BIZMANDU
www.bizmandu.com

टेलिकमको सेवा प्राधिकरणको छानबिनमा, समितिको सुझावका आधारमा हुनेछ कारबाही

२०८२ साउन १८

टेलिकमको सेवा प्राधिकरणको छानबिनमा, समितिको सुझावका आधारमा हुनेछ कारबाही
टेलिकमको सेवा प्राधिकरणको छानबिनमा, समितिको सुझावका आधारमा हुनेछ कारबाही

काठमाडौं। नेपाल टेलिकमको सेवा अवरुद्ध हुने क्रम बढेपछि नेपाल दूरसञ्‍चार प्राधिकरणले छानबिन अगाडि बढाएको छ। प्राधिकरणले ५ सदस्यीय समिति गठन गरेर छानबिन अगाडि बढाएको हो।

Tata
GBIME
Nepal Life

दूरसञ्‍चार विज्ञको नेतृत्वमा गठित समितिले एसएमएस, कल र डेटामा पटक-पटक देखिएको समस्याबारे छानबिन गरिरहेको छ। साउन १४ गते गठन गरिएको समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

समितिले दिने सुझावका आधारमा कारबाही अघि बढ्ने प्राधिकरणले जनाएको छ।

टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार प्राविधिक समस्याका कारण सेवा पटक-पटक अवरुद्ध हुने गरेको हो। कन्फिगरेसन अपडेट हुँदा सिस्टममा परिवर्तन हुने भएकाले समस्या आउने गरेको उनको भनाइ छ।

पछिल्लो समय टेलिकमको डेटामा धेरै समस्या देखिएको छ। साउन १२ गते अपराह्न २ बजेदेखि साँझ ६ बजेसम्म टेलिकमको फोरजी र भोल्टे सेवा अवरुद्ध भएको थियो।

२०७९ माघ ३ गते टेलिकमको मोबाइल र ल्यान्डलाइन सेवा देशभर अवरुद्ध भएको थियो। यस्तै २०७८ असार ९ गते २ घण्टासम्म प्रिपेड र पोस्टपेड मोबाइल सेवा अवरुद्ध भएको टेलिकमकै तथ्यांक छ।

सेवा पटकपटक अवरुद्ध हुँदा त्यसको असर टेलिकमले आम्दानी गुमाइरहेको छ। सेवा भरपर्दो नहुँदा टेलिकमको आम्दानी खुम्चिंदै गएको छ।