BIZMANDU
www.bizmandu.com

गुगल पिक्सेल १० : म्याजिक क्यूदेखि क्यामेरा कोचसम्म एआइको नयाँ प्रयोग

२०८२ भदौ ५

गुगल पिक्सेल १० : म्याजिक क्यूदेखि क्यामेरा कोचसम्म एआइको नयाँ प्रयोग
गुगल पिक्सेल १० : म्याजिक क्यूदेखि क्यामेरा कोचसम्म एआइको नयाँ प्रयोग

गुगलले बुधबार नयाँ पिक्सेल स्मार्टफोनको लाइनअप सार्वजनिक गरेको छ, जसमा एआइको थप स्तर समावेश गरिएको छ। यी एआइ सुविधाहरूले मोबाइलमा भएका महत्त्वपूर्ण जानकारी झिक्नेदेखि फोटो खिच्ने क्रममा फोटोको गुणस्तर सुधार्ने काम गर्न डिजाइन गरिएको छ।

Tata
GBIME
Nepal Life

चारवटा पिक्सेल १० मोडलमा गरिएको एआइ विस्तारले समाजलाई पुनःपरिभाषित गर्न थालेको प्रविधिको प्रयोग बढाउने गुगलको प्रयासलाई अझ बल दिएको छ। यसैबीच, गुगलले आइफोनमा रहेको कमजोर पक्षलाई पनि लक्षित गरेको छ।

एप्पलले अहिलेसम्म आइफोनमा केही आधारभूत एआइ सुविधाहरू मात्र ल्याएको छ। गत वर्ष गरेको अझ संवादमुखी र बहुमुखी सिरी ल्याउने वाचा पुरा गर्न सकेको छैन।

गुगलले आइफोनको नाम नलिई आफ्ना विज्ञापनहरूमा एप्पलको कमजोरीलाई व्यंग्य गर्दै चार नयाँ पिक्सेल मोडललाई एआइ प्रविधिसहितको स्मार्टफोनका रूपमा प्रमोट गरेको छ। छिटै बजारमा आउने भएकाले प्रयोगकर्ताले धेरै पर्खनुपर्ने छैन।

‘यो विषयमा धेरै हाइप भएको छ र प्रष्ट भन्नुपर्दा धेरै वाचा तोडिएको पनि छ,’ गुगलका कार्यकारी रिक ओस्टरहले न्यूयोर्कमा नयाँ पिक्सेल फोनबारे ७५ मिनेट लामो प्रस्तुतीकरणमा भनेका छन्। लेट नाइट टीभी शो होस्ट जिमी फ्यालनले सञ्चालन गरेको उक्त कार्यक्रममा रिक नयाँ प्रडक्टका विषयमा प्रष्ट सुनिए।

गुगलले २०२३ देखि पिक्सेलमा एआइ सुविधाहरू थप्दै आएको छ। चालु वर्षका मोडलले यसलाई अर्को स्तरमा पुर्‍याएको छ।

‘हामीलाई लाग्छ यस वर्ष हामीसँग खेल नै बदल्ने प्रविधिसहितको स्मार्टफोन छ,’ ओस्टरहले भने।

अधिक उन्नत प्रोसेसरको फाइदा उठाउँदै गुगलले पिक्सेल १० फोनमा ‘म्याजिक क्यू’ नामक नयाँ एआइ सुविधा ल्याएको छ। यसलाई डिजिटल माइन्ड रिडर जस्तै डिजाइन गरिएको छ, जसले डिभाइसमा रहेको जानकारी स्वचालित रूपमा फेच गरेर प्रयोगकर्तालाई आवश्यक समयमा देखाउँछ। उदाहरणका लागि, यदि प्रयोगकर्ताले एयरलाइनलाई फोन गरिरहेको छ भने, म्याजिक क्यूले तुरुन्तै नम्बर चिन्दै जीमेल वा गुगल क्यालेन्डरमा भएको फ्लाइट जानकारी देखाउँछ।

पिक्सेल १० मा अर्को एआइ टुल ‘क्यामेरा कोच’ को प्रिभ्यू पनि हुनेछ। यसले फोटो खिच्दा सर्वोत्तम फ्रेमिङ र प्रकाश कोण सुझाउँछ, साथै कुन लेन्स मोड प्रयोग गर्ने सिफारिस गर्छ।

प्रिमियम मोडलहरू पिक्सेल १० प्रो र पिक्सेल १० प्रो एक्स एलमा ‘सुपर रेज’ नामक सुविधा पनि हुनेछ, जसले सफ्टवेयर र एआइ प्रयोग गरेर १०० गुणासम्म जुम गर्न सक्नेछ। यसले क्यामरादेखि धेरै टाढाका वस्तुहरूको विवरण कैद गर्न सक्नेछ। यो प्रक्रिया प्रयोगकर्ताले थाहा नपाई पनि हुन सक्छ, जसले फोटो वास्तविक छ वा प्रविधिले परिवर्तन गरेको हो भन्ने पत्ता लगाउन गाह्रो बनाउँछ।

पिक्सेल १० फोनले फोन कुराकानीलाई लगभग तत्काल विभिन्न भाषामा अनुवाद गर्न सक्नेछ, त्यो पनि सहभागीहरूको आफ्नै आवाज प्रयोग गर्दै।

गुगलले महँगो मोडल खरिद गर्ने ग्राहकलाई एक वर्षको एआइ प्रो प्लान नि:शुल्क दिनेछ, जसले प्रयोगकर्तालाई जेमिनी टुलकिटप्रति आकर्षित गर्ने लक्ष्य राखेको छ।

चारवटा पिक्सेल १० मोडलको मूल्य गत वर्षकै पिक्सेल ९ जस्तै रहनेछ: आधारभूत मोडल ८०० डलर, प्रो १,००० डलर, प्रो एक्सएल १,२०० डलर र फोल्डेबल मोडल १,८०० डलर। सबै पिक्सेल १० मोडल (फोल्डेबल बाहेक) अगस्त २८ देखि उपलब्ध हुने जनाइएको छ। पिक्सेल १० प्रो फोल्ड भने अक्टोबर ९ देखि बजारमा आउनेछ।

यद्यपि पिक्सेल स्मार्टफोन अझै पनि आइफोन र सामसङ ग्यालेक्सीको तुलनामा सानो बजारमा छ, गुगलको एआइ प्रविधिमा निरन्तर प्रगति र स्थिर मूल्यले प्रतिस्पर्धा थप बढाएको छ।

‘एआइ युगमा, यो साँच्चिकै नवप्रवर्तनको प्रयोगशाला हो,’ फोरेस्टर रिसर्चका विश्लेषक थोमस हुसनले भने।

एप्पलले आगामी महिनामा नयाँ आइफोन सार्वजनिक गर्दा असाधारण दबाब सामना गर्नुपर्नेछ। यद्यपि कम्पनीले घोषणा गरिसकेको छ कि स्मार्ट सिरी अर्को वर्ष मात्र तयार हुनेछ, तर एप्पलले आइफोनलाई एआइ प्रविधिको विकाससँग अनुकूल देखाउने केही प्रगति देखाउनुपर्नेछ।

एक समय सफल भएको तर पछि ढल्न पुगेको ब्ल्याकबेरीको कथा आइफोनका लागि चेतावनी हो, जसले टचस्क्रिन आइफोनको सामना गर्न सकेन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धका कारण चीन र भारतमा बनेका आइफोनको मूल्य पनि परीक्षणमा रहनेछ। तर एप्पलले हालै अमेरिकी लगानीमा थप १०० अर्ब डलरको प्रतिज्ञा गरेपछि सबैभन्दा कडा कर बढाउने धम्कीबाट राहत पाएको देखिन्छ। यसले गुगलले जस्तै आइफोनको मूल्य वृद्धि टार्न मद्दत गर्न सक्छ। (एपी)