काठमाडौं। नाडा अटो शो २०२५ मा बाइक तथा स्कुटर खोज्नेहरूका लागि विकल्प सीमित छ। दुई पांग्रे सवारीका ब्रान्डले न्यून सहभागिता जनाउँदा नाडामा यसका विकल्प कम भएका हुन्।
गत मंगलबार सुरु भएको नाडा अटो शोमा दुई पांग्रे सवारीका ४ वटा ब्रान्डले मात्र सहभागिता जनाएका छन्। जसमा हिरो, यामाहा, जोनसेन र रोयल इन्फिल्ड छनर।
अटो शोमा सहभागिता जनाएका कम्पनीहरूले पनि नयाँ पुस्तालाई लक्षित गरी नयाँ मोडल सार्वजनिक नगर्दा उनीहरू उत्साहित देखिएनन्।

बाइक किन्ने सोचसहित अटो शो अवलोकनका लागि आएका सफल पौडैलले नयाँ मोडलका बाइक नदेख्दा निराश हुनु परेको बताए।
‘पहिले नाडा अटो शोमा बाइकहरू नयाँ-नयाँ र ब्रान्डहरू धेरै हुन्थे। अहिले शोमा बाइकनै छैनन्। पुरानै मोडल मात्र छन्,’ उनले भने, ‘नयाँ मोडल आएपनि देखाउन मात्र ल्याइएका मोडलहरू छन्।’

नाडा अटो शोमा सहभागी सीमित ब्रान्डहरूका स्टलमा पनि भिड भने उल्लेख्य छ। सबैभन्दा धेरै भिड हिरोको एक्सपल्स २१० बाइकमा छ।
यद्यपि, एक्सपल्स २१० नाडामा हिरोले बिक्रीका लागि नभई प्रदर्शनका लागि मात्रै राखेको छ। त्यसकारण पनि ग्राहकहरूले एक्सपल्स २१० हेरेर मात्र चित्त बुझाएका छन्।
यस्तै, यामाहाको स्टलमा सार्वजनिक भएका ३ रंगका नयाँ बाइक हेर्नेहरूको भिड पनि उत्तिकै छ। रोयल इन्फिल्डले नयाँ बाइक सार्वजनिक नगर्दा स्टलमा भिड भए पनि ग्राहकमा उत्साह भने देखिएन। नाडा अटोशोमा चाइनिज बाइक जोनसेनमा अन्य ३ ब्रान्डको तुलनामा न्यून ग्राहक देखियो।

अटो शोमा प्रिमियम दुई पांग्रे ब्रान्डले सहभागिता नजनाउँदा ती बाइक खोज्नेलाई विकल्प नै छैन भने इभी ब्रान्डको पनि सहभागिता छैन।
यसअघिको नाडा अटोशोमा दुई पांग्रे सवारीका ब्रान्डहरूको उपस्थिति बाक्लै हुने गरेपनि २०२५ को अटो शोमा भने न्यून उपस्थिति छ।