काठमाडौं। ऊर्जा व्यापारमा आर्थिक वर्ष २०८१/८२ मा नेपाललाई ४ अर्ब ५७ करोड रुपैयाँ फाइदा भएको छ। नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सवका लागि कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यद्वारा आइतबार जारी प्रतिबद्धतापत्रमा उल्लेख भएअनुसार उक्त अवधिमा भारततर्फ भएको विद्युत निर्यातबाट १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी भएको थियो। तर, नेपालले उक्त अवधि १२ अर्ब ९ करोडको विद्युत आयात पनि गरेकाले नाफा घटेको हो।
कार्यकारी निर्देशक शाक्यका अनुसार पछिल्लो पटक प्राप्त विद्युत खरिद अनुमतिसहित भारत निर्यातका लागि ३० वटा जलविद्युत केन्द्रहरुबाट उत्पादन हुने १०१० मेगावाट विद्युत बिक्रीका लागि भारत सरकारबाट अनुमति प्राप्त भएको छ। गत आव ४० मेगावाट विद्युत बंगलादेश निर्यात पनि सुरु भएको छ।
सीमापार विद्युत आदान-प्रदानका लागि भारततर्फ इनरुवा-न्यूपूर्णिया, दोधारा (लम्की) बरेली ४०० केभी र चीनतर्फ चिलिमे रसुवागढी-केरुङ २२० केभी प्रसारण लाइन आयोजनाहरूको निर्माणलाई अघि बढाउने उनले जनाएका छन्। यी प्रसारण लाइनहरू नेपालले २०२५ सम्म १५,००० मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य प्राप्त गर्न र भारततर्फ आगामी १० वर्षमा १०,००० मेगावाट विद्युत आयात गर्ने प्रतिबद्धता पूरा गर्न महत्त्वपूर्ण हुने शाक्यको प्रतिबद्धतापत्रमा छ।