BIZMANDU
www.bizmandu.com

सहकारीहरू स्वनियमनमा वा केन्द्रीय बैंकको कडा अनुगमनमा मात्र चल्छ भन्नु हुनसक्छ घातक

२०८२ साउन २६

सहकारीहरू स्वनियमनमा वा केन्द्रीय बैंकको कडा अनुगमनमा मात्र चल्छ भन्नु हुनसक्छ घातक
सहकारीहरू स्वनियमनमा वा केन्द्रीय बैंकको कडा अनुगमनमा मात्र चल्छ भन्नु हुनसक्छ घातक


बचत तथा ऋण सहकारीहरूको वर्तमान र भविष्यको विषयमा चर्चा गर्दा राज्यले लिएको नीति, सो कार्यान्वयनको गति र त्यसको प्रतिफल, सदस्यहरूको आर्थिक सामाजिक उन्नतिलाई आधार लिनुपर्ने हुन्छ। बचत तथा ऋण सहकारीहरूले गरेको योगदान र अपनाएको विधिको आधारमा तपसिल बमोजिम बुझ्नुपर्ने हुन्छ।

Tata
GBIME
Nepal Life
  • बचत तथा ऋण सहकारीहरूको डीएनए सहकारी हो। क्रेडिट युनियन, साकोस वा वित्तीय सहकारी जे भने पनि आत्मा सहकारी नै हुनु पर्दछ। सहकारीको सिद्धान्त, आदर्श र मान्यताभन्दा बाहिर यसको विकास सम्भव हुँदैन।
  • बचत तथा ऋण सहकारीहरू वित्तीय संस्थाहरू हुन्, जसले समान्य मानिसहरूको बचत परिचालनलाई व्यवसाय बनाएको हुन्छ तर व्यवसाय उद्देश्य मुनाफा आर्जन होइन सदस्य हितमा केन्द्रित हुन्छ।
  • बचत तथा ऋण सहकारीहरू आफ्नो पैसाको आफैं ब्याज तिरेर चलेको हुन्छ वा सदस्यहरूको सोही त्यागमा संस्थागत विकास भएको हुन्छ। बचत तथा ऋण सहकारीहरूलाई वित्तीय स्थायित्वको अवयवको रुपमा लिइएको हुन्छ। त्यसैले बचत तथा ऋण सहकारीहरूलाई राज्यको वित्तीय नीतिले असर गर्दछ। त्यसैले राज्यको नीति संरक्षणात्मक हुन आवश्यक छ।
  • सबै सहकारीहरू जस्तै बचत तथा ऋण सहकारीहरू एकका लागि सबै र सबैका लागि एकको सिद्धान्तमा नै आधारित भएको हुन्छ।
  • वित्तीय क्षेत्रको स्थायित्वका लागि राज्यले लिने नीतिमा वित्तीय सहकारीका सवालहरू समावेश हुन जरुरी छ।
  • बचत तथा ऋण सहकारी खोल्न, देख्न र सुन्न जति राम्रो र सजिलो छ दिगोपनाको लागि लाखौं गुणा कठिन छ।
  • बचत तथा ऋण सहकारीहरू राज्यको कठोर नियन्त्रण वा अन्य व्यवसाय जस्तो खुल्ला रुपमा रहेर सुरक्षित हुन सक्दैन। बचत तथा ऋण सहकारीहरू प्रोयाक्टिभ कानुनका सीमाभित्र स्वनियमनमा मात्र बढ्न र हुर्कन सक्दछ।
  • बचत तथा ऋण सहकारीहरू समुदायका बैंकले दिने सेवा दिन सक्ने वा भविष्यमा दिन सक्नु पर्ने संस्थाभएकोले आज नै सुरक्षाको सिद्धान्त अवलम्बन गरिनु पर्दछ ।
  • सहकारी संस्था अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था भएकाले यसको विकासका योजना बनाउँदा सोही बमोजिम गर्न आवश्यक छ।

बचत तथा ऋण सहकारी दृष्टिकोण

बचत तथा ऋण सहकारीलाई हेर्ने दृष्टिकोण बचत तथा ऋण सहकारी हुन आवश्यक छ। अरु दृष्टिकोणबाट सहकारीलाई हेर्न आवश्यक छैन। बचत तथा ऋण सहकारीहरूलाई सामान्य नागरिकको जीवनपद्धतिको रुपमा स्वीकार गर्न आवश्यक छ। बचत तथा ऋण सहकारीहरू बैंक भन्दा ठुला भए, फरक भएन र बैकले जस्तै सेवा दिए यो हुनु हुँदैन भन्ने दृष्टिकोण छ। यो सरासर लघुताभाषी दृष्टिकोण हो।

निजी क्षेत्रको बैंकले गरेको स्रोतको दोहन र निश्चित वर्गको प्रतिफल सुनिश्चितता रोकेर सदस्यहरूको नियन्त्रण भएको बैंकले दिन सबै सेवा दिने संस्था विकास गर्ने दृष्टिकोण विकास गर्न आवश्यक छ। सहकारी क्षेत्रका पनि केही परम्परागत व्यवस्थापकीय मान्यताहरू छन्। जुन समय सन्दर्भमा नागरिक जीवन पद्धतिसँग मेल खाएको छैन त्यो सुधारको आवश्यकता छ। आकार बढ्दा सहकारिता मर्छ भन्ने दृष्टिकोण परिमार्जन आवश्यक छ। आकार वृद्धि हुँदा पनि सहकारी रहनु पर्दछ।

बचत तथा ऋण सहकारीहरू वित्तीय संस्था भएकाले अन्य कारोबार मूल रुपमा गर्नु हुँदैन भन्ने कडा अनुदारवादी दृष्टिकोण र सबै कारोबार गर्न पाउनु पर्छ भन्ने दृष्टिकोण दुवै सहकारीका लागि घातक हो। राज्यले पनि औपचारिक वित्तीय क्षेत्रको रुपमा स्वीकार नगर्ने दृष्टिकोण राज्यकै लागि घातक हो।

यसवाट भविष्यमा सदस्यहरूको बचत सुरक्षित हुन सक्दैन। सहकारी स्वनियमनमा मात्र चल्छ वा केन्द्रीय बैंकको कडा अनुगमनमा मात्र चल्छ भन्ने दृष्टिकोण पनि दुवै घातक छ। बचत तथा ऋण सहकारीहरू राज्यको हस्तक्षेपविहीन सहजीकरणमा चल्न पाउनु पर्छ।

त्यसैले बचत तथा ऋण सहकारीलाई बुझ्न दृष्टिकोण परिमार्जन आवश्यक छ। बचत तथा ऋण सहकारीहरूको दिगोपनाका लागि यसले महत्त्वपूर्ण काम गर्दछ। बचत तथा ऋण सहकारीहरूको विकास आफ्नै गतिमा भएको छ। समस्या पनि फरक छ र समाधान पनि बाहिरबाट सम्भव छैन। त्यसैले हामीले बचत तथा ऋण सहकारी दृष्टिकोण बनाएर अघि बढ्न आवश्यक छ।

सुरक्षा र पहिचानको आधार : मुख्य कारोबार

नेपालको सहकारी अभियानमा सहकारी ऐन २०७४ ले मार्गनिर्देश गरेको मुख्य कारोबार भन्ने शब्दावलीको सन्दर्भ र व्याख्यामा विविधता दृष्टिकोण राखी फरक स्वरुप दिन खोजेको पाइन्छ। सहकारी ऐनको व्यवस्था अनुसार ‘मुख्य कारोबार’ भन्नाले संस्था वा संघले सञ्चालन गरेको व्यावसायिक क्रियाकलापहरूमा पछिल्लो आर्थिक वर्षसम्ममा परिचालित बचतको दायित्व र पछिल्लो आर्थिक वर्षको सदस्यतर्फको खरिद वा बिक्री कारोबारमा कम्तीमा ३० प्रतिशतभन्दा बढी हिस्सा भएको कारोबार बुझ्नुपर्छ।

यस परिभाषाले मुख्य कारोबार सन्दर्भमा तपसिल व्यवस्था गरेको छ।

  • मुख्य कारोवार संस्था वा संघ दुवैमा हुन सक्दछ।
  • मुख्य कारोबार हेर्न बचत दायित्व, सदस्यसँगको खरिद वा बिक्रीलाई आधार बनाइएको छ।
  • मुख्य कारोबार हुन कुल कारोबारमा बचत दायित्व, सदस्यसँगको खरिद वा बिक्री ३० प्रतिशतभन्दा बढी हुनु पर्दछ वा ३० प्रतिशतभन्दा कमको कारोबारलाई मुख्य कारोबार मानिएको छैन।
  • मुख्य कारोबार पछिल्लो आर्थिक वर्षको बचत दायित्व, सदस्यसँगको खरिद वा बिक्रीमा आधारित भइ गणना गरिदिनु पर्दछ।

सहकारी ऐन २०७४ को दफा ५० को उपदफा २ का अनुसार उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएको संस्था बाहेक अन्य विषयगत वा बहुउद्देश्यीय संस्थाले बचत तथा ऋणको मुख्य कारोबार गर्न पाउने छैन। तर यो ऐन प्रारम्भ हुनु अघि बहुउद्देश्यीय वा विषयगत संस्थाको रूपमा दर्ता भई मुख्य कारोबारको रूपमा बचत तथा ऋणको कारोबार गर्दै आएको भए ती संस्थाले तीन वर्षभित्रमा बचत तथा ऋणको मुख्य कारोबार नहुने गरी दर्ता हुँदाका बखतमा उल्लेख गरिएको मुख्य कारोबार गर्ने गरी संस्थाहरूले मुख्य कारोबार गर्न सक्नेछन् भन्ने व्यवस्थालाई तपसिल बमोजिम बुझ्न आवश्यक छ।

  • बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएको सहकारी संस्थाले मात्र मुख्य कारोबार बचत तथा ऋणको गर्न पाउँछ।
  • बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएको संस्था बाहेक अन्य विषयगत वा बहुउद्देश्यीय संस्थाले बचत तथा ऋणको मुख्य कारोबार गर्न पाउने छैन।
  • ऐन प्रारम्भ हुनु अघि बहुउद्देश्यीय वा विषयगत संस्थाको रूपमा दर्ता भई मुख्य कारोबारको रूपमा बचत तथा ऋणको कारोबार गर्दै आएको भए ती संस्थाले तीन वर्षभित्रमा बचत तथा ऋणको मुख्य कारोबार नहुने गरी दर्ता हुँदाका बखतमा उल्लेख गरिएको मुख्य कारोबार गर्ने गरी संस्थाहरूले मुख्य कारोबार गर्न सक्नेछन्।

बचत तथा ऋण सहकारीहरू व्यवस्थापनका लागि विभिन्न देशहरूमा फरक-फरक खालका ऐन कानुनका व्यवस्था भए पनि स्तरीय व्यवस्थापन भएका देशहरूमा बचत तथा ऋणको अलग्गै ऐन बनाएर नै व्यवस्थापन गरिएको छ। तर, नेपालको सन्दर्भमा भने एउटै सहकारी ऐनभित्र नै मुख्य कारोबारका माध्यमबाट व्यवस्थापन गर्न खोजिएको पाइन्छ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरूको अनुगमन तथा निरीक्षणको पनि विशेष व्यवस्था तपसिल बमोजिम गरेको छ।

  • बचत तथा ऋण सहकारी संस्था दर्ता गर्दा नै महानगर तथा उपमहानगरमा एउटा मात्र वडा र नगरपालिका तथा गाउँपालिकामा एक स्थानीय तहसम्मको कार्यक्षेत्र दिन सकिने व्यवस्था गरेको छ।
  • बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्था वा संघले तोकिए बमोजिम अनुगमन प्रणाली अवलम्बन गर्नु पर्नेछ।
  • रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकारप्राप्त अधिकारीले बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्था वा संघले तोकिए बमोजिम अनुगमन प्रणालीमा आधारीत भई निरीक्षण तथा अनुगमन गर्नेछ।
  • बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्था वा संघको निरीक्षण तथा अनुगमन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
  • मापदण्ड बनाउँदा सदस्यको बचत सुरक्षण तथा संस्थागत दिगोपनाका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त मापदण्डको बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्था वा संघको हकमा छुट्टै मापदण्ड बनाउन सकिनेछ।

सहकारी क्षेत्रमा मुख्य कारोवार तत्काल कार्यान्वयन हुन आवस्यक छ। मुख्य कारोबारको अवधारणा कार्यान्वयन गर्नुपर्ने कारणहरू तपसिल बमोजिम छन्।

  • सदस्यहरूको बचत सदस्यहरूको हितमा सहकारी ऐन बमोजिम मात्र परिचालन गर्न।
  • सहकारी ऐनको १०३ ‘क’ बमोजिम स्थापना भएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणको औचित्य साबित गर्न।
  • बचत तथा ऋण सहकारीहरूको व्यवस्थापनलाई पारदर्शी बनाउन आवश्यक सुपरिवेक्षणलाई सहज बनाउन।
  • बचत तथा ऋण सहकारी क्षेत्रको पहिचान स्थापित गर्न।
  • सहकारी ऐन कार्यान्वयन गर्न सक्षम सरकारको प्रत्याभुति दिन ।

मुख्य कारोबार कार्यान्वयन दृष्टिकोण

मुख्य कारोबार सहकारी ऐन २०७४ को सबैभन्दा महत्त्वपूर्ण व्यवस्था हो। बचत तथा ऋणको मुख्य कारोबारको नियमनका लागि अलग्गै प्राधिकरण पनि गठन भइसकेको सन्दर्भमा सहकारी ऐनको मुख्य कारोबार कार्यान्वयन तपसिल बमोजिम गर्न आवश्यक छ।

  • सरोकारवालाहरूको बीच मुख्य कारोबारका विषय कार्यान्वयन योजना निर्माण गर्ने। सरोकारवालाहरूको प्रतिबद्धताविना मुख्य कारोबारको विषय कार्यान्वयन सम्भव छैन।
  • सहकारी ऐन २०७४ पछि दर्ता भएका सहकारीहरू वित्तीय कारोबार गर्ने वा नगर्ने गरी नै दर्ता भएको भए पनि सो भन्दा अघिका सहकारीहरूको विनियम संशोधन गरी मुख्य कारोबारको रुपमा बचत तथा ऋण गर्ने नगर्ने उल्लेख गर्ने।
  • कोपोमिस प्रणालीमा देखिएको वार्षिक कारोबार, वार्षिक लेखा परीक्षण प्रतिवेदन वा साधारण सभाको स्वीकृत प्रतिवेदनका आधारमा सबै सहकारीहरूको मुख्य कारोबार यकिन गर्ने।
  • ऐनले दिए बमोजिम तीन वर्षमा अनिवार्य परिवर्तन गर्ने गरी आवश्यक नियामकीय निर्देशन जारी गर्ने।
  • बचत तथा ऋणको मुख्य कारोबार सहकारी ऐननियम बमोजिम बचत तथा ऋण सहकारीहरूलाई मात्र गर्न दिने।
  • बचत तथा ऋण सहकारीहरूको नाम सहकारी नियमावली बमोजिम वित्तीय सहकारीको रुपमा परिमार्जन गर्ने।
  • सरोकारवालाहरूले ऐन कार्यान्वयन गर्दा प्रतिष्ठाको विषय नबनाउने।

सहकारी स्वनियमनमा नै चल्ने व्यवसायिक ढाँचा हो। सहकारी ऐन आएको आठ वर्षसम्म पनि मुख्य कारोबार सम्बन्धी दफा कार्यान्वयनमा नजानु साँच्चै विडम्बना हो। मुख्य कारोबारको विषयलाई राज्यले कार्यान्वयनमा लैजान आवश्यक छ। अभियानकर्मीहरूले पनि स्वनियमनभित्र कानुन परिपालना पनि पर्छ भन्ने ख्याल गर्नु अपरिहार्य छ। मुख्य कारोबार कार्यान्वयन गर्न राज्यले बनाउने जुनसुकै योजनामा अभियानको साथ हुन आवश्यक छ।

(ढकाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष हुन्)