काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि गोयबल्स शैलीमा झुटो प्रचार गरेर जनतालाई भ्रमित पार्ने काम गरिरहेको आरोप लगाउँदै आपत्ति जनाएको छ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर बोल्नै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपामाथि संसद्को दुरुपयोग गरिरहेको आरोप लगाए।
उनले रास्वपा र राप्रपाले भिजिट भिसाका नाममा मानव तस्करी गरियो भनेर सरकारविरुद्ध गालीगलौजको भाषा प्रयोग गरी संसद्को गरिमा नै घटाउने काम गरिरहेको बताए।
‘रास्वपा र राप्रपाले ७० दिनदेखि संसद् अवरुद्ध बहिष्कार गर्दै आएका छन्। संसद्मा आफ्नो कुरा सुरुमा राख्ने र त्यसपछि बहिष्कार गरेर हिंड्ने। यसमा संसद्को, सरकारको र आम नेपाली जनताको ध्यान आकृष्ट भइसकेको छ। तर पनि बहिष्कार बन्द भएको छैन। यो कति दिनसम्म चल्ने हो?,’ घिमिरेले भने, ‘संसद्मा उभिएर सधैं गाली गर्ने भिजिट भिसाका नाममा मानव तस्करी गरियो भन्ने। भिजिट भिसा भनेको मानव तस्करी हो? भिजिट भिसामा बाहिर नजाने यहाँ कुन सांसद हुनुहुन्छ? यो के भन्न खोजेको? गोयबल्स शैलीमा झुटो कुरा प्रचार गरेर आमजनतालाई भ्रमित पार्ने र संसद्लाई दुरुपयोग गर्ने जुन अभ्यास चलेको छ यो बन्द हुनुपर्छ। यसमा नेपाली कांग्रेसको गम्भीर आपत्ति छ। यसलाई अन्त गरिएन भने संसद्को गरिमा र महत्व रहँदैन।’
त्यसअघि रास्वपा र राप्रपाका सांसदले भिजिट भिसाका नाममा भएको मानव तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग सम्बोधन नभएको भन्दै बैठक बहिष्कार गरेका थिए।