BIZMANDU
www.bizmandu.com

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने

२०८२ साउन २९

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने


काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड (एनआइआइएफ)को प्रबन्धक ग्लोबल इक्विटी फण्डले ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने घोषणा गरेको छ। एनआइआइएफले डोल्मा इम्प्याक्ट फण्डसँगको सहकार्यमा उक्त परियोजनामा लगानी गर्न लागिएको जनाएको छ।

GBIME
Tata

यसका लागि एनआइआइएफले डोल्मा इम्प्याक्ट फण्ड अन्तर्गतको सोलार फार्म लिमिटेडमा आंशिक स्वामित्व किनेको छ। यो रणनीतिक लगानी नेपालले वैकल्पिक ऊर्जा स्रोतको अपार सम्भावनालाई उपयोग गर्दै आन्तरिक ऊर्जाको माग पूरा गर्ने, आयातित इन्धनमा निर्भरता घटाउने र दीगो ऊर्जा भविष्यतर्फ अघि बढ्ने लक्ष्यमा केन्द्रित भइरहेको अवस्थामा आएको एनआइआइएफ बताएको छ।

सोलार फार्म लिमिटेडले तनहुँको बेलचौतारास्थित ५ मेगावाटको सौर्य फोटोभोल्टाइक प्लान्ट संचालन गर्दै आएको छ। सोलार फार्म लिमिटेडले दुईवटा सहायक कम्पनीहरू सोलार फार्म लुम्बिनी (५० मेगावाट) र सोलार फार्म बुद्धभूमि (४० मेगावाट) मार्फत ९० मेगावाटको अन-ग्रिड सौर्य परियोजना विकास गर्न बोलपत्र जितेको छ।

एनआइआइएफले एक विज्ञप्तिमा भनेको छ, ‘नेपाल इनफ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्डको यो लगानीले ग्लोबल इक्विटी फण्डलाई सौर्य क्षेत्रमा सबैभन्दा ठूला संस्थागत लगानीकर्तामध्ये एक बनाएको छ। ग्लोबल इक्विटी फण्डले आफ्ना विभिन्न लगानी साधनमार्फत २५ मेगावाटको पशुपति रिन्युएबल्स, ६.८ मेगावाटको जीआई सोलार र अफ-ग्रिड सौर्य कम्पनी घाम पावर लगायतका परियोजनामा लगानी गरेको छ।’

एनआइआइएफका अध्यक्ष डा. मनिष थापाले सोलार फार्म लिमिटेड र यसको सहायक कम्पनीहरूमा ९० मेगावाट सौर्य परियोजना विकासका लागि गरिएको लगानी नेपालमा दिगो पूर्वाधार विकास प्रवर्धन गर्ने कोषको उद्देश्यसँग मेल खाने बताए। सौर्य ऊर्जाले नेपालको प्रमुख जलविद्युत् क्षेत्रको पूरकका रूपमा काम गर्दै ऊर्जा सन्तुलन बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

‘नेपाल जलविद्युतमा अत्यधिक निर्भर छ, जुन नवीकरणीय भए पनि मौसमी विविधताका कारण सुक्खायाममा उत्पादन कम हुने जस्ता चुनौतीहरूको सामना गर्छ,’ उनले भने, ‘नेपालको अनुकूल भौगोलिक अवस्थिति र उच्च सौर्य विकिरणका कारण सौर्य ऊर्जाले यो कमीलाई पूरा गर्न भरपर्दो विकल्प प्रदान गर्दछ। ऊर्जा मिश्रणमा सौर्य ऊर्जालाई एकीकृत गरेर नेपालले आयातित बिजुलीमाथिको निर्भरता घटाउन, कम जलविद्युत् उत्पादन हुने अवधिमा स्थिर बिजुली आपूर्ति सुनिश्चित गर्न र ऊर्जा सुरक्षालाई प्रवर्धन गर्न सक्छ।’

साथै, ठूला जलविद्युत् परियोजनाहरूको तुलनामा चाँडै निर्माण गर्न सकिने सौर्य परियोजनाहरूले ग्रामीण विद्युतीकरणलाई सहयोग पुर्‍याउने उनले बताए। सौर्य परियोजनाले प्रसारण नोक्सानी घटाउनुका साथै सफा, थप लचिलो ऊर्जा प्रणालीमा योगदान पुऱ्याउने भन्दै थापाले यो नेपालको दिगो विकास लक्ष्यहरूसँग पनि मेल खाने तर्क गरे।