काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लोकतन्त्र कमजोर पार्ने काम गरिरहेको आरोप लगाएको छ।
ओलीले एक साताअघि लोकतन्त्र विरोधी शक्तिले संसद् अवरोध गरिरहेको बताएकामा रास्वपाले मंगलबार प्रतिनिधि सभाको बैठकबाट जवाफ फर्काएको हो।
रास्वपाका सांसद शिशिर खनालले ओलीमाथि लोकतान्त्रिक प्रक्रिया र नियम नमानेको, संविधानलाई कमजोर पारेको, विपक्षी शक्तिलाई बैध नमानेको, राजनीतिक प्रतिद्वन्दीलाई दुष्मनको रुपमा चित्रण गरेको र छलफलमा बेवास्ता गरेको, नागरिक स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको तथा भ्रष्टाचार र बिचौलियाको संरक्षण गरेको आरोप लगाए।
‘हामी सुशासन होस्, छानबिन होस्, भ्रष्टाचारी मन्त्रीहरु पदमा बहाल नरहुन् भन्ने चाहन्छौं। तपाइँ के चाहनुहुन्छ?,’ उनले ओलीसँग प्रश्न गरे। उनले आफूहरुमाथि लगाइएको लोकतन्त्र कमजोर पार्न खोजेको आरोपबारे ओलीलाई ‘हाउ डेमोक्रेसिज डाइ’ भन्ने किताब पढ्न सुझाव दिए।