काठमाडौं। यस साता एउटा दृश्यले धेरैको ध्यान खिच्यो – सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भरियाले काँधमा बोकेर ओसार्दै गरेको डिपलको फ्लाइङ ट्याक्सी।
राणा शासनमा जसरी गाडी नेपालमा भित्रिन्थ्यो, ठ्याक्कै त्यस्तै भाष्य बोल्ने तस्बिर। मंगलबार सुरु हुँदै गरेको ‘नाडा अटो शो’को सबैभन्दा प्रिमियम सेगमेन्टमा पर्ने उड्ने गाडीको नेपाल यात्रा भने ज्यादै सकसपूर्ण रह्यो – पहिरोका कारण।
‘बाटो बन्छ भन्ने आशामा थियौं तर यस्तैमा १५ दिन बित्यो। बन्नु त टाढाको कुरा बाटो झन् पहिरो थपियो,’ उड्ने ट्याक्सीलाई भरिया लगाएर ल्याउनुपर्ने परिस्थितिबारे विवेक सिकरियाले सुनाए, ‘परिस्थिति यस्तो बन्यो कि भरिया खोजेर पहिरो कटाएर ल्याउन सबैभन्दा सहज विकल्प बन्यो।’
भर्खरै नाइमाको अटो शो सकिएको छ। नाडा अटो शोमा त्यसभन्दा गज्जब गर्ने चाहना आयोजकसँग हुनु स्वाभाविक हो। सातवटा स्टल बुक गरेको मोरङ अटो वर्क्स एमएडब्लू वृद्धिका कार्यकारी निर्देशक विवेक पनि दवाबमा थिए उड्ने गाडी जसरी पनि ल्याउन।
‘यता नाडा अटो शोको मिति नजिकिँदै थियो। हामीलाई प्रेसर पनि,’ उनले भने, ‘दुईवटा विकल्प मात्रै थिए- एउटा बोकेर ल्याउने, अर्को बोर्डरबाट फेरि सडक हुँदै कुनै विमानस्थल पुर्याएर विमानमार्फत ल्याउने।’

सबैभन्दा उपयुक्त विकल्प दोस्रो बनेकाले नै हो काठमाडौंमा मानिसले बोकेर ल्याएको गाडीको स्मरण गराउने परिस्थिति बनेको। डिपलको फ्लाइङ ट्याक्सी सञ्चालनका लागि नेपालमा अनुमति छैन। त्यसैले उडाएर पहिरो कटाउन पनि मिलेन।
तर, मोरङ अटो वर्क्सको प्रयासमा सरकारको साथ मिल्यो। सहजै भन्सार क्लियर भयो र मानिसको काँधपछि उड्ने ट्याक्सी ट्रक चढेर काठमाडौं अवतरण भयो। भदौ ३ बाट भृकुटीमण्डपमा चढ्न त होइन, हेर्न चाहिँ पाइन्छ – उड्ने ट्याक्सी।
यो फ्लाइङ ट्याक्सी पाइलटविना नै उड्छ। जहाँबाट उड्छ, त्यहीं आएर ल्यान्ड पनि गर्छ। तर, यसखाले उडानका लागि भौतिक संरचना बनाउनुपर्छ। विभागीय जिम्मेवारीका हिसाबले नेपाल नागरिक उड्ययन प्राधिकरणसँग अनुमति लगायत प्रक्रिया सुरु पनि भएको छैन। ‘डेमो’का लागि मात्र फ्लाइङ ट्याक्सी नेपाल भित्र्याइएको हो, जुन नाडा अटो शोको केन्द्रमा रहने छ।
नेपालको चीनसँगको कारोबारमा सबैभन्दा बढी छलाङ पछिल्लो समय विद्युतीय सवारी भित्रिएसँगै हुन थाल्यो। त्यसैले सडकमार्ग व्यापक प्रयोगमा आयो। तर, भूगोल हाम्रो पूर्वाधारलाई चुनौती दिनेखालको रहेकाले कसैलाई दोष दिने ठाउँ देख्दैनन् विवेक।
‘एक व्यवसायीका हिसाबले यस्ता कारोबार हुने ठाउँमा पूर्वाधार बलियो होस् भन्ने एउटा कुरा हो। तर, अहिले जुन अवस्था आयो, त्यो कसैको नियन्त्रणमा थिएन,’ उनले भने। उनका अनुसार उड्ने ट्याक्सी २० जना भरियाको काँध चढेर पहिरोबाट पार भयो।

नेपाल भित्रिएको यो ट्याक्सी एक घन्टामा १ सय ४० किलोमिटर दुरी तय गर्ने क्षमताको छ। चीनमा पनि प्रारम्भिक युगमा छ – उड्ने ट्याक्सी। भविष्यमा प्रविधिले कति फड्को मार्छ, त्यसमै निर्भर रहन्छ यसको विस्तार। विवेक निक्कै विश्वस्त सुनिए यो ट्याक्सीलाई लिएर। उनले यसबाट आकाशमा फन्को मारिसकेका छन्।
जुलाइ १८, २०२५। चीनको ग्वान्जाउमा विवेकसामु उत्रियो डिपलको ट्याक्सी। न पाइलट, न सहयात्री। भित्र उनी एक्लै। डिपल एस०५ जस्तै डिस्प्ले। कसरी उड्छ र कसरी ल्यान्ड हुन्छ उनलाई केही पत्तो थिएन। त्यसैले एक किसिमको डर हुनु स्वाभाविक थियो।

‘उडेको १०/२० सेकेन्डसम्म डर लागिरह्यो। तर, त्यसपछिको उडान गज्जब रह्यो। हेलिकोप्टरबाट समेत नदेखिने २४० डिग्री भ्यु हेर्न पाउँदा निक्कै रमाइलो भयो,’ उनले भने।
यो ट्याक्सीमा पङ्खा त हुन्छ, तर हेलिकप्टरमा जस्तो माथि नभइ तलतिर। त्यसैले उड्नेले चारैतिर देख्न सक्छन्। उनले चढेको र अहिले नेपाल भित्रिएको यो ट्याक्सी ६२० किलोसम्मको तौल लिएर उड्छ।
विवेकले फ्लाइङ ट्याक्सीको नेपालमा दुईखाले सम्भावना देखेका छन्। पहिलो, पर्यटकीय प्रडक्टका रुपमा यसको प्रयोग गर्ने, दोस्रो उद्धार लगायतमा प्रयोगमा ल्याउने।
‘एकपटक पूरा चार्ज भइसकेपछि अहिले ल्याएको ट्याक्सीले ३० मिनेट उडान गर्छ। जहाँबाट उडाइयो त्यही ल्यान्ड गरिने भएकाले पर्यटन क्षेत्रमा यसको प्रयोग हुनसक्ने भयो,’ विवेकले भने।

चीनमा पनि अहिले यसखाले ट्याक्सीको उडान पर्यटन क्षेत्रमै भइरहेको छ। यातायातका रुपमा कुनै गन्तव्यमा जोड्न यसको प्रयोग भइसकेको छैन।
विवेकका अनुसार यो ट्याक्सी उद्धका लागि निक्कै उपयोगी हुन्छ- विशेषगरी हाम्रोजस्तो विकट भौगोलिक अवस्थामा भएको ठाउँमा। ‘नेपाल विश्वको दशौं सबैभन्दा बढी प्राकृतिक प्रकोप हुने देश हो। यस्ता प्रकोपमा उद्धार गर्न ठुलो सहयोग पुर्याउन सक्छ,’ उनले भने।
नेपालमा भित्रिएको ट्याक्सीले चीनमा ६० हजार पटक फ्लाइट गरिसकेको छ। त्यसैले यसको पर्फर्मेन्सप्रति शंका गर्नुपर्ने ठाउँ छैन। तर, कुनै पनि उड्ने माध्यममा जोडिने सन्दर्भ– सुरक्षा। के यो साधन सुरक्षित छ त? नेपालमा पर्यटन क्षेत्रमा नयाँ प्रडक्टका रुपमा यसलाई भित्र्याउने हो भने जोखिमको जिम्मेवारी कसले लिन्छ?

‘चिनियाँहरू कुनै कुरामा पनि रिस्क लिन चाहँदैनन्। किनभने एउटा केही नराम्रो भएमा बिजनेसमात्र होइन, २० वर्षदेखिको मेहनत खेर जान्छ,’ विवेकले भने। पर्यटन क्षेत्रमा कुनै एउटा कमजोर कदमले वर्षौसम्म नकारात्मक परिणाम दिने गर्छ। त्यसैले यसको सिस्टममा सबैभन्दा धेरै मेहनत गरिएको छ।
चीनमा स्थानीय तहबाटै ‘अर्बन एयर मोबिलिटी प्रणाली’लाई अनुमति दिन सुरु भइसकेको छ। नेपालमा चाहिँ त्यसैखाले व्यवस्था नागरिक उड्डयन प्राधिकरणमार्फत् हुने गर्छ।
‘फ्लाइङ ट्याक्सी ल्याउने कुरा धेरै पहिलेदेखि मेरो दिमागमा थियो। किनभने एमएडब्लू वृद्धि फ्युचर टेक्नोलोजी नेपालमा ल्याउन कमिटेड छ,’ विवेकले भने, ‘मैले नाडामा पनि फ्युचर टेक्नोलोजीका लागि इकोसिस्टम बनाउँदै लैजानुपर्ने कुरा राख्दै आएको छु।’
नेपाल भित्रिएको उड्ने ट्याक्सीको अन्तर्राष्ट्रिय बजारमा मूल्य कति पर्छ त?
‘यसको नेपाली मूल्य हेर्ने हो भने ७ देखि ८ करोड रुपैयाँ पर्छ,’ विवेकले भने। उनका अनुसार यस्ता ट्याक्सी विश्वभर ४ सय वटा सञ्चालनमा छन्। दक्षिण एसियाका मुलुकमा भने यसखाले उड्ने ट्याक्सी सञ्चालनमा आएको पाइँदैन।