BIZMANDU
www.bizmandu.com

मेरो किसानको छलाङ : ४० करोड लगानीमा चितवनमा कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर

२०८२ साउन २६

मेरो किसानको छलाङ : ४० करोड लगानीमा चितवनमा कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर
मेरो किसानको छलाङ : ४० करोड लगानीमा चितवनमा कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर


काठमाडौं । तरकारी तथा फलफूलको व्यापारमा संलग्न मेरो किसान लिमिटेडले ४० करोड लगानीमा चितवनमा कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण थालेको छ।

Vigo
GBIME
Tata

भरतपुर महानगरपालिकाको पटिहानीमा दुई विघा जग्गामा पूर्वाधार निर्माण सुरु भएको हो। कम्पनीका प्रवन्ध निर्देशक अविनाश सिलवालले पाँच महिनाभित्र संचालनमा आउने उद्योगमा २५ वटा भन्दा बढी खाद्यान्न प्रशोधन गरिने जानकारी दिए।

उनका अनुसार उद्योगमा तेल मिल, केचप, बेसार, अदुवाको सुठो, कफी लगायतका खाद्यान्न प्रशोधन हुनेछ। सिलवालले देशभित्रकै कृषि उत्पादनलाई प्राथमिकता दिएर प्रशोधन गरिने दाबी गरे।

‘हामीले देशकै केन्द्रमा प्रशोधन उद्योग र कोल्ड स्टोरेज स्थापना गरेका छौं। हाम्रो उदेश्य भनेको स्वदेशी कृषि उपजको बजारीकरण गर्नु हो,’ उनले भने, ‘यहाँ उत्पादन भएका सामान अन्तर्राष्ट्रिय बजारमा निकासी गर्नेछौं।’

सिलवालका अनुसार उत्पादन धेरै भएका तरकारी तथा फलफूल कोल्डस्टोरेजमा राखेर उचित मूल्य दिने प्रयास समेत गरिनेछ। कोभिड-१९ का समयमा स्टार्टअप कम्पनीको रुपमा स्थापना भएको मेरो किसानले अहिले ‘एग्रेसिभ’ रुपमा बजार विस्तार गरिरहेको छ।

मोबाइल एपबाट ४० हजारभन्दा बढी उपभोक्ता र ३०० भन्दा बढी व्यवसायिक घरानासँग यो कम्पनीले बजारीकरण गर्दै आएको छ। कम्पनीले बीउदेखि उत्पादनसम्म नेटवर्क गरेर कृषि क्षेत्रको बलियो कम्पनी बनाउन खोजिरहेको छ।