विराटनगर। नेपालका मैदा उद्योगीले भारतका निर्यातकर्ताले मूल्यमा कार्टेलिङ गर्दै चलनचल्तीको भन्दा महँगो दर पठाएको भन्दै गहुँ किन्न अस्वीकार गरेका छन्।
भारतका व्यवसायीले सरकारी कम्पनी नेसनल कोअपरेटिभ एक्स्पोर्ट्स लिमिटेड (एनसेल)मार्फत् कार्टेलिङ गर्दै महँगो मूल्य पठाएपछि नेपालका मैदा उद्योगीले गहुँ किन्न अस्वीकार गरेका हुन्।
नेपाली व्यवसायीले पुन: टेन्डर गरेर सस्तो र जायज मूल्य पठाउन माग गरेका छन्।
भारत सरकारले नेपाललाई यस वर्ष एनसेलमार्फत् २ लाख टन गहुँ दिने निर्णय गरेको थियो। जसमध्ये १ लाख टन विभिन्न २२ उद्योगका लागि भाग लगाइएको छ।
भारतमा निर्यातमा प्रतिबन्ध र परिमाणात्मक बन्देज लागेका खाद्यान्न, डेरी उत्पादन, हरियो तरकारी, मल लगायत कृषिसँग सम्बन्धित वस्तु निर्यात गर्ने एकाधिकार एनसेलसँग छ। एनसेलमा भारतका गृहमन्त्री अमित शाहको संलग्नता छ। एनसेलले कमिसन लिएर त्यहाँका निजी व्यापारीमार्फत् निर्यात गर्दै आएको छ।
एनसेलमा सूचीकृत व्यवसायीले मात्र निर्यात गर्न पाउँछन्। यिनै सूचीकृत भएका भारतीय आपूर्तिकर्ताले वीरगंज, विराटनगर र भैरहवा-बुटवल क्षेत्रका मैदा उद्योगलाई चलनचल्तीको मूल्यभन्दा बढी दर पठाएका हुन्।
नेपालका अधिकांश उद्योगले नयाँ मूल्यमा गहुँ किन्न अस्वीकार गरेका छन्। केहीले भने होल्डमा राखेको जनाएका छन्।
नेपाल फ्लोर मिल्स एसोसिएसनका उपाध्यक्ष एवम् विशाल मैदा मिल्सका निर्देशक विकास बेगवानीले विराटनगरका ३ उद्योगलाई भारतका आपूर्तिकर्ताले अलगअलग दर पठाएको जानकारी दिए।
एक उद्योगलाई किलोको ५२.२० रुपैयाँ, दोस्रोलाई ५७.२५ रुपैयाँ र तेस्रोलाई ५७.६५ रुपैयाँको दर पठाएका छन्। प्रस्तावित दरको गहुँ आफ्नो उद्योगमा आइपुग्न भन्सार महसुल ५ र अन्य १ गरी थप ६ प्रतिशत खर्च लाग्छ। यस हिसाबमा ३ मध्ये सस्तो दरको गहुँ भित्र्याउँदा पनि किलोको ५५.३३ रुपैयाँ पर्छ।
विराटनगरमा हाल गहुँको मूल्य किलोको ५२ रुपैयाँ छ।
त्यही कारण एनसेललाई पत्राचार गर्दै सूचीकृत निर्यातकर्ताले दरभाउ महँगो दिएको हुँदा आयात गर्न नसकिने भन्दै फेरि टेन्डर गर्न अनुरोध गरेको बेगबानीले जानकारी दिए।
‘एनसेलमा संघ र उद्योगी सबैतिरबाट पत्र पुगिसकेको छ। हामी नयाँ टेन्डर जारी हुने विश्वासमा छौं,’ बेगबानीले भने।
शारडा समूहको न्युट्री फुड्सका संचालक प्रदीपकुमार शारडाले एनसेलमा सूचीकृत आपूर्तिकर्ताले पठाएको दरमा गहुँ ल्याउन नसक्ने बताए।
‘अहिले तत्काल त्यस दरमा गहुँ ल्याउन सकिँदैन। भोलि के हुन्छ भन्न सकिँदैन,’ उनले भने, ‘हामीले मूल्य अस्वीकार गर्दै रि-टेन्डरका लागि एनसेलसमक्ष अनुरोध गरेका छौं।’
गहुँको हब मानिने भैरहवा-बुटवलका मैदा उद्योगीलाई पनि एनसेलमा सूचीकृत व्यवसायीले चलनचल्तीको मूल्यभन्दा बढी मूल्य पठाएका छन्।
एसोसिएसनका सदस्य एवम् एसआर फुड्सका संचालक सुमन भुसालले एनसेलमा सूचीकृत निर्यातकर्ताले १२ वटा उद्योगलाई गहुँको फरकफरक दर पठाएको जानकारी दिए। जसमध्ये सबैभन्दा कम मूल्य किलोको ४७.२४ रुपैयाँ छ। यो गहुँ भित्र्याउँदा भन्सार महसुल र अन्य खर्चसहित किलोको ५०.७ रुपैयाँ पर्छ।
भुसालका अनुसार हाल भैरहवा-बुटवल क्षेत्रमा गहुँको मूल्य किलोको ४९ रुपैयाँ छ।
एनसेलमा सूचीकृत भारतीय निर्यातकर्ताले भैरहवा-बुटवलका उद्योगलाई पठाएको सबैभन्दा उच्च मूल्य किलोको ५०.४५ रुपैयाँ हो। यो मूल्यको गहुँ नेपाल भित्र्याउँदा किलोको ५३.४७ रुपैयाँ पर्छ।
भुसालले प्रस्तावित मूल्यमा गहुँ लिन नसक्ने भन्दै अर्को टेन्डर गरेर मूल्य पठाउन एनसेलमा पत्राचार गरिसकेका छन्।
‘भैरहवा-बुटवल क्षेत्रमा अहिले किलोको ४९ रुपैयाँ चलिरहेको छ। तर, गहुँ कतै पाइएको छैन। त्यसैले तत्कालै मूल्यवृद्धि हुने सम्भावना पनि देखिएको छ। यता मूल्यवृद्धि भएपछि एनसेलमा सूचीकृत व्यवसायीले मूल्य अझ बढाएर पठाउने देखिँदैछ। त्यसैले हामीले एनसेललाई बेलैमा खबर गरेका हौं,’ उद्योगी भुसालले भने।

भारतका निर्यातकर्ताले वीरगंजका उद्योगमा किलोको कम्तीमा ५२.८५ रुपैयाँ देखि बढीमा ५६.०५ रुपैयाँसम्मको मूल्य सूची पठाएका छन्। यो मूल्यको गहुँ नेपाल ल्याउँदा किलोको कम्तीमा ५६.०२ रुपैयाँदेखि बढीमा ५९.४१ रुपैयाँ पर्छ।
एसोसिएसनका बोर्ड सदस्य एवम् चावसती खाद्य उद्योगका सञ्चालक ज्योति रुङटाका अनुसार वीरगंजमा हाल गहुँको मूल्य किलोको ५२ रुपैयाँ छ।
‘धेरैजसो उद्योगले प्रस्तावित मूल्यमा गहुँ नलिने खबर पठाइसकेका छन्। एक उद्योगले होल्ड गरेर राखेको छ। वीरगंजमा गहुँको मूल्य किलोको ५२ रुपैयाँ भए पनि उपलब्धता छैन। त्यसैले अन्योल बढेको छ,’ उद्योगी रुङटाको भनाइ छ।
वीरगंज क्षेत्रमा हाल ५ वटा मैदा उद्योग सञ्चालनमा छन्।
मूल्य अकासिने !
एनसेलले अर्को टेन्डर गरेर त्यहाँका व्यवसायीले मूल्य नघटाए नेपालमा गहुँको मूल्य वृद्धि भई भान्सा महँगिने जोखिम छ। गत वर्ष माघमा विराटनगरमा गहुँको मूल्य किलोको ५८ रुपैयाँसम्म पुगेको थियो। यस वर्ष त्योभन्दा पनि बढी हुने उद्योगीको प्रक्षेपण छ।
भारतीय आपूर्तिकर्ताले गहुँको मूल्य बढाएर पठाएपछि केही मैदा उद्योगी युक्रेनतर्फ आकर्षित भएका छन्। विराटनगरको गोमती फुड्सका संचालक हरिवंश राठीले गहुँ युक्रेनबाट आयात गर्न एलसी खोलेको बताए।
तर, युक्रेनमा पनि गहुँको मूल्य सस्तो छैन। त्यहाँका निर्यातकर्ताले सीआईएफ (मूल्य, बीमा र ढुवानी खर्चसहित) कोलकाताका लागि टनको ३४० डलरको दर पठाएका छन्। एक डलरको १४० रुपैयाँका दरले हिसाब गर्दा यो गहुँ कोलकाता आइपुग्दा किलोको ४७.६० रुपैयाँ पर्छ।
‘यसमा अरू १४ प्रतिशत थप्नुपर्छ। किनकि भारतबाहेक तेस्रो मुलुकबाट गहुँ आयात गर्दा भन्सार महसुल १० प्रतिशत छ। कोलकाताबाट गर्नुपर्ने ढुवानी, गहुँको जर्ती (सर्टेज), भन्सार र बाटाको अन्य खर्च समेत जोड्दा १४ प्रतिशत पुग्छ। त्यसैले यो गहुँ यहाँ आइपुग्दा किलोको ५४.२६ रुपैयाँ पुग्छ,’ उद्योगी राठीले भने, ‘एलसी खोलेको ३ महिनामा मात्र युक्रेनबाट गहुँ आइपुग्छ। त्यति बेला डलरको मूल्य बढ्यो भने अझ महँगो पर्छ। त्यति बेलासम्म नेपालमा पनि मूल्यवृद्धि होला भनेर आयात गर्न लागेका हौं।’
गत आर्थिक वर्ष पनि समुद्रपारका मुलुकबाट गहुँ आयात गरिएको थियो। युक्रेनबाट २१ करोड र अस्ट्रेलियाबाट ७ करोड रुपैयाँको गहुँ ल्याइएको तथ्यांक छ।
तर, उद्योगीले युक्रेनको मात्र गहुँ प्रशोधन गरेर मैदा, पिठो, चोकर, सुजी बजारमा पठाउन सक्दैनन्। युक्रेनको गहुँ र त्यसबाट हुने उत्पादनको रङ ज्यादा रातो हुन्छ। बजारमा सहजै बिक्री हुन सक्दैन।
‘युक्रेनको गहुँ ल्याए पनि त्यसमा कम्तीमा ७० प्रतिशत नेपाल वा भारतको गहुँ मिसाएर नै प्रशोधन गनुपर्छ। यही कारण गहुँको मूल्य यस वर्ष पनि उच्च हुने खतरा बढेको हो,’ एक उद्योगीले भने।