BIZMANDU
www.bizmandu.com

सामाजिक सुरक्षाकोषको लगानी रणनीति : पूर्वाधार र प्रमोटर सेयर लगानी विस्तार गरिने

२०८२ साउन १८

सामाजिक सुरक्षाकोषको लगानी रणनीति : पूर्वाधार र प्रमोटर सेयर लगानी विस्तार गरिने
सामाजिक सुरक्षाकोषको लगानी रणनीति : पूर्वाधार र प्रमोटर सेयर लगानी विस्तार गरिने

काठमाडौं। सामाजिक सुरक्षा कोषले लगानीको क्षेत्र विस्तार गर्ने रणनीति स्वरुप प्रमोटर क्षेत्रमा लगानी गर्ने प्रस्ताव अघि सारेको छ। नयाँ लगानीको क्षेत्रको रुपमा सामाजिक सुरक्षा कोषले प्रमोटर क्षेत्रलाई अघि बढाएको हो।

Tata
GBIME
Nepal Life

घट्दो निक्षेपको ब्याजदरले प्रतिफल संकुचित हुँदै आइरहेका बेला कोषले लगानी विस्तार गर्ने रणनीतिका रुपमा बैंक तथा वित्तीय संस्था र कम्पनीहरूको संस्थापक सेयरलाई लिएको छ। हाल सामाजिक सुरक्षा कोषको १ खर्ब १८ अर्बको फण्ड छ।

प्रणालीमा अधिक तरलता रहेको बेलामा घट्दै आइरहेको निक्षेपको ब्याजदरले ब्याज आम्दानी प्रभावित हुने भएपछि कोषले संस्थापक सेयरमा लगानी गर्ने प्रस्ताव बोर्डमा पठाएको छ।

बोर्डले प्रमोटर सेयरमा लगानीको स्वीकृति दिए संस्थापक सेयरमा लगानी विस्तार गरिने सामाजिक सुरक्षा कोषका प्रवक्ता कृष्णराज अधिकारी बताउँछन्।

कोषले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दतीसहित ६ क्षेत्रमा लगानी गरिरहेको छ। कोषले डिबेञ्चर, सरकारी ट्रेजरी बिल्स, विकास ऋणपत्र, म्युचल फण्ड र बचतकर्ताहरूलाई सापटीका रुपमा पनि लगानी गर्दै आइरहेको छ।

‘अहिले हामी ६ वटा क्षेत्रमा लगानी गरिरहेका छौं। कुल लगानीको अधिकांश हिस्सा बैंक तथा वित्तीय संस्थाहरूको मुद्दतीमा छ,’ उनले भने, ‘एक खर्ब १८ अर्बको फण्ड छ। त्यसमध्ये ८३ अर्ब ९३ करोड मुद्दतीमा लगानी गरेका छौं। पछिल्लो २ वर्षदेखि निक्षेपको ब्याजदर घट्दै आइरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले मुद्दतीका लागि थोरै-थोरै मात्रै आह्वान गरिरहेको अवस्था छ।’

यसकारण लगानीको क्षेत्र विस्तार गर्ने रणनीति अनुरुप संस्थापक सेयरमा लगानी गर्न स्वीकृतिका लागि बोर्डमा प्रस्ताव गरिएको उनको भनाइ छ। संस्थापक सेयरमा लगानी गर्ने प्रस्ताव बोर्डमा पठाए पनि पारित हुन बाँकी नै रहेको उनले जानकारी दिए।

संस्थापक सेयरमा लगानी गर्दा ‘रिक्स’ भए पनि लगानी विस्तार आवश्यक रहेको उनको भनाइ छ। त्यसैगरी, पूर्वाधार र सरकारी सुरक्षण रहेको क्षेत्रमा लगानीलाई प्राथमिता दिइने उनले बताए।

‘लगानी विस्तार गर्दा केही सुरक्षित क्षेत्रमा पनि गर्नुपर्ने हुन्छ। कोषलाई सुरक्षित रुपमा रिटर्नका लागि सरकारी सुरक्षणमा समेत लगानी केन्द्रित गरिरहेका छौं,’ उनले भने, ‘बिजनेसमा अलि-अलि रिक्स हुन्छ। बोर्डले भौतिक पूर्वाधारमा लगानी जोड गरिरहेको छ। सरकारको ग्यारेन्टीमा जारी हुने बण्डमा पनि लगानी केन्द्रित गर्ने छौं।’

सामाजिक सुरक्षा कोषको कुल फण्ड १ खर्ब १८ अर्बको पुगेको छ। जसमध्ये कोषले विभिन्न क्षेत्रमा ९९ अर्ब १८ करोड रुपैयाँ लगानी गरेको छ। कोषले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दतीमा मात्रै ८३ अर्ब ९३ करोड रुपैयाँ लगानी गरेको छ।

त्यसैगरी, डिबेञ्चरमा ३ अर्ब ७१ करोड, ट्रेजरी बिल्समा ५ अर्ब ४४ करोड, विकास ऋणपत्रमा १ अर्ब ९८ करोड र म्युचल फण्डमा ४१ करोड रुपैयाँ लगानी गरेको छ। साथै, योगदानकर्तालाई सापटीका रुपमा ३ अर्ब ६८ करोड रुपैयाँ लगानी गरेको छ।