काठमाडौं। मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका १० वटा क्याम्पसहरुमा रिक्त क्याम्पस प्रमुखको पदका लागि दरखास्त खुलेको छ। विश्वविद्यालयले बुधबार सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्य उम्मेदवारहरूलाई दरखास्त आह्वान गरेको हो।
बर्दियाको बबई बहुमुखी क्याम्पस, बाँकेको बागेश्वरी बहुमुखी क्याम्पस, पश्चिम रुकुमको मुसीकोट खलंगा बहुमुखी क्याम्पस, दैलेखको नारायण बहुमुखी क्याम्पस, सुर्खेतको विद्यापुर जनता बहुमुखी क्याम्पस, भेरी बहुमुखी क्याम्पस, जाजरकोटको भेरी ज्ञानोदय बहुमुखी क्याम्पस, रोल्पाको जलजला बहुमुखी क्याम्पस, कालीकोटको तिला कर्णाली बहुमुखी क्याम्पस, र मुगुको रारा बहुमुखी क्याम्पसका लागि प्रमुख माग भएको हो।
क्याम्पस प्रमुख पदका लागि इच्छुक र योग्य उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिदेखि १० दिनभित्र विश्वविद्यालयको केन्द्रीय कार्यालय, प्रशासन शाखामा आवेदन पेस गर्न सक्नेछन्। योग्यता र आवश्यक कागजातसम्बन्धी थप जानकारी विश्वविद्यालयको वेबसाइटमा हेर्न सकिने सूचनामा छ।
दरखास्त दिन चाहनेका लागि योग्यताका मापदण्डमा मध्यपश्चिम विश्वविद्यालयका स्थायी शिक्षक वा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा रहेका शिक्षकहरू क्याम्पस प्रमुख पदका लागि योग्य मानिने कार्यविधि छ।
कार्यविधिअनुसार क्याम्पस प्रमुख पदका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूको मूल्यांकन कुल ७५ पूर्णाङ्कको आधारमा गरिनेछ। सेवा अवधि (पूर्णकालीन) बापत २४ अंकसम्म, विभागीय प्रमुख/क्याम्पस प्रमुखको अनुभवबापत ४ अंकसम्म, सहायक क्याम्पस प्रमुख/विभागीय संयोजकको अनुभवबापत २ अंकसम्म, विषय समितिको अध्यक्षको अनुभवबापत ३ अंकसम्म, लेख, रचना प्रकाशनबापत १० अंकसम्म, शैक्षिक योग्यता (दर्शनाचार्य र विद्यावारिधि)बापत १० अंकसम्म, क्याम्पस विकास योजनाबापत १० अंकसम्म र अन्तर्वार्ताबापत १० अंकसम्म अंक विभाजनको व्यवस्था कार्यविधिमा छ।