काठमाडौं। माबिलुङ इनर्जी कम्पनीले आइपीओमा आवेदन खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि सोमबारदेखि सेयर निष्कासन गरेको हो।
कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर खुलाएको थियो।
दोस्रो चरणमा माबिलुङले १२ करोड ४८ लाख ९० हजार ४०० रुपैयाँ बराबरको १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ।
लगानीकर्ताले १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आइपीओमा आवेदन छिटोमा साउन २९ सम्म र ढिलोमा भदौ ९ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको कुल ४८.९९ प्रतिशतले हुन आउने १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता सेयर जारी गर्ने अनुमति पाएको थियो।
आइपीओ ल्याउनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ सिंगल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला-३ जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गरिरहेको छ।
माबिलुङ इनर्जी गत वर्ष चैतसम्म १ करोड २४ लाख रुपैयाँ सञ्चित नाफामा छ। प्रति सेयर आम्दानी १.०५ र प्रति सेयर नेटवर्थ १०५.९० रुपैयाँ छ।