काठमाडौं। चीनको केरुङमा अड्किएका सामान भित्र्याउन सरकारले कोरला नाकालाई विकल्पको रुपमा प्रयोग गर्ने तयारी गरेको छ।
असार २४ देखि बन्द रहेको रसुवा नाका खुल्ने निश्चित नभएपछि भन्सार विभागले कोरला नाकालाई विकल्पको रुपमा प्रयोग गर्ने तयारी गरेको हो।
व्यवसायीले चाडपर्वका लागि आयात गरेका सामान केरुङमा अलपत्र परेका कारण विभागले विकल्पको रुपमा कोरला नाका प्रयोग गर्न आवश्यक तयारी गरिरहेको विभागका सूचना अधिकारी किशोर बर्तौलाले बताए।
‘दसैं नजिकिएकाले जतिसक्दो चाँडो कोरला नाकाबाट सामान आउने व्यवस्था मिलाउनतिर लागिरहेका छौं,’ बर्तौलाले भने, ‘कोरलामा भन्सार प्रणाली राख्ने काम भइरहेको छ।’
विभागले कोरलामा अहिले चार कर्मचारी खटाएको छ।
व्यवसायीले मगाएका सामान बोकेका करिब ४०० कन्टेनर केरुङमा अलपत्र छन्। केरुङबाट कोरला हुँदै सामान ल्याउन दूरी लामो पर्छ। व्यवसायीले अहिलेसम्म कोरला नाकाबाट सामान आयात गरेका छैनन्।
रसुवा नाका तत्कालै सञ्चालनमा आउने नदेखिएको र तातोपानी नाका पनि दुई सातादेखि बन्द रहेकाले व्यवसायीहरुलाई विकल्प दिन खोजिएको बर्तौलाले बताए।
रसुवामा नेपाल र चीनलाई जोड्ने पुल असार २४ गतेको बाढीले बगाएको थियो। चीनले बेलिब्रिज बनाउनका लागि काम अगाडि बढाएकामा बाढीले बेस नै बगाएको थियो।
मौसमले साथ दिएको अवस्थामा भदौ अन्तिमसम्म बेलिब्रिज बनाइसक्ने जानकारी चिनियाँ पक्षबाट आएको रसुवाका प्रमुख भन्सार अधिकृत तुलसी भट्टराईले बताए।