काठमाडौं। दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार बिहीबार बाँडफाँट गरिएको हो ।
कम्पनीको आइपीओ २ लाख ४२ हजार ३१८ जनाले १०/१० कित्ताका दरले हात पारेका छन्। दरमखोलाको आइपीओमा २२ लाख ९६ हजार ४६५ आवेदन परेका थिए, जसमा १३ हजार २३९ वटा आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ।
लगानीकर्ताले सीडीएससी र मेरो सेयरको वेबसाइटबाट कम्पनीको आइपीओको नतिजा हेर्न सक्नेछन्। कम्पनीले गत साउन १५ गते २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्कासन गरेको थियो।
कम्पनीले जारी पुँजीको ३८.३३ प्रतिशतले हुन आउने ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। कम्पनीको जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँ छ।
कम्पनीले १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख ९१ हजार ९५० कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई बाँडफाँट गरेको थियो।
कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।