काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको काम कारबाहीलाई लिएर बिहीबार प्रतिनिधि सभाको बैठकमा असन्तुष्टि पोखे। उनले सरकारको गति र मति दुवै ठिक नभएको र त्यसबापत आफूहरुले गाली खानु परिरहेको गुनासो सुनाए।
२० मिनेट लामो सम्बोधनका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवाले दुई दल सवार गाडीलाई भिरतिर हिंडाइरहे पनि आफूहरु केही गर्न नसक्ने ‘लाचार’ अवस्थामा रहेको स्वीकार गरे।
दुई तिहाइको बल हुँदा पनि काम गर्न नसकेकामा सरकार त आलोचित छ नै, इतिहास बोकेको लोकतान्त्रिक दल नेपाली कांग्रेसले पनि पछिल्लो समय आलोचना खेप्नुपरेको छ।
ओलीको इशारामा आफ्नो इतिहास बिर्सिएर जेसुकै गर्नका लागि तयार भएको भन्दै कांग्रेसको आलोचना बढेको हो।
पछिल्लो प्रसंग हो उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गराउने प्रयास। संवैधानिक परिषद्बाट आफू अनुकूलको निर्णय गराउनका लागि ओलीले अहिले कांग्रसलाई ललिपप देखाएका छन्।
उपसभामुख इन्दिरा राना मगरलाई हटाएर संवैधानिक परिषद्मा प्रतिनिधित्व गराउने भन्दै ओलीको ललिपपको पछि लागेर सांसदहरुको हस्ताक्षर संकलन गरेपछि कांग्रेस थप आलोचित बन्न पुगेको हो।
महामन्त्रीद्वय गगन र विश्वप्रकाश शर्मा तथा संस्थापनइतरहका नेता डा शेखर कोइरालाले नै एकाएक उपसभामुख हटाउन हस्ताक्षर संकलन गरिएको विषय रुचाएनन्। कोइराला पक्षमा सांसद हस्ताक्षर प्रक्रियामा सामेल नै भएनन्।
‘मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन। संख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ। संसद्मा होस् वा पार्टीमा। पार्टीभित्र निर्णय गर्दा बहुमत छ भनेर निर्णय गरे पनि आम पार्टी पंक्तिले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा ख्याल गर्नुपर्छ,’ गगनले भने।
पार्टीमा सभापति देउवाको शक्तिका कारण गगनको यस्तो रोदन सुनिएको राजनीतिक विश्लेषक राजेन्द्र दाहाल बताउँछन्। ‘बहुमत छ भन्दैमा जे पनि गर्ने भनेर महामन्त्रीले नै बोलिसके नि। हामीले के बोल्नुपर्यो र? महामन्त्रीको अरण्य रोदन हो त्यो। महामन्त्री नै निरीह देखिन्छन्,’ विश्लेषक दाहालले भने।
सभापति देउवासामु आफ्नो केही सिप नचलेपछि कांग्रेसको गन्तव्यबारे सोधिने प्रश्नबाट कतिपय अवस्थामा महामन्त्री गगन र विश्व भाग्ने गरेको सार्वजनिक दृश्य नै देखिन्छ।
महामन्त्रीहरु रोदन सुनाएर हिंड्ने र सभापति देउवा ओलीको लहलहैमा लागेर जे पनि गर्न तयार भइरहँदा कांग्रेसको कार्यकर्ता पंक्ति चिन्तित हुन थालेको छ।
शक्ति पृथकीकरणको सिद्धान्त आत्मसात गर्ने पार्टी आफूलाई मन लागेका बेला तरबार निकाल्न खोज्ने ओली प्रवृत्तिको पछि लाग्नुलाई कार्यकर्ताहरुले कांग्रेस थप कमजोर हुने बाटोमा हिंडेको रुपमा लिएका छन्।
‘कांग्रेसजस्तो लोकतान्त्रिक दल एमालेको पछाडि लागेर सती जान खोजिरहेको छ। इतिहास बोकेको लोकतान्त्रिक पार्टीमा अहिले कुनै मूल्य मान्यता देखिंदैन। ओलीले जे भन्यव त्यही मानेको छ। कार्यकर्तामाझ हामीले के जवाफ दिने? निकै अप्ठेरो परेको छ,’ सिन्धुलीका एक जिल्लास्तरीय नेताले भने।
डेढ वर्षअघि गिरीबन्धु टी-इस्टेट प्रकरणमा ओलीको विरोधमा उत्रेको कांग्रेस यतिबेला मौन छ। घुस लेनदेनमा मुछिएका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीविरुद्ध समेत कांग्रेसले चुइँक्क बोल्न सकेको छैन।
चरित्र बिर्सेर एमालेसँग अंकमाल
ओलीका एकपछि अर्को कदममा कांग्रेसले साथ दिनुमा सरकारको नेतृत्व गर्ने देउवाको लोभ हो। एमालेसँगको सहमति अनुसार एक वर्षपछि प्रधानमन्त्री पद देउवाले पाउँछन्। प्रधानमन्त्रीमा दोहोरिने लोभ र नयाँ दलको चुनौतीका कारण कांग्रेसले एमालेसँग जुगलबन्दी गर्नुका साथै ओलीका गलत कदममा आँखा चिम्लेर साथ दिएको राजनीतिक विश्लेषक भीम भुर्तेलको बुझाइ छ।
‘एमाले र कांग्रेसमाथि नयाँ दलले चुनौती खडा गरेको छ। उनीहरुले बहुमतको बहुबलले निर्णय त गर्न सक्छन्। तर उनीहरुले सत्ताको दम्भमा गरेका काम प्रश्न उठाउनैपर्ने विषय हुन्,’ भुर्तेलले भने।
अर्का राजनीतिक विश्लेषक दाहाल पनि सत्ता मोहले कांग्रेस सबैभन्दा बढी बिग्रेको बताउँछन्। ‘पछिल्ला वर्षहरुमा एमाले सबैभन्दा धेरै सत्तामा बस्यो। सत्तामा बस्दा फाइदा हुने रहेछ भनेर कांग्रेसले पहिलेदेखि नै बुझेको हो,’ दाहाल भन्छन्, ‘सत्ताको स्वादकै कारण कांग्रेसले ओलीसँग अंकमाल गर्दै एकपछि अर्को गलत कदममा साथ दिइरहेको हो। एक वर्षको स्थिति हेर्दा दुई दलले शासन व्यवस्था भने ध्वस्त पारेका छन्।’