BIZMANDU
www.bizmandu.com

कुशल मल्लको अर्धशतकले टरेन नेपालको हार, अस्ट्रेलियामा लगातार दोस्रो पराजय

२०८२ साउन ३१

कुशल मल्लको अर्धशतकले टरेन नेपालको हार, अस्ट्रेलियामा लगातार दोस्रो पराजय
कुशल मल्लको अर्धशतकले टरेन नेपालको हार, अस्ट्रेलियामा लगातार दोस्रो पराजय

काठमाडौं। नेपाली क्रिकेट टोली लगातार दोस्रो खेलमा पनि पराजित भएको छ। अस्ट्रेलिया जारी टप एण्ड क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा बंगलादेश ‘ए’सँग हार ब्यहोरेसँगै लगातार दोस्रो खेलमा पनि नेपाल पराजित भएको हो।

Tata
GBIME
Nepal Life

अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदानमा नेपाललाई ३२ रनले हराउने क्रममा बंगलादेशले प्रभावशाली ब्याटिङ गरेको थियो। टस जितेर ब्याटिङमा उत्रिएको बंगलादेशी टोलीले १८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदा १५४ रनमा समेटियो। नेपालका लागि कुशल मल्लले सर्वाधिक अविजित ५९ रन बनाउँदा आशिफ शेखले २८ तथा लोकेश बमले १५ रन बनाए। नन्दन यादव १४ रनमा अविजित रहे।

बलिङतर्फ बंगलादेशका रकिबुल हसनले ३ विकेट लिँदा हसन महमुदले २ तथा रिपोन मोन्डोल र टोफइल अहमदले १ विकेट लिए। त्यसअघि

ब्याटिङमा उत्रिएको बंगलादेशको इनिङ्स ओपनर जिशन आलमले ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दै उकासेका थिए। ४६ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै, मोहम्मद नइमले २५ तथा सइफ हसनले ११ रन बनाउँदा कप्तान नुरुल हसन ५ रनमा पभेलियन फर्किए। बंगलादेशका अफिफ हुसैन ४८ रनमा अविजित रहे।

फिल्डिङमा फितलो देखिएको नेपालको बलिङ पनि शीर्ष क्रमको विरुद्ध प्रभावशाली हुन सकेन। कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरीजस्ता प्रभावशाली फिल्डरले पनि बंगलादेशविरुद्ध क्याच ड्रप गर्न पुगे। नेपालका लागि रिजन ढकालले सर्वाधिक २ विकेट लिँदा सन्दीप लामिछाने, नन्दन यादव र करण केसीले समान १ विकेट लिए।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो। यसअघि पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग पराजित भएको थियो।

नेपाल तेस्रो खेलमा मेलबर्न स्टार्ससँग खेल्दैछ।