काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीसँग फायर भएका छन्।
उनले शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा भण्डारीमाथि पार्टीभित्र गुटबन्दी बढाउन खोजेको आरोप लगाए।
‘पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरुलाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौं,’ उनले भने।
पूर्वराष्ट्रपति भण्डारीले बिहीबारबाट काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय खोलेकी छन्। उनले मदन भण्डारीको ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय खोलेका ओलीले असन्तुष्टि जनाए। उनले कार्यालय खोल्ने तरिका ठिक नभएको बताए।
‘अर्को वर्ष असार १४ गतेको जन्मदिन मनाउनलाई अहिलेदेखि पार्टी कार्यालय खोलेर पार्टीविरुद्ध क्रियाशील हुने, भित्रभित्र क्रियाशील हुने र असन्तुष्ट रहेका त्यस्ता तत्वहरुलाई भेला गरेर जन्मदिन मनाउने भन्नुपर्छ?,’ उनले भने।
कार्यालय उद्घाटनमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल तथा उपाध्यक्षहरु सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली पनि सहभागी भएका थिए।
ओलीले पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरणका लागि निवेदन नै नदिएको दाबी गरे। उनले कर्मचारीलाई झुक्याएर रसिद काटेका भरमा सदस्यता कायम नहुने बताए।
‘खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो। हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन। उहाँले बाहिर बाहिर बोल्नुभएको छ। पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन,’ उनले भने।