काठमाडौं। सबैभन्दा धेरै व्यापार हुने चाडपर्वको मुखमा ५५ अर्बभन्दा धेरै ऋणको दायित्वमा रहेको सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (एनएसी)का दुईवटै न्यारोबडी जहाज ग्राउण्डेड हुन पुगेका छन्।
९ एन-एकेडब्लू र ९ एन-एकेएक्स कलसाइनका न्यारोबडी जहाज ग्राउण्डेड भएपछि एकातिर यात्रुहरु अलपत्र परेका छन् भने अर्कातिर ऋणमा डुबिरहेको एनएसीमाथि आर्थिक भार बढेको छ।
९ एन-एकेएक्स कलसाइनको जहाज साउन २० देखि ग्राउण्डेड रहेकामा ९ एन-एकेडब्लू कलसाइनको जहाज पनि गए रातिबाट उड्न बन्द भएको हो।
काठमाडौंबाट बुधबार राति साउदी अरेबियाको दमाम उड्ने तयारीमा रहेको जहाज ‘एंगल अफ अट्याक’ सेन्सरमा समस्या देखिएपछि एनएसीका इन्जिनियरले ग्राउण्डेड गरेको स्रोतले बतायो।
९ एन-एकेडब्लू कलसाइनको जहाज ग्राउण्डेड भएपछि १३३ यात्रु दमाम जान पाएनन्। एनएसीले उनीहरुलाई आफ्नै खर्चमा विभिन्न होटलमा राखेको छ।
जहाज ग्राउण्डेड भएपछि दमामबाट नेपाल आउनुपर्ने ७७ यात्रु पनि उतै रोकिएका छन्। इन्जिनभित्र गियरबक्समा समस्या देखिएपछि अर्को जहाज साउन २० यता ग्राउण्डेड छ। दुवै जहाज १५८ सिट क्षमताका हुन्।
दुवै जहाज ग्राउण्डेड हुने अवस्था आउनुमा कर्मचारीहरुले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई दोष दिएका छन्। अध्यक्ष अधिकारीले कमिसनको चक्करमा आफ्नो मर्मत भएको इन्जिन इजरायलमा थन्क्याएर भाडाको इन्जिन प्रयोग गर्दा दुवै जहाज ग्राउण्डेड भएको एनएसीका एक उच्च अधिकृतले बताए।
‘अध्यक्षले आफ्नो इन्जिन मर्मत भए पनि इजरायलमा थन्क्याएर राख्नुभएको छ। उहाँले कमिसनका लागि भाडाको इन्जिन प्रयोग गरिरहनुभएको छ। बिग्रिएको इन्जिन बनाउन एनएसीसँग आवश्यक पार्टपूर्जा छैन। त्यसैले जहाज उड्ने मिति निश्चित छैन,’ एनएसीका ती कर्मचारीले भने, ‘अध्यक्षको ध्यान कमिसनमा केन्द्रित हुँदा संस्था कसरी धराशायी हुन्छ भन्ने बुझ्न एनएसीलाई हेरे हुन्छ।’
एनएसीका यी दुई जहाज गत फागुनमा पनि एकसाथ ग्राउण्डेड भएका थिए। एनएसीसँग अन्तर्राष्ट्रिय उडानका लागि चार वटा जहाज रहेकामा अरु दुई वटा २७४ सिटका वाइडबडी हुन्। न्यारोबडी जहाज उडान गर्ने छोटो दूरीका गन्तव्यमा वाइडबडी जहाज लाँदा फाइदा हुँदैन।
‘अहिले एनएसीले कमाउने मौसम हो। पर्वको मुखमा धमाधम टिकट काटिएको छ। तर, यात्रुलाई उडाउनका लागि जहाज छैन। अब कसरी फर्काउने भन्ने तनाव छ,’ एनएसीको विदेशस्थित एक स्टेशन प्रमुखले भने, ‘अध्यक्षको लापर्बाहीले संस्था नै ध्वस्त भयो। तालुकवाला पर्यटन मन्त्रालय के हेरेर बसेको छ? विभागीयमन्त्रीले यति गम्भीर विषयमा किन कुनै कदम नचालेका हुन्?’
जहाजलाई चुस्त दुरुस्त अवस्थामा नराखेर यात्रुको सुरक्षामा खेलाँची गरेको भन्दै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले भदौ १ गते अध्यक्ष अधिकारीलाई एकाउन्टेबल म्यानेजरबाट बर्खास्त गरेको थियो। अधिकारीको चार वर्षे कार्यकाल दुई महिनापछि सकिंदैछ।