BIZMANDU
www.bizmandu.com

कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री ओलीलाई भने- सरकारको गति र मति ठिक भएन

२०८२ भदौ ५

कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री ओलीलाई भने- सरकारको गति र मति ठिक भएन
कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री ओलीलाई भने- सरकारको गति र मति ठिक भएन

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कामकारबाही प्रति चर्को असन्तुष्टि जनाएका छन्।

Tata
GBIME
Nepal Life

उनले बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एक वर्षअघि दुई दलबीच भएको सहमति अनुसार काम नभएको भन्दै असन्तुष्टि जनाएका हुन्। उनले सरकारको मति र गति दुवै ठिक नभएको बताए।

उनले संविधान संशोधनका लागि अहिलेसम्म सिन्को पनि नचाँभिएको भन्दै जनतालाई यसरी ढाँट्न पाइन्छ भनी प्रश्न गरे।

‘पहिलो बुँदामा हामीले के भनेका छौं, हामी राजनीतिक स्थायित्वका निम्ति संविधान संशोधन गर्छौं। हामीले सिन्को पनि भाँचेका छैनौं। राष्ट्रियसभामा बहुमत पुग्दैन भनेर हामीले भन्न पाउँदैनौं। हामीसँग त्यो भन्ने अधिकारै छैन,’ उनले भने, ‘हामीले संविधान संशोधनको प्रक्रिया अगाडि नबढाउँदा हामीलाई गिज्जाउने अवस्था बनेको छैन? संविधान संशोधनको बारेमा तिमीले के गर्‍यौ भनेर हामीले गाली खाइराख्नु परेको छैन? हामी आफूले बोलेको कुरा जिम्मा लिएको कुरा गर्नु पर्दैन? लोकतन्त्रमा नागरिकसँग गरेको बाचालाई यति हाक्काहाकी अन्देखा गर्न हामीले पाउछौं?’

कांग्रेस महामन्त्री थापाले सुशासन कायमदेखि अर्थतन्त्रमा सुधारका लागि युद्धस्तरमा काम गर्ने संकल्प सरकारले बिर्सिएको बताए।

‘कहाँ गयो खोइ हाम्रो फोकस? त्यति मात्र होइन। पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा गठित आयोगले दिएको सुझाव अनुसार छ महिनामा गरिने भनेका काम हामीले ८०% त सुरु पनि गरेका छैनौं। खोइ हाम्रो फोकस?,’ उनले भने, ‘हामी त प्राथमिकताहरु बिर्सेर नागरिकहरुलाई सूचनाको अधिकार, बोल्न पाउने अधिकार, लेख्न पाउने अधिकार समेत कुण्ठित गर्छौं भनेर तर्साउन थालेका छौं।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उल्लेख्य काम गरेको प्रचारबाजीको पनि विरोध गरे।

‘हामीले पुल बनायौं, सुरुङ बनायौं, यो बनायौं भनिराख्नै पर्दैन। न अहिले हामी आएर बनाएको हो। न यसमा धेरै फुर्ति लगाउने हामीसँग अधिकार छ,’ उनले भने, ‘हामीले हाम्रो गति बिरायौं। हाम्रो गति मिलिरहेको छैन, हाम्रो मति ठिक भइरहेको छैन। हाम्रो ढंग पुगिरहेको छैन। हामीले जे कुरा नबोल्नुपर्ने, बोलिरहेका छौं। जे कुरा बोल्नुपर्ने बोलिरहेका छैनौं। हाम्रो ढंग पनि पुगेन। ढंग नपुगेको एउटा विषय सहकारी प्रकरण हो। सहकारी ठगीमा परेका एक जनाले पनि बचत फिर्ता पाएको सुन्न पाइएन। बचत फिर्ताका लागि केही पनि गरेनौं। एउटा अभियुक्तको वरिपरि बहस घुमेको छ।’

उनले सरकारले योग्यता प्रदर्शन गर्न नसकेका कारण अदालतले पुर्पक्षका लागि थुनामा पठाएका रास्वपाका सभापति रवि लामिछानेमाथि प्रतिशोध भएको भाष्य बन्न पुगेको बताए।

‘राज्यले प्रतिशोध गर्‍यो भन्ने स्थिति बनाइएको छ। म कसैलाई दोष दिन चाहन्न। दोष हाम्रो हो। हामी कतिपय कुरामा निकम्मा भएर हो। हामी योग्य नभएर हो। हामीले योग्यता प्रदर्शन गर्न सकेनौं। गर्नुपर्ने काम गरेनौं,’ उनले भने, ‘लाइन लगाएर डिपोजिटकर्ताको पैसा फिर्ता गरौं त। सहकारी ठगीमा कोही मान्छे संलग्न छ भने कांग्रेस होस् एमाले होस् दया माया नराखौं त।’

थापाले विभिन्न प्रकरणमा सत्तारुढ दलसँग जोडिएका नेताहरुलाई उन्मुक्ति दिइएका कारण सरकारमाथि सेलेक्टिभ भएको आरोप लागेको बताए।

‘सार्वजनिक पदको दुरुपयोग गरेर जापान मानिस लिएर गएर छाडियो। त्यसका बारेमा अनुसन्धान भयो। जापान मानिस लिएर गएर छाडेको कुराको सन्दर्भमा दया माया नराखेको भए अहिले अमेरिका मान्छे लिएर गएर छाड्ने मान्छेलाई कारबाही गरौं भन्दै गर्दा हल्ला हुंदैनथ्यो। हिजो जापान लिएर जाँदै गर्दा बढी माया गरेपछि अहिले अमेरिका लिएर जानेलाई कारबाही गरौं भन्दै गर्दा सरकार सेलेक्टिभ भएको प्रश्न उठ्ने थिएन,’ उनले भने।

महामन्त्री थापाले कांग्रेस र एमाले सवार गाडीमा ढुंगा हान्ने काम भइरहेको भन्दै यसप्रति प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यान जानुपर्ने बताए।

‘अहिले हामी एउटै गाडीमा सवार छौं। तर ड्राइभिङ सिटमा हाम्रो नेताहरु हुनुहुन्छ। अहिलेको प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्रीले गाडी अगाडी बढाइराख्नु भएको छ। यो गाडी ठिक गतिमा जाओस्। अलमल नहोस्, ढलमल नहोस्, दुर्घटना नहोस् हामी यो चाहन्छौं। बाहिरबाट ढुंगा हानेका छन्, हिलो छ्यापेका छन्,’ उनले भने, ‘स्टेरिङ त ठिक ढंगले चलाइदिनु पर्‍यो। कहिलेकाहीं भिरतिर चढ्या छ। धेरैपटक प्रधानमन्त्री भएकोले गर्दा स्वाद नआएको हो कि भन्ने लाग्न थालेको छ।’

उनले सरकारले आशा जगाउने काम नगरेको भन्दै प्रधानमन्त्री ओलीलाई आफ्नो वरिपरि रहनेहरुको तारिफमा नरमाउन आग्रह गरे।

‘मेरो कुरा सुनिसके पछाडि प्रधानमन्त्रीलाई के लाग्छ त्यसका बारेमा मेरो चिन्ता छैन। तर म यति आग्रह गर्न चाहन्छु कि आफ्नो वरिपरि बसेकाले ताली बजाएर राम्रो भाछ प्रधानमन्त्री भन्नु पहिले पहिले राजा महाराजालाई सबैले दुध भात खाइरहेका छन् भने जस्तै हो,’ उनले भने, ‘राम्रो भइरहेको छैन। तल मानिसहरुले चित्त बुझाइरहेका छैनन्। कतिपय ठाउँमा ठिक मति राखिएको देखिएको छैन।’