काठमाडौं। नेपाली गीत संगीतमा ‘र्याप’ ले छुट्टै स्थान बनाइसकेको छ। भनिन्छ, ‘-यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ।’ लोक र सुगम संगीत नेपालमा रुचाइने सदाबहार विधा हुन्। यद्यपि नयाँ पुस्ता -यापतर्फ उत्तिकै आकर्षित छन्।
-यापलाई ‘एक्प्रेस योर सेल्फ’ भन्ने गरिन्छ। -यापले आफ्नो भोगाइ र समाजको देखाई व्यक्त गर्ने -यापरहरु बताउँछन्। पछिल्लो समय नेपाली -याप र -यापरको चर्चा अन्तर्राष्ट्रिय स्तरमा हुन थालेको छ। विदेशी -यापरले नेपाली -यापरको चर्चा गरेपछि यसप्रतिको आकर्षणबारे अनुमान गर्न सकिन्छ।
सीमित समूहमा रहेको -यापको चर्चा अहिले अन्तर्राष्ट्रियस्तरसम्म पुगेको छ। पछिल्लो समय -यापको सुनौलो युग आएको -यापर गिरिश खतिवडा बताउँछन्। ‘हामी कलाकारका लागि -याप एउटा थेरापी जस्तै हो, मनको कुरा पोख्न पाएका छौं। -यापले गाउँको समस्या सहरसम्म र सहरको समस्या गाउँसम्म बुझाएको छ, किनकि म आफैँ सहरमा बस्न थालेपछि गाउँलाई -यापमार्फत चिन्ने गरेको छु,’ उनले भने।
उनले र्यापलाई मनको कुरा भन्ने माध्यमको रुपमा बुझेका छन्। अन्य माध्यमको तुलनामा सजिलै भावना व्यक्त गर्न सकिने माध्यम -याप रहेको उनको बुझाइ हो।
अर्का र्यापर मानस घलेले नयाँ पुस्तामा -यापप्रति बढेको आकर्षणले संगीतमा छुट्टै स्थान बनाउन सफल भएको बताए। ‘हामीले -यापलाई नेपालभर लग्ने प्रयास गरेका थियौँ तर अहिलेको पुस्ताले यसलाई अन्तर्राष्ट्रियकरण गरेको छ। नेपाली भाषा नबुझ्ने पनि हाम्रो स्रोता बन्नुभएको छ। अहिले -याप गाएरै जीविकोपार्जन गर्न सकिन्छ,’ उनले भने। र्यापरप्रति सामाजिक धारणा फेरिएकै कारण काठमाडौं महानगरपालिकाले -यापर बालेनलाई प्रमुखको रुपमा पाएको उनले बताए।
पछिल्लो समय नवोदितसँगै पुराना र्यापरको माग स्टेज कार्यक्रममा बढ्दो छ। नेपाल मात्र नभई विदेशमा उत्तिकै लोकप्रिय छन्, -यापर। यद्यपि -यापलाई बदनाम गर्नेको कमी नरहेको -यापर हाकिमले बताए। ‘-याप भनेको भावना व्यक्त गर्ने भएकाले यसमा बन्देज हुँदैन, त्यसकारण हामीले मनमा लागेको शब्दलाई कुनै फिल्टर नगरी बाहिर ल्याउछौँ। तर, यो भन्दैमा अश्लीलतालाई प्रवर्द्धन गरेका भने होइनौँ। जसले अश्लील, अपाच्य शब्दकै सहारामा मात्र -याप बनाउने गरेका छन्, ती चर्चाका लागि मात्र आएका हुन्। किनकि -यापमा बेदना, भोगाइ र बुझाइ हुन्छ,’ हाकिमको भनाइ छ।
अहिले -यापको अवस्था नेपालमा राम्रो देखिनु खुसीको कुरा भए पनि -यापरले परिवेश र भविष्य हेर्ने भन्दा आफ्नो भावना व्यक्त गर्ने -यापर खतिवडा बताउँछन्। ‘हामीले -याप हान्ने हो, आफूलाई व्यक्त गर्ने हो। यसको भविष्य के होला, वा हाम्रो स्कोप कस्तो छ भनेर सोच्ने होइन। -यापले मलाई खुसी र सन्तुष्टि दिएको छ, त्यही भएर म अहिलेसम्म सक्रिय छु,’ उनले भने। उनले -यापमा आएको परिवर्तन र नयाँपुस्ताको भोगाईलाई आफूले गीतमार्फत थाहा पाउने बताए। यसका लागि उनी नयाँ -याप सुन्नुहुन्छ।
अर्का -यापर घलेले अहिले विभिन्न रियालिटी शोहरू निर्माण भइरहेकाले -यापमा भविष्य खोज्नेलाई सहज भएको बताए। -यापर हाकिमले ‘जी–बब’ जस्ता -यापर ‘रियालिटी शो’ मार्फत आएको बताए। उनीसहितको टिमले विभिन्न शो गर्ने गरेको छ। ‘अहिले नेपाल मात्र नभई विदेशमा हुने कार्यक्रममा सहभागिता जनाउन सके -यापरका लागि उत्तम समय छ। आउँदो दिन झनै राम्रो देखिएको छ। अहिले -यापलाई लिएर सामाजिक धारणा फेरिएको छ,’ उनले भने, ‘अहिले बढिरहेको लोकप्रियताले -याप नबुझी लोकप्रियताका लागि मात्र आउनेलाई यहाँ टिक्न दिँदैन।’
उनको ‘राक्षस’, ‘चोरी देउ लौन मलाई’ लगायतका -याप लोकप्रिय छन्। -यापमा भविष्य खोजिरहेका युवाहरुको जमात दिनदिनै बढ्दो छ। रासस