BIZMANDU
www.bizmandu.com

ठमेलमा करोडौं लगानी गरेर अन्तर्राष्ट्रियस्तरको नाइटक्लब खोल्ने प्रतिस्पर्धा, अमेरिकादेखि ताइवानसम्मका सामान प्रयोग

२०८२ साउन १८

ठमेलमा करोडौं लगानी गरेर अन्तर्राष्ट्रियस्तरको नाइटक्लब खोल्ने प्रतिस्पर्धा, अमेरिकादेखि ताइवानसम्मका सामान प्रयोग
ठमेलमा करोडौं लगानी गरेर अन्तर्राष्ट्रियस्तरको नाइटक्लब खोल्ने प्रतिस्पर्धा, अमेरिकादेखि ताइवानसम्मका सामान प्रयोग

काठमाडौं। ठमेलमा एलओडीले गरेको व्यापार र त्यसले बनाएको पहिचानसँगै करोडौं रुपैयाँ खर्चिएर नाइटक्लब बनाउने प्रतिस्पर्धा सुरु भएको छ।

Tata
GBIME
Nepal Life

एलओडीभन्दा अझै आकर्षक बनाएर युवापुस्ता तान्न ठूलो लगानीमा नाइटक्लब निर्माण भइरहेका छन्। कतिपय पुराना नाइटक्लबलाई समेत धमाधम रेनोभेट गर्ने काम भइरहेको छ। लगानीकर्ता व्यापार देखेर नाइटक्लबमा जतिसुकै पैसा लगाउन पनि तयार देखिएका छन्।

व्यवसायीहरुका अनुसार एउटा ठिकठिकैको नाइटक्लब खोल्न २५ करोड रुपैयाँ हाराहारी खर्च हुन्छ। डिजाइन र प्रविधिले खर्च बढाउँछ। ठूलो स्पेसमा अत्याधुनिक क्लब बनाउन लगानी ५० करोडदेखि १ अर्ब हाराहारी पुग्छ।

करोडौं लगानी गरेर यो वर्षमात्र काठमाडौंमा दुई वटा नयाँ क्लब खुलेका छन्। धेरै क्लब रेनोभेसनको चरणमा छन्। यसले उपत्यकामा नाइटक्लबप्रति क्रेज बढ्दै गएको देखाएको छ। रात्रिकालीन जीवनमा रमाउनेहरूका लागि क्लब र पब आकर्षक थलो हुन्। युवाहरुको क्रेज देखेर नाइटक्लबमा लगानी बढ्न थालेको हो।

सञ्चालनको तयारीमा रहेको क्लब नोभा

रात्रिकालीन मनोरञ्जन खोज्नेहरुका लागि नयाँ गन्तव्यका रुपमा क्लब नोभा आउन लागेको छ। नेपालमै सबैभन्दा धेरै संख्यामा एकसाथ झुम्न सक्ने क्षमतामा क्लब निर्माणको अन्तिम चरणमा छ। लगानीकर्ताहरु यही महिना सफ्ट लन्चको तयारीमा छन्। ग्रान्ड लन्च अक्टोबरमा हुने स्रोतले जनाएको छ।

क्लब करिब पाँच हजार जना अटाउने क्षमताको भएको लगानीकर्ताको दाबी छ। क्लबको डिजाइन र थिम एस्ट्रोनट स्टाइलको छ। क्लबभित्र नै छुट्टै क्लब स्थापना गरिंदैछ। जहाँ ग्राहकले आवश्यकताअनुसार प्राइभेट हल प्रयोग गर्न पाउने छन्। आफूलाई मनपर्ने गीत सुन्न र आफ्नै परिवार मात्र रमाउन सक्छन्।

सञ्चालनको तयारीमा रहेको क्लब नोभा

‘नेपालमा हालसम्म नभएको टेक्नोलोजी यहाँ प्रयोग गरिएको छ,’ क्लब निर्माणमा संलग्नमध्येका एकले भने, ‘अन्य क्लबको क्षमता तीन-चार हजार जनासम्मको भए पनि ह्राम्रोमा ५ हजार जनाको क्षमता हुनेछ। स्टाफ २०० जनाभन्दा बढी हुनेछन्। बार ५ वटा राख्दैछौं। टेबुलमा मात्रै बस्न ३०० सय जना मिल्छ।’

रात्रिकालीन व्यवसायमा ‘एक्स ओ’ क्लब भर्खरै थपिएको छ। यो सञ्चालनमा आएको एक महिना भएको छ। यसमा अन्य क्लबमाभन्दा फरक डिजाइन, लाइटिङ र म्युजिक सिस्टम प्रयोग गरिएको सञ्चालक नवराज लामिछाने बताउँछन्।

नाइट क्लबमा रम्न जानेहरुका लागि एक्स ओले नौलो अनुभव दिन्छ। ‘हामीकहाँ लाइभ म्युजिक र डिजेका साथै धेरैजनाले डान्स गर्न मिल्ने ठूलो फ्लोर छ,’ लामिछानेले भने।

चार वर्षदेखि सञ्चालनमा रहेको क्लब टेन एक्समा पनि लामिछानेको लगानी छ।

भर्खरै सञ्चालनमा आएको क्लब एक्सओ

एक रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको क्लबमा एकैपटक २ हजार जनासम्म अट्ने क्षमता छ। आउने/जाने गरी दैनिक ३ हजार जनासम्मलाई सेवा दिन सकिने लामिछानेले बताए। यो क्लबमा १०४ कर्मचारी कार्यरत छन्।

विश्वकै ४४ औं उत्कृष्ट क्लबमा परेको एलओडी अर्थात् लड अफ द ड्रिंक्सले नयाँ नाइटक्लब थपिनुलाई सकारात्मक मानेको छ।

क्लबका सञ्चालक रविन श्रेष्ठले नयाँ क्लब थपिंदा नाइटआउटमा रमाउनेहरु बढ्ने र त्यसले समग्र व्यवसायलाई फाइदा हुने बताए।

‘नयाँ क्लब खुल्दा ग्राहकले नयाँ महसुस गर्न पाउँछन्। नाइटआउट गर्न चाहनेहरु बाहिर निस्कन्छन्,’ उनले भने, ‘क्लब खुल्नु ह्रामा लागि सकारात्मक हो।’

सात वर्षदेखि सञ्चालनमा रहेको एलओडी अहिले नेपालको नम्बर वान क्लबमा पर्छ। यस क्लबको विशेषता भनेको यहाँको इन्टेरियर डिजाइन्, लाइटिङ सिस्टम, सर्भिस र गीतसंगीत हो। क्लब स्टेडियम स्टाइलको डिजाइनमा छ।

क्लब एलओडी

९ हजार ६ सय स्क्वायर फिटमा फैलिएको एलओडीमा एकपटकमा २५ सय जनाले उभिएर रमाइलो गर्न सक्छन्। सामान्य अवस्थामा दैनिक १ हजार हाराहारी र शुक्रबार २ हजार जनासम्म उपस्थिति हुने गरेको एलओडीले जनाएको छ। क्लबमा १५० जनाभन्दा बढी कर्मचारी छन्।

नयाँ क्लब थपिने क्रम बढ्दा पुराना क्लबले ग्राहकले नयाँ अनुभव गर्ने गरी पूर्वाधारमा स्तरोन्नतिमा ध्यान दिनुपर्ने श्रेष्ठले बताए।

रेनोभेट’ गरिंदै पुराना नाइटक्लब

नयाँ क्लबहरु थपिइरहँदा काठमाडौंको चर्चित क्लब मध्येमा पर्ने फरेनहाइटले आफूलाई नयाँ रुप दिंदैछ। ‘हामीले क्लबलाई नयाँ स्वरुप दिन लागेका छौं। पहिला २५०० जना क्षमताको थियो। अब तीन हजार क्षमताको बनाउने काम भइरहेको छ,’ फरेनहाइटका जनरल म्यानेजर सुमन लामाले भने, ‘नयाँ वर्षसम्म सञ्चालन ल्याउने योजना छ।’

७ वर्षअघि खुलेको यो क्लब ‘रेनोभेट’ गर्न सुरु गरेको ८ महिना भइसकेको छ। क्लबकै नामबाट थकाली खाना र कफीसप अहिले सञ्चालनमा छ।

रेनोभेट’ गरिंदै क्लब फरेनहाइट

लामाका अनुसार ८ हजार वर्गफिटमा रेनोभेट भइरहेको क्लबमा चार घण्टासम्म आगो लागे पनि केही नहुने स्ट्रक्चर तयार भइरहेको छ। ताइवान, अमेरिका, रसिया र भारतबाट सामान ल्याएर काम गरिरहेको उनले बताए।

१६ आना जग्गामा चार वर्षअघि बनेको क्लब टेन एक्सले पनि ‘रेनोभेट’को योजना बनाएको छ। ‘हामी छिट्टै रेनोभेट गरेर व्यवसायलाई नयाँ रुपमा अघि बढाउने योजनामा छौं,’ म्यानेजर हितकुमार धिमालले भने।

सरकारले ठमेल क्षेत्रको व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्न दिएकामा कतिपय क्लब व्यवसायीको गुनासो छ। होटल रेन्टुरेन्टहरु चौबिसै घण्टा खोल्न दिंदा आफ्नो व्यापार कम भएको टेन एक्सका म्यानेजर धिमालले बताए।

क्लब टेन एक्स

‘सरकारले २४ घण्टा नै व्यवसाय सञ्चालन गर्न दिंदा हाम्रो व्यापारमा १० प्रतिशतले असर परेको छ। २४ घण्टेको व्यवस्थाले लाउन्ज र बारहरूलाई बढी फाइदा भइरहेको छ,’ उनले भने।

तत्कालीन गृहमन्त्री रवि लामिछानेको निर्देशनमा स्थानीय प्रशासनले २०८१ वैशाख १ देखि ठमेल र दरबारमार्ग क्षेत्रमा चौबिसै घण्टा व्यापार व्यवसाय गर्न दिइरहेको छ।