काठमाडौं। नेपाली यू-१७ महिला फुटबल टोली बंगलादेशसँग पराजित भएको छ। भुटानमा जारी प्रतियोगितामा तीन खेल खेल्दा नेपाल दोस्रो पटक पराजित भएको हो। भुटानमा आज सम्पन्न खेलमा बंगलादेशले नेपाललाई ३-० गोलअन्तरले हरायो।
चाङ्लिमिथाङ रंगशालामा सम्पन्न खेलमा बंगलादेशले पहिलो हाफमै दुई गोल गरेको थियो। खेलको ४१ औँ मिनेटमा थुनुए मार्माको गोलमा अग्रता बनाएको बंगलादेशका लागि त्यसको तीन मिनेट नबित्दै सौरभी अकण्डा प्रीतिले अग्रता दोब्बर बनाइन्।
दोस्रो हाफमा रेयाले गोल गर्दै बंगलादेशको सहज जित सुनिश्चित गरिन्। उनले इन्ज्युरी समयमा गोल गरिन्। नेपालले बनाएका राम्रा अवसरमा पनि फिनिसिङमा चुक्दा गोल फर्काउन सकेन।
जारी प्रतियोगितामा तीन खेल खेल्दा नेपालको यो दोस्रो हार हो। यसअघि नेपाल भारतसँग ७-० गोलले पराजित भएको थियो। दोस्रो खेलमा भुटानमाथि ३-२ गोलको पुनरागमन जित निकालेको नेपालले तेस्रो खेलमा फेरि पराजित हुन पुग्यो।
योसँगै ३ खेल खेल्दा ९ अंक बनाएको भारत तालिकाको शीर्षस्थानमा रहँदा ६ खेल बनाएको बंगलादेश दोस्रो र ३ अंक बनाएको नेपाल तेस्रो स्थानमा छन्। अंकविहीन भुटान तालिकाको पुछारमा छ।