BIZMANDU
www.bizmandu.com

म्याग्दीको गाजनेमा स्याउको परीक्षण उत्पादन सफल, फलेको देखेर कृषक उत्साहित

२०८२ साउन ३१

म्याग्दीको गाजनेमा स्याउको परीक्षण उत्पादन सफल, फलेको देखेर कृषक उत्साहित
म्याग्दीको गाजनेमा स्याउको परीक्षण उत्पादन सफल, फलेको देखेर कृषक उत्साहित

म्याग्दी (बेनी)। म्याग्दीको बेनी-५ गाजने गाउँमा परीक्षणका रूपमा गरिएको स्याउखेतीले उत्पादन दिन थालेपछि कृषकहरू उत्साहित भएका छन्। समुद्री सतहदेखि २ हजार ५० मिटर उचाइमा रहेको गाजनेमा चार वर्षअघि स्थानीयले परीक्षणका रूपमा स्याउका बिरुवा रोपेका थिए।

Tata
GBIME
Nepal Life

चौबीस घरधुरीको बसोबास रहेको गाजने गाउँमा रोपेका १०० वटा स्याउका बोटमध्ये अधिकांशले फल दिन सुरू गरेको स्थानीय नीलकण्ठ शर्माले बताए। ‘गाउँमा अधिकांशले पाँचदेखि १५ बोटसम्म स्याउका बिरुवा लगाएका थियौँ, बिरुवा रोपेको चार वर्षदेखि नै बोटमा फल लागेको छ। हामीले परीक्षणका रूपमा सुरू गरेको स्याउखेती सफल भएको छ,’ उनले भने, ‘अब गाउँभर यसलाई व्यावसायिक रूपमा विस्तारमा लाग्छौँ।’

मुस्ताङबाट गोल्डेन र रेड डेलिसियस प्रजातिका स्याउका बिरुवा ल्याएर लगाइएकामा अधिकांश बोटले उत्पादन दिन सुरू गरिसकेका छन्। गाउँमा काम गर्ने जनशक्तिको अभावले खेतीयोग्य जमिन बाँझिने समस्या बढिरहेको समयमा नगदे बालीका रूपमा स्याउखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने स्थानीयको योजना छ।

गाउँमा स्याउखेतीको परीक्षण सफल भएकाले अन्नबालीको विकल्पको रूपमा स्याउखेतीलाई विस्तार गर्ने तयारी गरेको स्थानीय कृषक गंगादत्त पौडेलले बताए। ‘पाँच वटा स्याउको बोट लगाएको थिएँ, बिरुवा हुर्किदै जाँदा उत्पादन दिन सुरू गरिसकेको छ। फलेको स्याउ स्वादिलो र रसिलो छ, यो वर्ष तीन रोपनी जग्गामा स्याउलाई विस्तार गर्ने योजना बनाएको छु,’ उनले भने।

गाजने गाउँमा यसअघि २०४२ सालमा पनि स्याउखेती गरिएको थियो। सार्वजनिक पाखोमा सामूहिक रूपमा गरिएको स्याउखेती तत्कालीन समयमा मलजल र स्याहारको अभावले मासिएको थियो। चिसो हावापानी रहेकाले यस क्षेत्रमा स्याउखेतीको सम्भावना छ।

म्याग्दीमा यसअघि गुर्जा र राम्चेमा परीक्षणको रूपमा स्याउखेती गरिएको छ। हिउँदयाममा हिमपात हुने भूभागमा स्याउखेती फस्टाउने कृषि प्राविधिक बताउँछन्। रासस