मुस्ताङ। हिमाल पारिको जिल्ला मुस्ताङमा यार्तुङ पर्वको रमझम सुरु भएको छ। हिउँदयाम सुरु भएको खुसीमा थरीथरीका परम्परागत पोसाकमा सजिएका मुस्ताङी यो पर्वको मेसोमा घोडामा सवार भएर विभिन्न कौशल प्रदर्शन गर्छन्। प्रदर्शनको क्रम सोमबारदेखि सुरु भएको हो।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको खिंगा गाउँबाट यो वर्षको यार्तुङ सुरु भएको छ। गाउँलेले सोमबार पर्व हर्षाेल्लासपूर्वक रूपमा मनाएका छन्। स्थानीय भाषामा ‘यार’ को ‘बर्खा’ र ‘तुङ’को अर्थ ‘समाप्ति’ भन्ने हुन्छ। बर्खायाम सकिएको र हिउँदयाम सुरु भएको खुसीमा यार्तुङ मनाउने गरिएको हो।
बर्खायाममा पाकेका उवा र जौ लगायतका अन्नबाली थन्क्याएपछि गाउँले खेतबारीमा फापर छर्छन्। अनि यो बेला केही फुर्सदिला हुन्छन्। फुर्सदिलो महिना यार्तुङ मनाउने गरिन्छ। यो पर्वमा प्रकृति र विश्वशान्तिको कामना गर्ने चलन रहेको वारागुङ मुक्तिक्षेत्र-१ वडाध्यक्ष प्रमेश गुरुङले बताए।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाभित्रका १९ वटा गाउँ र उपल्लो मुस्ताङमा फरकफरक तिथिमा यार्तुङ पर्व मनाइने गरिएको छ। खिङ्गा गाउँमा औपचारिक रूपमा यार्तुङ पर्व मनाउने क्रमको प्रारम्भ भएको उनले बताए। खिङ्गाबाट सुरु भएको यार्तुङ, त्यसपछि क्रमशः यहाँका सबै स्थानमा गुरुङ, विष्ट र लोवा समुदायले मनाउने प्रचलन छ।
सोमबार खिङ्गा गाउँका बासिन्दा स्थानीय नागरिक समाजघरमा भेला भएका थिए। त्यहाँबाट गाउँकै गुम्बामा यार्तुङको पूजापाठमा उपस्थित भए। गुम्बामा पाठ सकेपछि पुनः समाजघरमा खानपान गरेर यार्तुङ पर्वको कार्यक्रममा सहभागी भएको वडाध्यक्ष गुरुङले बताए।
स्थानीयबासी परम्परागत पहिरनमा मुक्तिनाथ मन्दिर र नरसिंह गुम्बाको दर्शनमा निस्किएका थिए। विभिन्न उमेर समूहका गाउँले चलनअनुसार यार्तुङमा गुम्बाबाट मुक्तिनाथसम्म पुगेका थिए। पुरुषहरू वेशभूषामा चिटिक्क सजिदै घोडामा सवार थिए भने महिला घोडाको अघिअघि स्थानीय भाषामा यार्तुङसम्बन्धी गीत गाउँदै मुक्तिनाथतर्फ लागेका थिए।
महिलाले स्थानीय भाषामा गीत गाउँदै ‘यार्तुङ पर्व आयो, यार्तुङमा सबैलाई राम्रो भयो, अनिष्ट भएन, प्रकृतिले साथ देओस् र सबैतिर शान्ति छाओस्’ भन्ने कामना गरेको स्थानीय सेर्केनी गुरुङले बताइन। उनका अनुसार यार्तुङमा गाइने गीतलाई फेन्दुन छोकी रिला भन्ने गरिएको छ।
खिङ्गाबाट दर्जनौं घोडाको लस्करसहित निस्किएको टोली मुक्तिनाथ मन्दिर र गुम्बा दर्शन गरी पुरानो रानीपौवामा फर्किएको थियो। खिङ्गा युवाले रानीपौवामा घोडा दौडको साहसिक कौशल प्रदर्शन गरेका थिए। गाउँका पुजारीसहित निस्किएको यार्तुङ टोलीले रानीपौवामा स्थानीय स्याब्रो नाच र स्थानीय भाषाको गीत गाउँदै रमाइलो गरेका थिए। स्थानीय याङजुङ गुरुङले यार्तुङ पर्वमा घोडा चढेर मनाउनैपर्ने प्रचलन रहेको बताए।
‘घोडा नचढे यार्तुङ पर्वको कुनै अर्थ हुँदैन,’ उनले भने। यार्तुङमा घोडा चढ्ने, तारा खेल्ने र स्थानीय सांस्कृतिक मौलिकता पस्किएरमात्र यार्तुङ पर्वको औचित्य हुने उनको भनाइ छ। यार्तुङमा मनाउँदा भेला भएकाहरुले पहिले गाउँका पुजारीले भोजन गराउँछन्, अनिमात्रै आफूले खान्छन्। खिङ्गाबाट मुक्तिनाथसम्मको दुरी करिब पाँच किलोमिटर छ। घोडाका लस्कर निस्किँदा पर्यटकलाई पनि रमाइलो भएको थियो। पर्व मान्ने लस्कर निस्किँदा करिब एक घण्टा मुक्तिनाथ सडकमा गाडी चलाउन रोक लगाइएको थियो। रासस