तयार पारेको छ।
वितरण केन्द्रमार्फत मतदातालाई प्रभावित पार्न सक्ने बुझाइमा बालुवाटार र बुढानीलकण्ठले सरुवामा चासो राखेर मोडालिटी नै बनाएको स्रोतले बतायो।
‘२०८४ को चुनावलाई लक्षित गरी कांग्रेस र एमालेले वितरण केन्द्रमा आफू अनुकूलका कर्मचारी सरुवा गर्न चाहेका छन्। वितरण केन्द्रमार्फत ट्रान्सफर्मर वितरण र अरु गतिविधिमार्फत मतदाता रिझाउन सक्ने बुझाइमा कांग्रेस र एमालेको नेतृत्वले सरुवामा चासो दिएको हो,’ स्रोतले भन्यो, ‘वितरण केन्द्रमा आफ्नो पार्टी निकटका कर्मचारी सरुवा गर्ने गरी मापदण्ड नै बनाउने काम भएको छ।’
यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङले वितरण केन्द्रको प्रमुखमा माओवादी केन्द्र निकटलाई प्राथमिकता दिएको बुझाइका कारण पनि अहिले बालुवाटार र बुढानीलकण्ठले बढ्ता चासो दिएको प्राधिकरणका उच्च अधिकृतहरुले बताए।
‘कुलमान सर एमडी हुँदा कुन ठाउँमा कसलाई जिम्मेवारी दिँदा नतिजा आउँछ भन्ने हेरिन्थ्यो। तर, अहिलेका एमडीलाई सचिव र मन्त्रीका अलावा बालुवाटार र बुढानीलकण्ठबाट धेरै नै प्रेसर छ,’ प्राधिकरणका एक उच्च अधिकृतले भने।
दुई शक्ति केन्द्रले बनाएको मोडालिटीअनुसार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र ऊर्जामन्त्री दीपक खड्काले सरुवाको सूची तयार पारिरहेका छन्।

प्राधिकरणले १२९ वटा वितरण केन्द्र र विभिन्न आयोजनाका प्रमुखको सरुवा गर्दैछ।
कर्मचारीको सरुवा सूची तयार पारिरहेका हितेन्द्रदेवलाई परराष्ट्रमन्त्री डा. आरजु राणाले सोमबार मन्त्रालयमा बोलाएर छलफल गरेकी थिइन्। आरजुले हितेन्द्रलाई ऊर्जा मन्त्रालयमा बोलाएको विषयमा ऊर्जामन्त्री खड्कालाई जानकारी थिएन।
सरुवामा विभागीय मन्त्रीका अलावा बालुवाटार र बुढानीलकण्ठ हावी हुन खोजेपछि कतिपय वितरण केन्द्रका प्रमुखहरु केही दिनयता काठमाडौंमा छन्। खासगरी मधेश र कोशी प्रदेशका वितरण केन्द्रका प्रमुखहरु घरपायक सरुवाका लागि राजनीतिक शक्ति केन्द्रमा धाइरहेको प्राधिकरण स्रोतले बतायो।
‘केही दिनयता कतिपय वितरण केन्द्रका प्रमुखहरु काठमाडौंमै छन्। को कहिले आयो भन्ने मिति यकिन छैन। साथीहरुले कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकलाई भेटिरहनुभएको छ। मन्त्रीदेखि अरु नेताकहाँ पुगेको पनि हामीले सुनिरहेका छौं,’ प्राधिकरण स्रोतले भन्यो, ‘सबैको चाहना बेलामा आफूलाई सहज हुने र घरपायक पर्ने ठाउँ होस् भन्ने छ।’
ऊर्जामन्त्री खड्काको सुरु देखि नै चासो
कर्मचारी सरुवामा ऊर्जामन्त्री खड्काले सरु देखि नै अनावश्यक चासो राख्दै आएका छन्। उनले पोहोर भदौ अन्तिममा १४८ कर्मचारीको सरुवाका लागि तत्कालीन कार्यकारी निर्देशक कुलमानलाई सूची दिएका थिए।
कर्मचारीले सरुवा हुन चाहेको कार्यालयसहितको सूची कुलमानले कार्यान्वयन गर्न मानेनन्। कार्यसम्पादन कमजोर कर्मचारीलाई खड्काले महत्वपूर्ण जिम्मेवारी दिन प्रस्ताव गरेको भन्दै कुलमानले अस्वीकार गरेपछि दुई जनाबीचको सम्बन्ध चिसिन पुगेको थियो।
आफूले भनेका कर्मचारीलाई सरुवा नगरेको झोकमा खड्काले कुलमानको अधिकार खोस्न खोजेका थिए। कार्यकारी निर्देशकको अधिकार खोस्नका लागि खड्काले आफैंले नियुक्त गरेका प्राधिकरणका सञ्चालक बलबहादुर पराजुलीको नेतृत्वमा कर्मचारी विनियमावली संशोधनका लागि मस्यौदा तयार गर्न लगाएका थिए।
विनियमावली संशोधनका लागि उपकार्यकारी निर्देशकको नेतृत्वमा समिति बनाउनुपर्ने व्यवस्था रहेको देखाउँदै कुलमानले कानुनी उपचारमा जाने चेतावनी दिएपछि खड्का पराजुलीले तयार पारेको मस्यौदा सञ्चालक समितिमा लानबाट पछि हटेका थिए।
कुलमान चैत ११ गते बर्खास्तगीमा परेपछि कार्यकारी निर्देशक बनेका हितेन्द्रदेवले बहाली गरेकै दिन खड्काले सञ्चालक समितिबाट १० तह र त्यसमाथिका कर्मचारीको सरुवाको अधिकार आफूमा ताने। त्यो निर्णयको ट्रेड युनियनले विरोध गरेपछि खड्काले कार्यान्वयन गर्नबाट पछि हटे।
+++++
कर्मचारी सरुवामा ऊर्जा सचिव सुरेश आचार्यले पनि अनावश्यक चासो देखाएका छन्। उनले कार्यकारी निर्देशक हितेन्द्रदेव र ट्रेड युनियनका नेताहरुलाई मन्त्रालयमा बोलाएर कर्मचारी सरुवामा सहयोग गर्न आग्रह गरेका छन्।
उक्त छलफलमा मन्त्रालयका सहसचिव थिए। मन्त्री त्यो छलफलमा उपस्थिति थिएनन्। उनले ट्रेड युनियनका प्रमुखसँग कर्मचारी सरुवाको अनावश्यक भाजो नहाल्न खुरुखूरु आफ्नो काम गर्न आग्रह गरे।
‘सचिवज्यूले हामीलाई कर्मचारी विनियमावली संशोधन अनुसार सरुवाको काम अब बोर्डले गर्छ, तपाइँहरु विरोध गर्नतिर नलाग्नु भन्नुभयो,’ एउटा कर्मचारी संगठनका अध्यक्षले भने।
यसअघिका ऊर्जा सचिवले सरुवाका विषयमा आफूहरुलाई बोलाएर छलफल गरेको अनुभव प्राधिकरणका ट्रेड युनियनका नेताहरुसँग छैन। सचिव आचार्यले यसै साता अवकाश पाउँदैछन्।