काठमाडौं। हिन्दुकुश हिमालय क्षेत्रका देशका सांसदहरूको सम्मेलन सोमबार काठमाडौंमा सुरु भएको छ।
सम्मेलनमा हिन्दुकुश–हिमालय क्षेत्रका नेपाल, भारत, चीन, बंगलादेश, भुटान, म्यानमार र पाकिस्तानका सांसदका साथै सरकारका उच्च पदस्थ प्रतिनिधि, जलवायु क्षेत्र विज्ञलगायत सहभागी छन्।
हिन्दुकुश हिमालय संसदीय सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे। उनले विश्व तापमान वृद्धि हुँदै गर्दा हिन्दुकुश–हिमालय क्षेत्र विश्व औसतभन्दा बढी दरमा तातिरहेको बताए।
‘जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषण अब वैज्ञानिक प्रतिवेदनमा सीमित रहेनन्। यी त हाम्रो जीवनको कठोर वास्तविकता बनेका छन्। त्यसैले, यो सम्मेलन हाम्रो साझा र दिगो भविष्यको मार्गचित्र बनाउन ऐतिहासिक अवसर हो,’ उनले भने, ‘यो हिन्दुकुश–हिमालय क्षेत्र–यसको भूगोल, हिमाल, वन, नदी र वातावरणको भविष्यबारे दृढ प्रतिबद्धता देखाउने अवसर हो।’
उनले विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्नका लागि पेरिस सम्झौतामा गरेको प्रतिबद्धता सबै पक्षले पालना गर्नुपर्नेमा जोड दिए।
प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा भएको सम्मेलन मंगलबारसम्म चल्नेछ।