काठमाडौं। श्रीनगर एग्रिटेक इन्डष्ट्रिजले भदौ ११ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुलाई आइपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ६३ हजार १२५ कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई छुट्याएको छ।
अंकित मूल्य १०० रुपैयाँ दरमा उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पाका स्थानीयले कम्पनीको आइपीओमा आवेदन दिन पाउनेछन्।
उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि भदौ २५ गतेसम्म सेयर निष्कासन खुला रहने बिक्री प्रबन्धकले जनाएको छ।
यस्तै, कम्पनीले ३ लाख ९ हजार ३८ कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याएको छ। वैदेशिक रोजगारीमा गएकाहरुका लागि आइपीओ निष्कासन भदौ १५ गतेसम्म खुला रहनेछ। लगानीकर्ताले १० देखि १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ निष्कासन गर्नेछ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको आइपीओ निष्कासन गर्न अनुमति पाएको छ।
आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाएको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ।
गत आर्थिक वर्षसम्म सञ्चित नाफा २ करोड १९ लाख रुपैयाँ रहेको वित्तीय विवरण कम्पनीले पेस गरेको छ।
कम्पनीको प्रति सेयर आम्दानी १.६८ रुपैयाँ तथा प्रति सेयर नेटवर्थ १०२.१३ रुपैयाँ छ।